उच्च गन्तव्यतर्फ लामखुट्टे, बढ्दै डेंगु संक्रमित

पहाड उक्लँदै लामखुट्टे, फैलाउँदै डेंगु

पहाड उक्लँदै लामखुट्टे, फैलाउँदै डेंगु

 काठमाडौं : लामखुट्टे पहिले तराईका क्षेत्रमा मात्रै पाइन्थ्यो। अर्थात् जता गर्मी छ लामखुट्टेको बसोबास त्यतै बढी हुन्थ्यो। तर, पछिल्लो समय यसले पहाडमा पनि सताउँदैछ। गर्मी उभो सर्दै जाँदा लामखुट्टेले पनि आफ्नो थातथलो फैलाउँदै लगेको छ। विज्ञ भन्छन्, ‘यो जलवायु परिवर्तनका कारण देखिएको समस्या हो।’ एक अनुसन्धानले नै देखाएको छ, ‘संसारका विभिन्न क्षेत्रमा प्रत्येक वर्ष २१ फिट माथि डेंगु गराउने लामखुट्टे सर्दैछ।’

जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि हुँदा लामखुट्टे उच्च क्षेत्रमा विस्तार हुने दर बढेको छ। नेपालको हकमा २ हजार मिटरसम्म फैलिसकेको छ। एक अध्ययनले न्यूनतम तापक्रम १ डिग्री मात्रै बढ्दा पनि २७ प्रतिशत मलेरिया बढ्ने जनाएको छ। यसै कारण नेपालमा मात्र नभएर विश्वभरि नै लामखुट्टेजन्य रोग महामारी बन्ने चेतावनी वैज्ञानिकहरूले दिएका छन्। 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनका अनुसार नेपालमा सबैभन्दा पहिला सन् २००४ मा डेंगु देखिएको थियो। त्यसपछी डेंगु अत्यधिक मात्रामा फैलिएकोे छ। नेपालमा गरिएका अध्ययनहरूले लामखुट्टे उच्च क्षेत्रमा गइरहेको प्रमाणित भइसकेको उनले बताए। भने, ‘ग्लोबल वार्मिङका कारण बढी न्यानो हुँदै जाँदा लामखुट्टे उच्च स्थानमा सर्दै गए। लामखुट्टेले न्यानो ठाउँ मन पराउँछ। न्यानोमा अत्यधिक फस्टाउँछ।’ 

पुनका अनुसार काठमाडौंको सवालमा सन् २०१० भन्दा पहिला डेंगु गराउने लामखुट्टे थिएन। संक्रमण रोग नियन्त्रण महाशाखा तथा अन्य अनुसन्धानहरूका आधारमा डेंगु गराउने (एडिस) जातका लामखुट्टे सन् २०१० पछि देखिएको हो। एडिस जातको लामखुट्टे कालोसेतो, छिरबिरे रंगको हुन्छ। पुनको अनुसन्धान ‘डेंगु इमर्जिङ डिजिज इन् नेपाल’ मा काठमाडौं बाहिर नगएको मान्छेलाई डेंगु लागेको उल्लेख गरेका छन्। ‘टेकुमा डेंगुको पहिलो बिरामी मैले पत्ता लगाएको हो। त्योभन्दा पहिला अन्य जिल्लाहरूबाट बिरामी आए पनि काठमाडौंमा डेंगु थिएन’ पुनले भने ‘बाहिर कतै नगएको तर स्थानीयमा रोग देखिनु भनेको स्थानीय रूपमा रोग फैलाउने लामखुट्टे छ भन्ने हो।’

उनका अनुसार सन् २०१९ मा पनि ‘आउटब्रेक’ भएको थियो। सन् २०२२ मा त्यसले भयंकर ठूलोरूप लियो। सन् २०२२ मा इतिहासमा सबैभन्दा बढी मानिस संक्रमित भए र मृत्यु पनि भयो। सन् २०१९ मै डेंगु काठमाडौंलगायत अन्य स्थानमा प्रकोप बन्ने भविष्यवाणी गरेको पुनले बताए। 

