नेपाली भाषाका पिता भानुभक्त

व्यक्तित्व

नेपाली भाषाका पिता भानुभक्त

नेपाली भाषा र साहित्य सन्तसाहित्य अर्थात् ऋषिमुनिहरूका वाणीबाट प्रारम्भ भएको हो। यी वाणीहरूको रचना हजारौं वर्षपहिले भएको थियो। त्यसैले शिलालेख, सन्तसाहित्य एवम् ऋषिमुनिका परम्परागत सिर्जनाबाटै आजको लिखित साहित्यको आरम्भ भएको मानिन्छ। प्रारम्भिककालमा संस्कृत वाङ्मयका विद्वानहरूले ग्रन्थरचनाका निमित संस्कृत भाषाको उपयोग गरेका थिए। संस्कृत भाषाको युगौं पुरानो परम्पराले नेपाली भाषामा स्वाभाविकै रूपले प्रवेश गरेको हो।

जोसमनि सन्तकाव्यपरम्परा भक्तिधारा काव्य अन्तर्धाराको रूपमा प्रवाहित छ। सन्तकाव्य परम्परा प्रारम्भमा परकीय भाषाहरूको मिश्रित रूप थियो। यो परम्परा पृथ्वीनारायण शाहको समयतिर मात्र नेपालीमा प्रयोग हुन थालेको हो। पृथ्वीनारायणकालीन युगको भक्ति काव्यपरम्पराअन्तर्गत कृष्णभक्ति शाखाका वसन्त शर्मा, इन्दिरस, रघुनाथ, विद्यारण्यकेशरी, यदुनाथ पोखरेल र हीनव्याकरणी विद्यापति प्रमुख कविहरू थिए। यी कविहरूले कृष्ण र उनीसँग सम्बन्धित तथ्यलाई नै काव्यरचनाको मूल विषयवस्तु बनाए। यिनमा पनि यदुनाथको काव्यप्रवृत्तिमा पाइने युगचेतना र देशभक्तिको भावना उच्च छ। युगको प्रथम चरणमा पाइने वीररसधारा यदुनाथको काव्यसाधनामा प्रवाहित छ।

अंग्रेजसँग भएको पराजय र सुगौली सन्धि गर्नुपर्ने बाध्यतापश्चात् पनि नेपाली जनमानसमा देशभक्ति र राष्ट्रियताको भावना सेलाएको थिएन। नेपाली वीरधारालाई सिरानी लगाएर उर्लिएको आस्थाविपरीतको सुगौली सन्धिबाट देशले विश्राम लिएको थिएन। नेपालीका दुश्मन अंग्रेजलाई एसियाबाटै धपाउनुपर्छ भन्ने देशभक्तिका कविताले १८७२ सालमा भएको सुगौली सन्धिमार्फत नेपालले कुठाराघात सहनुपर्‍यो।

कवि यदुनाथ पोखरेलका रचनामा युगचेतना र भावनाको प्रवाह प्रस्फुटन भएको छ। उनलाई कृष्णभक्ति परम्परा काव्यमा लिन सकिन्छ। रामभक्ति शाखाका प्रमुख कविका रूपमा भने रघुनाथ र भानुभक्तलाई लिइन्छ। यी विचारधाराले रघुनाथको सुन्दरकाण्ड रामायण र भानुभक्त रामायणलाई उदाहरणको रूपमा उठान गर्न सकिन्छ। रामभक्ति शाखाको मूल विषयवस्तु रामसँगसम्बन्धी कथा भएकाले तत्कालीन कविहरू आदिका रचनामा भाषाको विशुद्ध रूप भेटिँदैन।

उनीहरूका शैलीमा परकीय भाषा र अभिव्यक्तिको प्रभावका साथै भाषा, वाक्य र शब्दमा सरस र सरलता नभै वज्र, अवधि र हिन्दी आदिको प्रष्ट छाप परेको छ। तत्काल भाषा र अभिव्यक्तिमा परकीयता पाइए पनि यदुनाथको काव्यमा नवीनता र मौलिकता भने पाइन्छ। कृष्णभक्ति परम्पराका कविमा पाइने युगबोध नै नेपाली काव्यजगत्मा यदुनाथको व्यक्तित्व र अस्तित्व हो।

