बागलुङका स्थानीय तहको बजेट पाँच अर्ब ९६ करोड

बागलुङ : बागलुङका दश स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि पाँच अर्ब ९६ करोड ७७ लाख ६० हजारको बजेट प्रस्तुत गरेका छन्। जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाले आगामी आवका लागि उक्त बजेट प्रस्तुत गरेका हुन्।
अन्तर सरकारी वित्त व्यवस्थापन ऐन अनुसार हरेक स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था अनुसार जिल्लाका पालिकाहरुले बजेट गाउँ–नगर सभामा प्रस्तुत गरेका हुन्। बागलुङको जैमिनी नगरपालिका र ताराखोला गाउँपालिकाले ९ गते र अन्य पालिकाले १० गते बजेट ल्याएका थिए। बागलुङका सबै स्थानीय तहका उपप्रमुख एवं उपाध्यक्षले आइतबार बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। जिल्लाका सबै स्थानीय तहले कृषि, स्वास्थ्य, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेको जनाएका छन्।
जिल्लाको सदरमुकाम रहेको पुरानो नगरपालिका बागलुङ नगरपालिकाले एक अर्ब ३३ करोड २१ लाख २९ हजार तीन सय रुपैयाँ बजेट सार्वजनिक गरेको छ। सभा समक्ष उपप्रमुख राजु खड्काले संघीय सरकारबाट प्राप्त हुने एक अर्ब दुई करोड ६० लाख ९४ हजार ५० रुपैयाँ, प्रदेश सरकारबाट प्राप्त हुने ६ करोड १८ लाख ८१ हजार, आन्तरिक राजश्व संकलन ९ करोड २४ लाख २२ हजार र अन्य विविध आय १४ करोड १७ लाख ३८ हजार दुई सय ५० रुपैयाँको बजेट प्रस्तुत गरेका हुन्।
नगरपालिकाले आगामी आवको लागि सबैभन्दा बढी शिक्षा युवा तथा खेलकुद शाखामा र सबैभन्दा कम आयुर्वेद शाखालाई बजेट विनियोजित गरेको छ। उपप्रमुख खड्काले शिक्षा युवा तथा खेलकुद शाखालाई २ करोड ४९ लाख ७ हजार, पशु विकास शाखालाई ११ लाख ५० हजार, स्वास्थ्य शाखालाई १ करोड ५३ लाख ५० हजार, आयुर्वेदलाई ३ लाख, न्यायिक समितिलाई ७ लाख, सामाजिक विकास शाखालाई ७४ लाख ५० हजार, राजश्व शाखालाई १३ लाख, सरसफाई तथा फोहोर व्यवस्थापन शाखालाई ५९ लाख, सहकारी शाखालाई ४ लाख ५० हजार र कृषि शाखालाई १८ लाख रुपैयाँ बजेट विनियोजित गरेका छन्।
नगरपालिकाले आगामी आर्थिक वर्षदेखि लागु गर्न लागेको नगरको छोरी कार्यक्रमको लागि बैंक तथा वित्तीय संस्थाको खोजी गर्ने र आवश्यक कार्यविधिगत व्यवस्थागर्ने गरी १५ लाख रुपैयाँ विनियोजित गरेको छ। नगरपालिकाले नगरपालिका भित्र जन्मने छोरीहरुको लागि नगर छोरी कार्यक्रम संचालन गरेर मुद्धती खाता खोली ५ हजार रुपैयाँ जम्मा गरिदिने र २० वर्षसम्म निकाल्न नमिल्ने र त्यसमा परिवारले पनि जम्मा गर्न मिल्ने गराईने नीति लिएको छ। नगरपालिकाले छाडा कुकुरको उचित व्यवस्थापन गर्न कुकुर होस्टेलको स्थापनाका लागि १५ लाख रुपैयाँ, नगरस्तरीय पूर्वाधार निर्माणका लाग २ करोड ५० लाख रुपैयाँ, एक वडा एक नमुना पूर्वाधारको अध्ययन प्रतिवेदन तयारको लागि ४० लाख बजेट विनियोजित गरेको उपप्रमुख खड्काले बताए।