वर्षासँगै फैलिन्छ डेंगु 

डा. पुनका अनुसार डेंगु विशेषगरी वर्षा सुरु भएपछि बढी देखिन्छ। प्रिमनसुनमा प्रायः आउटब्रेक हुन्छ भन्ने गरिए पनि वर्षाको समयमा बढी देखिन्छ। वर्षापछि जब पानी स्थिर बन्छ। लामखुट्टे वृद्धि विकासको माहोल बन्छ र त्यसको केही सातामा फैलिन्छ।

दुई दशकको अनुभवमा उनले पहिलो दशकमा मलेरियाको बिरामीको उपचार गरेको सुनाए। तर, दोस्रो दशकमा खासै समस्या देखेका थिएन। तर, आयातित मलेरिया देखिने गरेको र ती बाहिरै लामखुट्टेले टोकेर काठमाडौं आएपछि संक्रमित बनेकोे उनले बताए। मलेरिया (एनोफिलिज) जातको लामखुट्टेले टोक्दा हुन्छ। तर, यतिबेला डेंगु गराउने (एडिस) जातका लामखुट्टे अत्यन्त आक्रामक रूपमा देखिएका छन्। 

दिनमा सक्रिय हुन्छन्

डेंगु २१औं शताब्दीको सबैभन्दा चुनौतीपूर्ण रोग मान्छन् डाक्टर पुन। ‘दिनमा सक्रिया हुनु नै अभिसाप हो’ पुनले भने, ‘काम गरिरहेको बेला लामखुट्टेले टोकेको ध्यानै हुँदैन। डेंगु संसारभरि चुनौती बनेको छ। यसले धेरै खालको भाइरस सार्छ।’ 

nullहेटौंडा अस्पतालमा डेंगुका बिरामीको उपचार गर्दै चिकित्सक। 

जुनैसुकै संक्रमण रोगमा ज्वरो सबैभन्दा पहिलो समस्या हो। वान्ता हुने, आन्तरिक तथा बाह्य रत्तश्राव हुने, डेंगु सक सिन्ड्रोम हुँदा बिरामीको मृत्यु हुँदै आएको छ। जिका भाइरस तथा चिकेनगुन्या रोग पनि यसैबाट हुन्छ। पुनले डेढ वर्षको अनुसन्धानपछि सन् २०१३ ताका नेपालमा चिकेनगुन्याको पहिलो केस पत्ता लगाएका थिए। भारतमा हरेकवर्ष जिकाको समस्या छ। नेपालमा पुष्टि हुन मात्रै बाँकी रहेको बताए। 

जलवायु परिवर्तनका कारण काठमाडौंमा अत्यधिक तापक्रम तथा जनघनत्व बढिरहेको हुँदा लामखुट्टेको वृद्धिविकासका लागि अनुकूल वातावरण सिर्जना भएको र चुनौती बन्दै गएको बताए। 

६५ बढी जिल्लामा डेंगु 

वातावरण स्वास्थ्य वैज्ञानिक तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का प्रमुख अनुसन्धान अधिकृत मेघनाथ धिमाल भन्छन्, ‘डेंगु नेपालमा थिएन। २००४ बाट सुरु भएर २००६ मा पहिलोपटक आउटब्रेक भयो। नौवटा जिल्लाबाट ३२ वटा केश आएका थिए। तर, सन् २०२२ मा आइपुग्दा ७७ वटै जिल्लामा पुग्यो। र, ५५ हजार बढी संक्रमित भए। ८० जनाको मृत्यु भएको थियो।’