यति भएर पनि भानुभक्तको तुलनामा यदुनाथका रचनामा मौलिकताको अभाव भने छंँदैछ। यी उल्लेख गरिएका कविका रचनामा भाषा अभिव्यक्ति, शैली प्रतिपादन एवम् मौलिकतामात्र होइन, भानुभक्तपूर्वका कविहरूमा प्रकृति सौन्दर्य प्रेमको पनि अभाव थियो। संस्कृतभाषाको चर्को दबदबा रहेको तत्कालीन अवस्थामा रामायणजस्तो सुन्दर महाकाव्यलाई नेपाली भाषामा मौलिक अनुवाद गरेर साझा भाषाको रूपमा भानुभक्तले गरेको योगदान अतुलनीय छ। नेपाली भाषालाई सरलीकृत रूपमा नेपालीको जनजिब्रोमा प्रवेश गराउने रचनात्मक कार्य उनका समकालीन र पूर्वर्वती कविबाट सम्भव नहुनुको कारण भानुभक्तलाई नेपाली साहित्यका कालजयी आदिकवि भनिएको हो। नेपाली साहित्यको एक सुन्दरयुग माध्यमिककालीन सामाजिक स्वरूपमा केही हदसम्म विचलन रहे भानुभक्तले रामायणको भावानुवाद परिस्थिति सुहाउँदो गरेका थिए।

कुनै पनि स्रष्टालाई देश काल र परिस्थितिको पीडाजन्य प्रतिकूलताबाट पृथक् रहेर अभिव्यक्ति दिन सहज थिएन। कवि भानुभक्त पनि यसका अपवाद थिएनन्। त्यसैले संस्कृत साहित्यमा आदिकवि वाल्मीकि, हिन्दी साहित्यमा सन्त तुलसीदासको गौरवगाथा भएजस्तै नेपाली भाषासाहित्यमा भानुभक्तको त्यही स्थान छ। नेपाली भाषामा महाकाव्य रामायणको सुन्दर अनुवाद गरेर भाषाको माध्यमद्वारा भानुभक्तले समाजमा युगीन परिवर्तन ल्याए। भानुभक्तको रामायणलगायतका सर्वप्रिय रचनाले नेपालीहरूको मन सहजै छुन पुगेको छ। सबैभन्दा पहिलो प्रभावकारी कृति सिर्जनाद्वारा काव्यपरम्परा थाल्ने कवि भानुभक्त नै हुन्। उनका समकालीन र पूर्ववर्ती कविहरूका रचनामा यथार्थपरक चित्रण, भाषा अभिव्यक्ति र शैली प्रतिपादनमा उल्लेखनीय स्वकीयता एवं मौलिकताको अभाव देखियो, जसलाई भानुभक्तले पूरा गरेका छन्। यिनै अभावहरूलाई समेट्दै नेपाली साहित्यलाई पठनीय, स्तरीय अध्ययन अनुसन्धान विकसित, विस्तार र प्रभावकारी बनाउने सफलताको श्रेय कवि भानुभक्तलाई जान्छ।

सर्वोत्तम सिर्जनाको निमित्त समय र स्रष्टा दुवैको संयोग आवश्यकता पर्छ, तर भानुभक्तको समयताका त्यो सहजता सम्भव थिएन। साहित्यिक श्रेष्ठताको मूल्यांकन जनतामा परेको अनन्त प्रभाव र सर्वकालीन हृदयस्पर्शितामा निर्भर रहन्छ। भानुभक्तको दार्शनिक अध्ययन, तिखारिएको कलम र महान् प्रतिभाले नेपाली भाषा र साहित्य यति धेरै मौलाउन सकेको हो। सगुण स्वरूप श्रीरामचन्द्रको चरित्र व्याख्या भएको अध्यात्म रामायणलाई सरल नेपाली भाषामा श्लोकबद्ध गरी नेपाली घरझुपडीमा रामचरित्रको सन्देश गायनको रूपमा भानुभक्तले पुर्‍याए। त्यसैले भानुभक्तीय रामायण नेपाली जनमानसको सिंगो भूगोल हो।

