वडाध्यक्ष पक्राउ प्रकरण : हातपात गर्ने महिलालाई कारबाही नगरे सशक्त प्रतिवाद गर्ने

वडाध्यक्ष पक्राउ प्रकरण : हातपात गर्ने महिलालाई कारबाही नगरे सशक्त प्रतिवाद गर्ने

उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका-९ का वडाध्यक्ष प्रकाश राउत पक्राउ प्रकरण थप पेचिलो बन्दै गएको छ। 

असार २२ गते जीर्ण सडक सामान्य मर्मतपछि सुरु गर्ने क्रममा स्थानीय महिला सुनिता प्रधानसँग भएको विवादले राजनीतिक रूप लिँदा घटना थप पेचिलो बन्दै गएको हो। 

एमालेबाट दोस्रो कार्यकाल निर्वाचित भएका वडाध्यक्ष राउतलाई कांग्रेसले महिलामाथि दुर्व्यवहारको आरोपमा सिध्याउने रणनीति बनाएको आरोप लगाएको छ। नेकपा एमालेले चौदण्डीगढीस्थित नगर पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै घटनाको सशक्त प्रतिवाद गर्ने बताएको छ। 

एमाले अध्यक्ष परमेश्वर घिमिरेले भने, ‘हामी कानुनसम्मत नै यसको निरूपण होस भन्ने पक्षमा छौं, तर त्यसो नभई जसले जनताको पक्षमा काम गर्दा कुटाई खानुपर्‍यो छ, उसैलाई सत्ता र शक्तिको दुरूपयोग गरी पक्राउ गरिएको छ। सामाजिक सञ्जालमा भाइरल भएको भिडियो हेर्दा सहजै अनुमान गर्न सकिन्छ कि महिला सुनियोजित रूपमा चप्पल उठाएर वडाध्यक्ष राउतलाई प्रहार गर्न गएको, तर घटनालाई तोडमोड गरी उल्टै महिलामाथि हातपात भयो भन्दै प्रहरीमा जाहेर दिएर पक्राउ गरियो, के यहीँ हो न्याय ? हिलाम्मे सडकमा फसेको गाडी निकाल्न र हिलो पुरेर सडक सुरु गर्न वडाध्यक्ष राउत खोला नजिक पुगेका थिए। सडक अवरोधका कारण कसैको ज्यान तलमाथि भयो भने त्यहीँ जनप्रतिनिधिका कारण भयो भन्दै कराउँछन्, अनि सुरु गर्न खोज्दा अवरोध मात्र हैन चप्पल प्रहार गर्छन, उल्टै कुटाई खाने प्रहरी हिरासत बस्ने कुन कानुन हो यो?'

कार्यक्रममा बोल्दै एमाले सचिव तथा चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले कांग्रेस नेतृत्व पाँच वर्षसम्म सत्तामा रहँदा केही गर्न नसकेको अवस्थामा एमाले नेतृत्वको स्थानीय सरकारले एक वर्षमा गरेको काम देखेर चौतर्फी घेराबन्दी गरेको आरोप लगाए।

‘यहीँ रफ्तारले विकास निर्माण हुने हो भने, आफूहरू पत्तासाफ हुने डरले कांग्रेस नेतृत्वको गठबन्धनले सुनियोजित रूपमा एमालेलाई फसाउने योजना बनाएको छ,' उनले भने, ‘हामी माथि जतिसुकै आक्रमण भए पनि डराउनेछैनौ र जनताको विकासमा कहीँ कतै रोकिने छैन।'

कोसी प्रदेशका पूर्वसांसद तथा एमालेका प्रदेश कमिटी सदस्य बिमल कार्कीले वडा अध्यक्ष राउतलाई नियोजित फसाउने उद्देश्यले उदयपुर प्रहरी प्रशासन प्रयोग भएको आरोप लगाए। उनले ‘सत्ता र शक्तिको दुरूपयोग गर्दै युनिफर्ममा प्रहरी उतारेर गुन्डागर्दी शैली अपनाइयो, जुन सारै लज्जासपद छ, प्रहरी प्रशासन यसरी प्रयोग हुनु आफैमा गलत हो, यसको हिसाब किताब समय आएपछि दिन्छौ।'

उनले नगरपालिकाले गरेका कामहरू देखिनसकेरै गठबन्धनका नेताहरूले राउतमाथि ‘सिरिज अफ एक्सन'को रूपमा आक्रमण गरियो जुन असामजिक आरोप भएको बताए। उनले घटनालाई मेलमिलाप गर्न आउँदै गरेकी महिलालाई कांग्रेसका कार्यकर्ताले बाटैबाट अपहरण गरी लगेको समेत आरोप लगाए। उनले केन्द्रीय सरकारको निर्देशनमा सीडीओ र एसपीले हातपात गर्ने महिलालाई संरक्षण गरेको बताए।