यसवर्ष पनि यसैसातासम्म ६५ भन्दा धेरै जिल्लाबाट हजारभन्दा बढी संक्रमित भइसकेको धिमालले जानकारी दिए। डेंगु आउनुमा उनी मुख्य कारक तत्व जलवायु परिवर्तन र अव्यवस्थित सहरीकरणलाई मान्छन्। जलवायु परिवर्तनका कारण वर्षा र तापक्रममा परिवर्तन आएको छ। लामो समय पानी पर्दैैन। कहिले भारी वर्षा हुन्छ। लगातार पानी परेमा डेंगुको जोखिम कम हुन्छ। पानी लगातार पर्दा अण्डा नष्ट हुन्छ। लामखुट्टेले जमेको पानी र बाहिरतिरै फुल पार्छ। तर, पानी पर्दै, रोकिँदै गर्दा लामखुट्टेका लागि अनुकूल बन्छ। ग्याप हुँदै पानी पर्दा एकै पटक लाखौं लाख लामखुट्टे उत्पादन हुन्छन्।

छोटियो लामखुट्टेको जीवनचक्र 

जलवायु परिवर्तनका कारण लामखुट्टेको जीवनचक्र घटेको छ। लार्भा, प्युपा बन्ने समय पनि घटेको छ। तर, वयस्क भएपछि टोक्ने दर बढ्ने धिमाल बताउँछन्। भन्छन्, ‘उसले जुन रगत खान्छ। छिटोभन्दा छिटो डाइजेस्ट भएर अण्डामा परिणत हुन्छ।’

तर, जहाँ ३५ डिग्रीभन्दा बढी तापक्रम हुन्छ त्यस्ता ठाउँमा लामखुट्टे मर्छन्। पछिल्लो समय चिसो ठाउँमा पनि लामखुट्टे फस्टाएका छन्। काठमाडौं उपत्यका तथा पहाडी भू–भागमा न्यूनतम तापक्रम लगभग १२ डिग्रीभन्दा माथि हुनेबित्तिकै लामखुट्टे बाँच्न सक्छ। जलवायु परिवर्तनका कारण कम उचाइका क्षेत्रहरूमा यसको जोखिम घटने देखिन्छ। विगतमा १० डिग्री भएको ठाउँमा ११, १२ पुग्नेबित्तिकै जोखिम बढ्छ। भाइरसहरू छिटो बढ्छन्। 

धिमालले भने, ‘भाइरसको रेप्लीकेसन हुन्छ। त्यसैले उच्च ठाउँमा जोखिम बढेको छ।’ पछिल्लो समय तराईभन्दा काठमाडौंलगायत अत्यधिक जनघनत्व भएका र अव्यवस्थित सहरीकरण भएका ठाउँमा बढी डेंगु देखिएको छ। बढ्दो गाडीको प्रयोग र जताततै टायरहरू फाल्दा बढी जोखिम बढेको छ। पहाडी क्षेत्रका सदरमुकामतिरबाट केसहरू धेरै आएको छ।’ मानिसमा सचेतना नै नहुँदा जोखिम बढिरहेको उनी बताउँछन्। उनले भने, ‘झुल टाँगेर सुत्छु, कसरी सर्छ भन्छन् तर डेंगु गराउने लामखुट्टेले दिनमा टोक्छ।’

उनका अनुसार उपचार पनि यही गर्ने भन्ने छैन। बिरामी र डाक्टर नै झुक्किएका छन्। जति मान्छेलाई संक्रमण हुन्छ लगभग ८० प्रतिशतलाई लक्षण देखिँदैन। त्यस लामखुट्टेले संक्रमितलाई टोकेर अर्कोमा टोकेमा संक्रमण हुने उनले बताए। 

नेपालमा डेंगुका भाइरस चार प्रकारका छन्। पहिलोपटक संक्रमित व्यक्ति दोस्रोपटक संक्रमित हुँदा नयाँ खालको भाइरसले भेटेमा अत्यधिक गाह्रो हुन्छ। त्यस्तै अवस्थामा बिरामीको मृत्यु हुन्छ। फरक भाइरस शरीरमा प्रवेश गरेमा बढी जटिलता हुन्छ। एउटै क्तिमा दुई, तीन खालको भाइरस पनि पाइयो। उच्च भूभागमा हेर्दा दुई हजार मिटरसम्म पुगेको र त्योभन्दा माथिको विषयमा अध्ययन भइरहेको धिमालले जनाए।