यस्तै गलकोट नगरपालिकाले ६८ करोड १२ लाख १८ हजारको बजेट सार्वजानिक गरेको छ। नगरपालिकाले आगामि आर्थिक वर्षमा प्राप्त हुने वित्तिय समानीकरण अनुदानबाट रु ११ करोड ३८ लाख, राजश्व बाँडफाँडबाट रु १० करोड ९५ लाख, सशर्त अनुदानबाट रु ३६ करोड १० लाख, विशेष अनुदानबाट रु १ करोड ५० लाख, समपुरक अनुदानबाट रु ६० लाख र गण्डकि प्रदेशको वित्तिय समानीकरण अनुदानबाट रु १ करोड ५१ लाख १८ हजार, राजश्व बाँडफाडबाट रु १ करोड ८ लाख, समपुरक अनुदानबाट रु ५० लाख, र सशर्त अनुदानबाट रु ५० लाख बजेट अनुमान गरिएको छ।
नगरपालिकाले चालुतर्फ ४४ करोड २१ लाख ४० हजार र पुँजीगततर्फ २३ करोड ९० लाख ७८ हजार बजेट विनियोजन गरेको छ। यस्तै गलकोट नगरपालिकाले नगरपालिकाको प्रशासकीय भवन निर्माणको कार्यक्रमलाई तिव्रता दिने गरी रु २ करोड २० लाख, कृषि तथा बागवानी विकास क्षेत्रमा रु १ करोड ६७ लाख ५० हजार, लैगिंक समानता तथा सामाजिक समावेशीकरण महिला, जनजाति, दलित र अपांगहरुको लक्षित कार्यक्रम तथा बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका दिगोपनाको लागि १ करोड ३ लाख ५० हजार, शिक्षामा ३० करोड ८८ लाख ६३ हजार, नगर अस्पतालको सेवा वृद्धिका लागि ६ करोड ५५ लाख १५ हजार बजेट विनियोजित गरिएको छ।
जैमिनी नगरपालिकाले ७२ करोड चार लाख ६८ हजार ७ सयको बजेट पारित गरेको छ। नगरपालिकाका उपप्रमुख हरिहर शर्माले आर्थिक विकास शिर्षकमा २ करोड ११ लाख, ८५ हजार, सामाजिक विकासमा ६ करोड ४८ लाख, ३३ हजार, पूर्वाधार विकासको क्षेत्रमा १० करोड ३४ लाख, ५० हजार र वन तथा वातावरणको क्षेत्रमा ५७ लाख बजेट विनियोजित गरेका छन्।
चालु खर्च ११ करोड ३५ विनियोजन गरेको शर्माले बताए। उनले चालु आर्थिक बर्षमा नगरले ९० लाख रुपैयाँ आन्तरिक राजश्व उठाउने लक्ष्य लिएको बताए।
यस्तै ढोरपाटन नगरपालिकाले ५५ करोड २४ लाख ४३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। नगरप्रमुखले कार्यवहाक थमाएर बेपत्ता भएपछि अन्यौलमा रहेका ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले नीति तथा कार्यक्रम संसोधन गर्ने विषयलाई थप छलफल गर्ने र वडा स्तरका योजनाको बजेट शिलिङ बनाएर आगामी १५ दिन भित्र बजेट प्रस्तुत गर्नेगरी प्रस्तुत गरेका हुन। ढोरपाटनले दुई करोड ५० लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको छ।
बागलुङको काठेखोला गाउँपालिकाले ५६ करोड १२ लाख ३४ हजार रुपैयाँको बजेट ल्याएको छ।
उपाध्यक्ष तेज बहादुर थापा (तिलक)ले आज (आईतबार) सार्वजनिक गरेको बजेट वक्तव्य अनुसार चालुतर्फ ३६ करोड १२ लाख रुपैयाँ र पूँजीगततर्फ २० करोड ३४ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। गाउँपालिकाले आर्थिक विकास तर्फ २ करोड ६३ लाख ५२ हजार, पूर्वाधार विकास तर्फ ७ करोड ४३ लाख ९ हजार, सामाजिक विकास तर्फ ४ करोड ६७ लाख २० हजार, सार्वजनिक सेवा तथा क्षमता विकास तर्फ ८९ लाख ८६ हजार र वन, वातावरण तथा विपद व्यवस्थापन तर्फ ७१ लाख ६७ हजार रुपैयाँ बजेट विनियोजित गरेको छ। कृषि तथा पशु तर्फ ६० लाख, उद्योग तर्फ १२ लाख, उर्जा तर्फ ८ लाख, शिक्षा तर्फ २३ करोड १२ लाख, स्वास्थ्य तर्फ ३ करोड ९७ लाख, खेलकुदमा १ लाख र सामाजिक सुरक्षा तथा रोजगार प्रवद्र्धनमा १ करोड ३ लाख बजेट विनियोजित गरिएको छ।
