देशको शिर निहुरियो, प्रधानमन्त्रीज्यू

देशको शिर निहुरियो, प्रधानमन्त्रीज्यू

प्रधानमन्त्रीज्यू, तपाईं त अर्कै विधिबाट बन्नुभएको रहेछ। कृपया, राजीनामा दिनुहोस्।

प्रितम सिंह नेपालमा यातायात व्यवसाय गर्ने भारतीय नागरिक हुन्। उनी आफ्नो जन्मभूमि भारत भए पनि कर्मभूमि नेपाल भन्छन्। उनको कर्म व्यापार मात्र होइन, प्रधानमन्त्री पुष्पकमल दाहालका अनुसार ‘राजनीति’ पनि हो। त्यसमाथि नेपालमा प्रधानमन्त्री बनाउने खुबीको राजनीति। अझ भारतसम्म पटक–पटक गएर यहाँ प्रधानमन्त्री बनाइदिने हैसियत रहेछ उनीसँग। त्यसभन्दा लज्जास्पद कुरा त सार्वभौम राष्ट्र नेपालका प्रधानमन्त्रीले स्वयं आफूलाई उनले यस पदमा पुर्‍याउन सहयोग गरेको खुलमखुला भन्नु राष्ट्रिय स्वाभिमानमाथि ठूलो प्रहार हो।

आफ्नैबारे प्रधानमन्त्री पुष्पकमल दाहालको भनाइको आधिकारिकता अन्यत्रबाट पुष्टि गराइरहनु आवश्यक हुन्न। दाहालले सोमबार सरदार सिंहको किताब विमोचनमा आफूलाई उनले लगाएका गुन कहँदै भने, ‘मलाई प्रधानमन्त्री बनाउन उहाँ पटक–पटक दिल्लीसम्म जानुभयो।’ यसलाई लिएर देशको राजनीति तरंगित बन्यो। विपक्षी दलले संसद् अवरुद्ध गरे। सत्तारुढ दलकै कतिपय नेताले यसलाई आपत्तिजनक भन्दै मुख खोले। बौद्धिक समुदायले कडा विरोध जनायो। नागरिक समाज आक्रोशित बन्यो। प्रधानमन्त्रीले देशको शिर निहुर्‍याउने अभिव्यक्ति दिएकामा सबैले लज्जाबोध गरे। तीव्र प्रतिक्रिया आएपछि प्रधानमन्त्री दाहाल उल्टै आक्रोशित देखिए। राजधानीको अर्को कार्यक्रममा आफ्नो भनाइलाई अनर्गल प्रचारबाजी गरिएको दाबी गर्दै सच्याएर भने, ‘मैले भन्न खोजेको यो हो– उहाँ (प्रितम सिंह) सामाजिक सेवा र यातायात क्षेत्रमा मात्रै होइन, राजनीतिमा पनि चासो राख्नुहुन्छ। मलाई प्रधानमन्त्री बनाउन कहिले कहाँ, कहिले कहाँ पुग्नुहुन्छ। कहिले दिल्ली, कहिले नेपालका मान्छेसँग लाग्नुहुन्थ्यो उहाँ।’

सच्याएको यो भनाइ नै स्वयंमा कम आपत्तिजनक छैन। एउटा विदेशी नागरिकले देशको राजनीतिमा चासो राखेको छ। प्रधानमन्त्री बनाउन कहिले दिल्ली, कहिले नेपालका मान्छेलाई भेटेको छ। आफ्नै सहयोगार्थ विदेशी राजनीतिक बिचौलिया प्रयोग गरिएको भन्ने बहालवाला प्रधानमन्त्रीको अभिव्यक्ति के शोभनीय हो ? हामी उसै भूराजनीतिक हस्तक्षेपको लामो शृंखला झेल्दै आएका छौं। कहिले उत्तरले, कहिले दक्षिणले सरकार बनाउने–भत्काउने गर्छन् भन्ने नागरिक तहसम्म परिचर्चा पुगेको छ। राजनीतिक नेतृत्व निष्ठा, स्वाभिमान र सार्वभौमिकताभन्दा पनि ‘आशीर्वाद’ को आड–भरोसामा लिप्त छ। प्रधानमन्त्री दाहालले त त्यसलाई ह्वाङ्गै देखाइदिए। आफैं बके।

राष्ट्रिय अस्मितामा चोट पुग्ने यो हर्कत नेपाली जनतालाई स्वीकार्य छैन। बोली फिर्ता लिएर वा जवाफ दिएर टारिने विषय होइन यो। स्वयं प्रधानमन्त्रीको मुखबाट यस्तो सुन्नु पर्ला भनेर जनताले कहिल्यै चिताएकासम्म थिएनन्। आफैंले मत दिएका यही देशका सांसदको बहुमतले प्रधानमन्त्री बनाउने संविधान छ हामीसँग। प्रधानमन्त्रीज्यू, तपाईं त अर्कै विधिबाट बन्नुभएको रहेछ। कृपया, राजीनामा दिनुहोस्। इमान जोगाइरहनुभयो भने घरेलु शक्तिले नै तपाईंलाई फेरि प्रधानमन्त्री बनाउने छ। सत्य ओकल्नुभयो, अब बाटो खोल्नुहोस्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.