‘गतवर्षको केसहरू दुई हजार मिटर उचाइबाट आएका थिए। लामखुट्टे लगभग चार सय मिटरसम्म जान्छ भन्ने बुझाई भए पनि हावाको गतिमा पनि भर पर्ने भएकाले थप अध्ययन हुन बाँकी छ,’ उनले भने।

‘तीव्र गतिमा उकालो चढ्दै’

जलवायु परिवर्तनका कारण उच्च स्थानसम्म लामखुट्टे फैलिएको कारण मलेरियाको उच्च जोखिम देखिएको जर्जटाउन युनिभर्सिटी मेडिकल सेन्टरको अध्ययनले प्रष्ट्याएको छ। उक्त विश्वविद्यालयका वैज्ञानिकहरूले उच्च स्थानतिर मलेरिया सार्ने मुख्य भूमिका लामखुट्टेको भएको जनाएका छन्। तथ्यांकहरू हेर्दा पहिलाको भन्दा धेरै दरमा मलेरिया फैलाएको छ। अफ्रिकातिर औसतमा प्रत्येक वर्ष ६.५ मिटर (२१) फीट माथि लामखुट्टे सर्दै गएको छ। त्यसैगरी भूमध्य रेखाको दक्षिणी भागतिर प्रतिवर्ष ४.७ किलोमिटर सर्दै गएको छ। उक्त अध्ययन गत फेब्रुअरीमा प्रकाशित भएको थियो।

सो अध्ययनका असिसटेन्ट रिसर्च प्रोफेसर कोलिन कार्लसनले भनेका छन्– ‘जलवायु परिवर्तनका कारण लामखुटेजस्ता प्रजातिहरू चिसो ठाउँमा सरिरहेका छन्। यस्ता परिवर्तन पृथ्वीका सबैतिर भएको हुनसक्ने अनुमान छ।’ विश्वव्यापी तापक्रम कम्तीमा १.२ डिग्री सेल्सीयस छ। यो प्रि–इन्डस्ट्रियल समयभन्दा बढी तातो हो। तापक्रम वृद्धि हुँदै जाँदा लामखुट्टे जस्ता प्रजातिहरू प्रत्येक वर्ष १.१ मिटरका दरले उच्च क्षेत्रमा सरिरहेका वैज्ञानिकहरूले बताएका छन्। उक्त गति निकै तीव्र हो। मलेरिया गराउने (एनोफिलिज) जातका लामखुट्टेहरू कम्तीमा २१ फिटमाथि प्रत्येक वर्ष सर्दै गएको जर्जटाउन विश्वविद्यालयको रिपोर्टमा उल्लेख छ। 

तापक्रम बढ्दा लामखुट्टेको वृद्धिविकास चाँडो हुने र लामो समय बाँच्ने मौका मिलेको छ। जति तातो बढ्यो उनीहरूको वृद्धिको प्रक्रिया झन् छोटो भएको छ। लामखुट्टे झनै संक्रमणयुक्त हुँदै गएका छन्। त्यसैले वैज्ञानिकहरूले दीर्घकालीन रूपमा जैविक विविधतामा आउन सक्ने परिवर्तनका बारेमा अध्ययन गरिरहेका छन्। 

जलवायु परिवर्तनले दुर्लभ जैविक विविधतामा परेको असरका बारेमा थोरै मात्रै जानकारी रहेको पनि बताएको छ। बदलिँदो मौसमले केही प्रजाति किराहरूलाई फस्टाउने वातावरण दिएको उदाहरण दिइसकेको छ। उक्त चिज निकै गम्भीर मानिएको जर्जटाउन विश्वविद्यालयको अध्ययनले प्रष्ट्याउँछ। 

