राष्ट्रियता र समृद्धिको कुरा गर्दा एमाले सबैको तारो बन्यो : वरिष्ठ उपाध्यक्ष पोखरेल
काठमाडौं : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रियता र समृद्धिको कुरा गर्दा एमाले सबैको तारो बनेको बताएका छन्। धादिङ जिल्लाको प्रथम जिल्ला परिषद्को उद्घाटन गर्दै पोखरेलले अहिले एमालेलाई चौतर्फी घेराबन्दीमा पार्न खोजिएको बताएका हुन्।
‘एमाले नेतृत्वको सरकारको पालामा चुच्चे नक्सा, राष्ट्रिय स्वधिनता, समृद्धिको मुद्दा उठाएबापत् अहिले एमाले घेराबन्दीमा परेको छ।’ उनले भने,‘एमालेले राष्ट्रिय र समृद्धिको कुरा गर्दा अहिले सबैको तारो बनेको छ । ’
वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रधानमन्त्रीको फोटो टाँसेर सय दिनको कामहरू भन्ने उल्लेख गरिएको पुस्तिकामा चुच्चे नक्शा गायव बनाइएको दाबी गरे । ‘वर्तमान सरकारले ठूलाठूला देशभक्ति र स्वाभिमानको कुरा मात्रै गरेको तर चुच्चे नक्साको बारेमा कुनै वाक्य बोल्न सकेका छैनन्। ’ उनले भने,‘हामीले भनेका छौँ, यो चुच्चे नक्सा बनाउनुको अर्थ के हो भने, हाम्रो जमिन खोसियो, अतिक्रमण भयो, छिमेकीले हेप्यो। अब छिमेकीले अतिक्रमण गरेका भूमि फिर्ता लिनुपर्छ भनेर एमालेले भन्यो।’
पोखरेलले अहिले एमालेलाई घेराबन्दी गरेपनि २०८४ को निर्वाचनपछि पहिलो शक्ति बन्ने दाबी गरे।
प्रतिक्रिया दिनुहोस !