भानुभक्तीय रामायण लेख्नुपूर्व मातृभाषामा कुनै त्यस्तो प्रख्यात् ग्रन्थको रचना भएको थिएन। सोह्रौं शताब्दीमा भारतमा कवि कुलशक्ति सन्तु तुलसीदासले रामचरितामानसको रचना गरे जस्तै त्यहीकार्य भानुभक्तले नेपाली भाषासाहित्यको क्षेत्रमा गरेका हुन्। यस अर्थमा पनि भानुभक्तलाई नेपालका सन्तु तुलसीदास भनिएको हो। उनका सरस सरल र मधुमय नेपाली काव्यवाणीअन्तर्गत रामभक्तिधारा परम्पराका कविमा पाइने युगबोध नै नेपाली काव्यजगत्मा भानुभक्तको अस्तित्व हो। साँघुरो कालखण्डमा भानुभक्तले नेपाली भाषा र साहित्यलाई जुन उच्चकोटीमा पुर्‍याए त्यति काम उनका समकालीन र पूर्ववर्तीले गर्न सकेनन्।

नेपाली साहित्यमा आदिकवि भानुभक्त आचार्य एक सहजकवि हुन्। उनले अनेकन रचनाहरू सिर्जना गरेर मातृभाषाको गहन र दायित्त्वपूर्ण सेवा प्रदान गरे। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहबाट स–साना राज्यहरूमा विशृंखलित अवस्थामा रहेको तत्कालीन नेपाललाई एकीकरण अभियानद्वारा एउटै सूत्रमा आबद्ध गरे। यही क्रममा भाषिक, सामाजिक र सांस्कृतिक एकीकरणको रूपमा नेपाली समाजलाई एउटै मालामा उन्ने कार्यमा भानुभक्तले समर्पण गरेको योगदान चिर उल्लेखनीय छ। तनहुँ चुँदीरम्घामा १८७१ साल असार २९ गते जन्मेका भानुभक्त साहित्यिक लोकमा प्रख्यात् छन्। कवि भानुभक्त र नेपाली भाषा एक अर्काेका पर्याय हुन्।

आदिमपुरुष भानुभक्तले नेपाली भाषामा अध्यात्मक रामायणको मौलिक अनुवादपश्चात् यस क्षेत्रमा नयाँ क्रान्तिको प्रारम्भमात्र भएन, राष्ट्रिय एकताको समेत खाका निर्माण भयो। नेपाली भाषा र नेपाली जातित्वको फैलावटसँगै आदिकविको विस्तार भए पनि भानुभक्तको योगदानलाई राष्ट्रले खासै कदर गर्न सकेन, तर उनको व्यक्तित्वकोे सिर्जनात्मक र रचनात्मक आवाजले समाजमा नैतिक बल पुर्‍याएको छ। नेपाली जातीय चेतनाका प्रतीकको रूपमा भानुभक्तका रामायण, भक्तमाला, वधूशिक्षा र प्रश्नोत्तरीजस्ता काव्यकृतिले जनजीवनमा नयाँ स्पन्दनको सञ्चार गरेको छ। 

पृथ्वीनारायण शाहले राजनीतिक रूपले एकीकरण गरेको आधुनिक नेपाललाई जातीय एवं सांस्कृतिक रूपमै संगठित गर्ने कार्य भानुभक्तको रामायणले गरेको छ। त्यसैले भानुभक्तले समाजमा पुर्‍याएको भाषिक, सांस्कृतिक र साहित्यिक योगदानको मूल्यांकन अपरिहार्य छ। नेपालको भू–राजनीतिक सीमाभन्दा पर नेपाली रहेका स्थानमा पनि नेपाली जातिलाई चिनाउन भानुभक्तले उल्लेखनीय भूमिका खेलेका थिए। साझा फूलबारीका नेपालका मालीमध्ये एक विशिष्ट माली हुन् भानुभक्त। २१० वर्षसम्म आइपुग्दा पनि झन् झन् विस्तार, विकसित र लोकप्रिय बन्दैछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.