अर्बौं मानिस जोखिममा 

लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनले सन् २०२१ मा गरेको अध्ययन भन्छ, ‘उत्सर्जन अहिलेको दरमा निरन्तर भएमा यसै शताब्दीको अन्त्यसम्म ८.४ बिलियन मानिस मलेरिया र डेंगुको जोखिममा पर्नेछन्।’ हरित ग्रीह ग्यास उत्सर्जन, जनघनत्व र उचाइको आधारमा उक्त प्रक्षेपण गरिएको हो। उक्त अध्ययनले पनि जलवायु परिवर्तनका कारण लामखुट्टेको टोकाइबाट हुने संक्रमण वृद्धि हुनेमा सचेत गराएको छ। लामखुट्टेको पुनःउत्पादन दर छोटो हुने र तर संक्रमणको अवधि लम्बिने बताएको छ। 

  •    संसारका विभिन्न क्षेत्रमा प्रत्येक वर्ष २१ फिटमाथि डेंगु गराउने लामखुट्टे सर्दैछ।
  •     नेपालमा २ हजार मिटरसम्म लामखुट्टे फैलिसकेको छ।
  •     नेपालमा सबैभन्दा पहिला सन् २००४ मा डेंगु देखिएको थियो।
  •     सन् २०२२ सम्ममा आइपुग्दा ७७ वटै जिल्लामा डेंगु संक्रमित भेटिए।
  •     डेंगु २१औं शताब्दीको सबैभन्दा चुनौतीपूर्ण रोग मान्छन् डाक्टर पुन।
  •     पहाडी भू–भागमा न्यूनतम तापक्रम लगभग १२ डिग्रीभन्दा माथि हुनेवित्तिाकै लामखुट्टे बाँच्न सक्छ।
  •     तापक्रम बढ्दा लामखुट्टेको वृद्घिविकास चाँडो हुने र लामो समय बाँच्ने मौका मिलेको छ।

लामखुट्टेजन्य मलेरिया र डेंगुजस्ता रोग विश्वव्यापी रूपमा चुनौती बनेको छ। धेरै ठाउँमा यसको संक्रमण हुनु, पहिला प्रभावित नभएका ठाउँमा समस्या देखिनाले जोखिम देखिएको छ। अध्ययनले दशकौंसम्म सुस्त रहेका स्थानहरूमा लामखुट्टे पुनःउत्पन्न भएको भन्दै महत्वपूर्ण सन्देश दिएको छ। मलेरिया उच्च क्षेत्रमा सरेको छ। त्यसैगरी डेंगु बढ्नुमा सहरीकरणले योगदान रहेको उल्लेख 
गरेको छ। 

नयाँ गन्तव्यमा लामखुट्टे

प्रमुख लेखक सिर्जना भट्टराईले गरेको अध्ययन ‘जलवायु परिवर्तनअन्तर्गत नेपालमा मलेरियाको संक्रमण’ मा उनले भूगोल तथा मौसममा आउन सक्ने अपेक्षित परिवर्तनका बारेमा अध्ययन गरेकी छन्। नेपालमा मलेरियाका विषयमा भएको पहिला र अहिलेको अवस्थालाई तुलना गरेर हेरेकी छन्। सन् २०२२ मा प्रकाशित भट्टराईको अध्ययनले मलेरिया फैलिनका लागि अनुकूलता अझै बढ्ने जनाएकी छन्। तापक्रम वृद्धि हुँदा लामखुट्टे उच्च क्षेत्रमा विस्तार हुने क्रम बढेको उल्लेख गरेकी छन्। 

