घुमाउनेटारस्थित हेंवा खोलामा डाइभर्सन बनाउन सुरु
फालेलुङ : पाँचथरको फालेलुङ गाँउपालिका ७ र ३ लाई जोड्ने घुमाउनेटारस्थित हेंवा खोलामा डाइभर्सन बनाउन सुरु गरिएको छ ।
असार २ गतेको बाढीले यहाँको पक्की मोटरएबल पुल भत्काएपछि आवतजावत ठप्प छ । पुल भत्किएर यातायात ठप्प भएपछि पालिकाको अग्रसरतामा ह्यूम पाइप ल्याएर डाइभर्सन बनाउन थालिएको हो ।
‘डाइभर्सन निर्माणका लागि बिरगञ्जबाट ५ वटा ह्यूम पाईप ल्याएर काम थालिएको हो,’ प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर आङ्देम्बेले भने ‘पाँच दिन भित्रमा डाइभर्सन सञ्चालनमा ल्याउने लक्ष्य छ ।’ ह्यूम पाईप राख्नका लागि सोमबारदेखि ग्याबिन जाली बुन्ने काम सुरु गरिएको हो ।
पुल भत्किएपछि पालिककाको केन्द्र थकेपुङसम्म पुग्न सर्बसाधारणले सास्ति भोग्नु परेको छ । हेंवा खोलाका सबै पक्की पुल बाढीले भत्काएपछि फालेलुङ र सदरमुकाम फिदिमबीच यातायाताका साधानहरु चल्न सकेका छैनन् ।