एमालेका केन्द्रिय सदस्य अम्बिका थापाले संविधानले महिलालाई पुरुषमाथि जाइलाग्ने अधिकार नदिएको स्पष्ट पारिन्। उनले भनिन्, ‘महिला हिंसामा परे कानुनी अग्रधिकार प्रयोग गर्न संविधानले भनेको छ, तर आफ्नो कार्यक्षेत्रमा खटिरहेका जनप्रतिनिधिलाई एक्कासी चप्पल उठाएर आक्रमण गर्ने अधिकार दिएको छैन।' 

थापाले भनिन्, ‘जसलाई हातपात भयो उहीँ हिरासतमा बस्नु पर्ने अनी जसले हातपात गर्यो उनीविरुद्ध जाहेरी दर्ता नगर्ने यो भन्दा प्रहरी प्रशासनको निकृष्टता र सत्ताको दुरूपयोग कहाँ हुन्छ, त्यसैले सच्याउनुस् र आक्रमण गर्नेविरुद्ध पनि जाहेरी दर्ता गर्नुस्? महिलालाई हतियार बनाएर राजनीतिक अभिष्ट पूरा गर्छु भन्ने दिवास्वप्न नदेख्नुस। हेक्का राख्नुस हामी पनि मैदानमै छौँ यस्तै सत्ता र शक्तिको रवैया रहिरहे जनपक्षीय आन्दोलनको आँधिवेरीले कांग्रेसलाई टर्च बालेर खोज्नु पर्ने दिन आउन सक्छ।' उनले विनाशर्त राउतलाई रिहा नगरे जनपक्षीय आन्दोलनको आँधिवेरी सृजना गरिने चेतावनी दिइन्। 

घटनाको कारण यस्तो छ  

आफ्नो वडाको तीन किलोमिटर सडक असार २४ गते भित्र कालोपत्रे गरिसक्नु पर्ने वडाध्यक्ष राउतको योजना थियो। त्यसमा पनि मेयर कालुमान लामाले जसरी काम सक्न निकै ठूलो दवाव दिएका थिए। मेयरको आदेशपछि उनी समयमा काम सक्ने गरी अघि बढे। निर्माणका क्रममा कालोपत्रे बोकेर गएको ट्रक सडकमा फस्यो। विभिन्न साधनको सहयोगबाट बल्लतल्ल निकाल्यो तर सडक त्यतिन्जेलसम्म निकै खाल्डाखुल्डी भईसकेको थियो। 
सडकको त्यो अवस्था देखेपछि सुधार नगर्ने हो भने ठेकेदार कम्पनीले काम नगर्ने जनाउ दियो। काम रोकिने संकेत देखिएपछि वडाध्यक्ष राउतले म सहयोग गर्छु तर जसरी पनि काम गर्नु पर्यो भने र सडक मर्मत गर्न दुई टिफर गिटी ल्याउने योजना अनुरूप अजगरा क्षेत्रको खोलामा पुगे। टिफर लिएर पुगेका मात्र के थिए स्थानीयले अवरोध सृजना गरे। वादविवाद चल्दै जाँदा भिडियो खिच्ने काम भयो र वडाध्यक्ष राउतले यो तपाई हाम्रै सडक सुरु गर्न हो छाडिदिनुस् भने।

त्यसअघि उनले भने, ‘भोलि यो सडक अवरुद्ध हुँदा मान्छे बिरामी भएर तलमाथि भयो भने तपाईहरूले मलाई नै हो कराउने त्यसैले सडक सुरु गर्न अवरोध नगर्नुस्।' त्यहीँ क्रम चल्दै जाँदा सुनिता प्रधानले खिचेको भिडियोका विषयमा विवाद सृजना भयो र वडाध्यक्षमाथि हातपात भएपछि प्रतिवाद गरिएको हो। 

प्रतिवादका क्रममा उनीहरू बीच तल्लोस्तरका गाली गलौज भएको भिडियोसमेत सुनिन्छ। यसका साथै सुनिताले विवाद हुनासाथ हातमा चप्पल बोकेर आक्रमणको प्रयास गरेको दृष्य देखिन्छ। यस्तो अवस्थामा घटनाको सूक्ष्म अनुसन्धान गरी प्रक्रिया बढाउनुपर्नेमा एक पक्षीय ढंगले मुद्दा चलाएको स्थानीयको आरोप छ। 

केही स्थानीयले भने वडाध्यक्ष राउतको ज्यादती भएको आरोप लगाएका छन्। स्थानीय र वडाका अन्य सदस्यसँग सल्लाह नै नगरी आफू खुशी काम गरेको उनीहरूको आरोप छ। गिटी, बालुवा निकाल्दा बस्ती जोखिममा पर्ने भएकाले अवरोध गरेको उनीहरूको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.