न्यूनतम तापक्रम १ डिग्री मात्रै बढ्दा पनि २७ प्रतिशत मलेरिया बढेको छ। कुल वर्षामा कमी हुँदा पनि समस्या बढेको छ। धनगढी, मोरङ, झापामा तापक्रम थोरै मात्र वृद्धि हुँदा मलेरिया बढेको छ। मलेरियाको हटस्पट मोरङ जिल्ला बनेको छ। लामखुट्टे नयाँ गन्तव्य पुगेका छन्। नेपालको उच्च पहाडी तथा हिमाली क्षेत्रमा समेत लामखुट्टे पुगेका छन्। विगतमा मलेरिया मुक्त मानिएका ठाउँहरूमा समेत लामखुट्टे पुगेको उनको अध्ययनले फेला पारेका तथ्यहरू हुन्। 

पहिला चिसो मानिएका क्षेत्र पनि लामखुट्टेको वृद्धिविकासका लागि उपयुक्त बनेका छन्। नेपालको उत्तरी क्षेत्र (नर्दन) मा पनि लामखुट्टे पुगेका छन्। उनले अफ्रिकामा गरिएको एउटा अध्ययनका बारेमा पनि उल्लेख गरेकी छन्। पहिला लामखुट्टेका लागि उपयुक्त नभएका ठाउँहरूसमेत सिजनमा उपयुक्त बनेका छन्। एकदमै लामखुट्टे दुर्लभ मानिने ठाउँ रुवान्डामा सन् १९८० मलेरिया फैलिएको थियो। उच्च तापक्रम तथा भारी वर्षाले उक्त परिणाम निस्किएको थियो। 

कतिपय अवस्थामा मौसमी प्रणाली एल निनोका कारण यस्ता समस्या बढेका छन्। जुन बेला एल निनो बन्छ। त्यसले तापक्रम वृद्धि गराउँछ। सामान्य प्राकृतिक प्रक्रिया अनुरूप एल निनो बन्ने भए पनि यसको असर लामखुट्टेको वृद्धिविकासमा हुन्छ। अध्ययका अनुसार तापक्रमका हिसाबले कर्णाली प्रदेश, कर्णाली र सुदूरपश्चिमको संगम स्थान, बागमती र गण्डकी प्रदेशको उत्तरी भागहरू अनुपयुक्त मानिन्थे। 
पहिला नै लामखुट्टेका लागि उपयुक्त मानिएका सुदूरपश्चिम र कर्णाली प्रदेशका केही भूभाग, लुम्बिनी, गण्डकी, बागमती प्रदेश तथा पहाडी र हिमाली क्षेत्रमा मलेरियाको सिजन लम्बिँदै गएको छ। त्यस्ता क्षेत्रमा समेत मलेरिया नियन्त्रणका कार्यक्रमहरू चाहिने छन्। अन्यथा अबोध बालबालिका, गर्भवती तथा वृद्धवृद्धाहरू जोखिममा पर्नेछन्। 

चुनौतीपूर्ण नियन्त्रणको पाटो

संक्रमणरोग विशेषज्ञ डा. पुन भन्छन्, ‘लामखुट्टे नियन्त्रण गर्न सिंगापुरले पनि सकेको छैन। विकसित मुलुकहरूमा पनि चुनौती बनेको छ।’ लार्भा स्टेजमा पानीमा भएको समयमा नस्ट गर्न सकेमा धेरै हदसम्म सुरक्षित हुन सकिने उनले बताए। यसमा प्रत्यक्ष तथा अप्रत्क्ष जलवायु परिवर्तनको योगदान रहेको छ। 

डा. धिमालका अनुसार लामखुट्टे कहाँसम्म पुगेका छन् त्यहाँ नियन्त्रण गर्नुपर्छ। ‘सर्च एन्ड डिस्ट्रोए’ अभियान सुरु गरिएको छ। घरैमा पनि गमलामा जमेको पानी फाल्नुपर्छ। यसका लागि महाअभियान चाहिन्छ। राज्य एक्लैले गरेर सक्दैन। बहुक्षेत्रीय समन्वय चाहिन्छ। जनता र समाज सक्रिय नभएसम्म नियन्त्रण हुँदैन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.