गाउँसभाले गाउँपालिकाको प्रशासकीय भवन निर्माणको लागि जग्गाको टुंगो लगाएको छ। गाउँसभाले काठेखोला–६ को सामवोट सामुदायिक वनमा बनाउने निर्णय गरेको छ। उपाध्यक्ष थापाले प्रशासकीय भवनको जग्गा व्यवस्थापनको लागि १ करोड रुपैयाँ र साझेदारी योजना तथा कार्यक्रम संचालनका लागि २ करोड रुपैयाँ विनियोजन गरेका छन्।
यस्तै बडिगाड गाउँपालिकाले ६७ करोड १९ लाख ६४ हजारको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाले चालुतर्फ ४७ करोड ९० लाख ३८ हजार र पुँजिगततर्फ १९ करोड २९ लाख २६ हजार विनियोजित गरेको छ। तमानखोला गाउँपालिकाले ३० करोड ३८ लाख ४९ हजार बजेट विनियोजित गरेको छ। जिल्लाकै सानो गाउँपालिका भएपनि तमानखोलाले कृषि उत्पादन, बजारीकरण र उत्पादनमा आधारिक अनुदान नीति र सोही अनुसार बजेट बिनियोजन गरेको छ।
ताराखोला गाउँपालिकाले ३६ करोड ६७ लाख ९३ हजार बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाले आर्थिक बिकास तर्फ २ करोड ४ लाख ७० हजार, सामाजिक विकास तर्फ १७ करोड ९६ लाख २३ हजार, पूर्वाधार विकास तर्फ ८ करोड ९१ लाख ५० हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ४८ लाख र गाउँपालिकाको प्रशासनिक खर्चको लागि ५ करोड ९२ लाख बिनियोजन गरेको छ।
यस्तै बरेङ गाउँपालिकाले लागि ३१ करोड २९ लाख ८१ हजारको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाले प्रशासनिक खर्च ४ करोड ३९ लाख र पुँजीगततर्फ ११ करोड ५१ लाख ४० हजार २ सय रुपैयाँ बिनियोजन गरेको हो। गाउँपालिकाले वडास्तरीय योजनाका लागि २ करोड ९० लाख, विषयगत शाखाहरूका लागि ४ करोड ५६ लाख ३९ हजार ७ सय, समपुरक कोषका लागि ३ करोड ३२ लाख, गाउँपालिका स्तरीय योजना तथा कार्यक्रमहरूका लागि ७३ लाख ५० हजार विनियोजन गरेको गाउँपालिका उपाध्यक्ष दिलिप कुमार पुनले बताए।
निसीखोला गाउँपालिकाले ४६ करोड, ४६ लाख ८० हजार रुपैयाँ प्रस्तुत गरेको छ। भाँगो खेती व्यवस्थित गर्न पहल गर्ने नीति ल्याएको गाउँपालिकाले संघीय सशर्त अनुदान २१ करोड ५५ लाख, नेपाल सरकारबाट प्राप्त वित्तिय समानिकरण ९ करोड १२ लाख, नेपाल सरकार राजश्व बाँडफाँड १० करोड ६ लाख ६७ हजार, गण्डकी प्रदेश सरकारबाट वित्तिय समानिकरण अनुदान १ करोड १५ लाख ९ हजार, प्रदेश सरकार राजश्व बाँडफाँड ६४ लाख ४ हजार, प्रदेश समपुरक अनुदान ५० लाख विशेष अनुदान ५० लाख, संचित कोषबाट अल्या २ करोड ५० लाख, गाउँपालिकाको आन्तरिक राजश्व बाँडफाँड ४४ लाख आम्दानी अनुमानीत बजेट प्रस्तुत गरेको छ।
प्रतिक्रिया दिनुहोस !
