वीरमा सखारै सेवा

वीरमा सखारै सेवा

काठमाडौं : मुलुककै जेठो वीर अस्पतालमा जँचाउन जाँदै हुनुहुन्छ भने तपाईंलाई अझै खुसीको कुरा छ । अब यहाँको सेवा पाउन १० बज्नु पर्दैन । ७ बजे नै टिकट काउन्टर खुल्छ, ८ बजेबाटै उपचार सेवा सुरु हुन्छ । आइतबार मात्र ३ हजार १ सय बिरामीले बिहान ८ बजेदेखि नै टिकट काटेका छन् । सोमबारदेखि बिहान ७ बजे नै टिकट काउन्टर खुल्ने बताउँछन् अस्पतालका निर्देशक डा. पौडेल । भन्छन्, ‘टिकट काट्नेदेखि जाँच र शल्यक्रिया सेवासमेत बिहानैदेखि सुरु गरिएको छ ।’

अनलाइनबाटै टिकट काट्न सकिने व्यवस्था गरे पनि सेवाग्राहीले उपयोग गर्न भने सकेनन् । दूरदराजका बिरामीले अनलाइनबाट टिकट काट्न नसकेपछि सेवा प्रवाहलाई बिहानैदेखि सुरु गरिएको डा. पौडेलले जानकारी दिए । ‘टिकटका लागि सेवाग्राहीहरू रातिबाटै लाइन लाग्न बाध्य भएको पायौं,’ निर्देशक डा. पौडेलले भने, ‘सेवालाई सहज बनाउन अनलाइनबाट टिकट काट्ने व्यवस्था गर्‍यौं । तर, उपचार गर्न आउनेहरू सूचनाप्रविधिमैत्री भएको पाइएन । बिरामीहरूको अनलाइन सेवामा पहुँच नभएपछि बिहानै टिकट वितरण सुुरु गरेका छौं ।’

साउन १ गतेदेखि बिरामीले बिहानै ७ बजेदेखि टिकट लिने व्यवस्था गरिएको हो । अपराह्न साढे २ बजेसम्म टिकट लिन पाइने छ । त्यस्तै स्वास्थ्यकर्मीले बिहान ९ बजेभन्दा अगावै जिम्मेवारी हस्तान्तरण गर्ने व्यवस्था गरिएको डा. पौडेलले जानकारी दिए । ‘स्वास्थ्यकर्मीले बिहानै जिम्मेवारी हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको छ । बिहान ८ बजेदेखि ९ बजेसम्म जिम्मेवारी हस्तान्तरण र क्लिनिकल अडिट हुने छ,’ उनले भने । 

शल्यक्रिया सेवा पनि बिहान ८ बजेदेखि नै सुरु गर्ने/गराउने भन्दै डा. पौडेलले सबै विभाग, युनिट, शाखा र वार्डमा परिपत्र गरेका छन् । बहिरंग सेवा बिहान ९ बजेभन्दा अघि नै सुचारु हुने जनाइएको छ । वीर अस्पतालमा कार्यरत चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मी र कर्मचारीका लागि ई–हाजिरी अनिवार्य गरिएको छ । ओपीडी सेवाका कर्मचारीहरूको हाजिरीका लागि बिहान सवा ८ बजे र अपराह्न पौने चारबजेको हाजिरीलाई मात्र मान्यता दिइने जनाइएको छ । 

प्रयोगशालाको सेवा पनि बिहान ७ बजेदेखि नै सुरु हुने छ । खाली पेटमा जाँच गर्नुपर्ने खालका बिरामीको सहजताका लागि बिहानैदेखि सेवा सुरु गरिएको छ । गत असार ८ गतेदेखि ७ सयवटा जनरल बेड अस्पतालमा निःशुल्क छ । यसअघि जनरल प्रतिबेड शुल्क दुई सय थियो । 

वीर अस्पतालमा सेवा प्रवाहलाई चुस्त बनाउन जनशक्ति पनि थपिँदैछ । अहिले ३ सय ३० जना चिकित्सकले सेवा दिइरहेका छन् । २ सय ४६ जना नर्सिङ जनशक्ति पनि थपिएको छ । नर्सिङ जनशक्ति थपिएसँगै शल्यक्रियाका लागि महिनौं कुर्नुपर्ने समस्या अन्त्य हुँदै जाने डा. पौडेलले बताए । शल्यक्रिया कक्षलाई विस्तार गरिने योजना छ । ‘शल्यक्रियाका लागि कुर्नुपर्ने समस्या कसरी घटाउने भन्नेमा केन्द्रित छौं,’ उनले भने, ‘बिरामीको चाप हरेक वर्ष दोब्बर संख्यामा बढेको छ । त्यसैले क्षमता बढाउन लागेको छौं ।’ शल्यक्रियाका लागि १२ वटा कक्ष रहेकोमा ६ वटा कक्ष थप गर्न लागिएको छ । 

टिकट काट्नेदेखि सबै सेवा बिहानैदेखि सुरु गरिएको छ। स्वास्थ्यकर्मीको जिम्मेवारी हस्तान्तरण पनि चाँडै मिलाइएको छ। बिहान ८ बजेदेखि नै क्लिनिकल अडिट हुन्छ। 
- डा. सन्तोस पौडेल, निर्देशक, वीर अस्पताल

तीन वर्षअघि आईसीयू बेडलाई ११ वटा थियो । अहिले ५५ वटा छन् । केही महिनाभित्रै १८ वटा आईसीयू बेड थपिने डा. पौडेलले जानकारी दिए । त्यस्तै एचडीयू पनि २५ बेड थप गर्न लागिएको छ । इमर्जेन्सीतर्फ पनि ३४ वटा बेड रहेकोमा १२ वटा थप गर्न लागिएको छ । ‘बिरामीको अवस्थाअनुसार वर्गीकरण गरेर उपचार व्यवस्था गरेका छौं,’ डा. पौडेलले भने, ‘इमर्जेन्सीमा एउटै बेडमा दुई /तीन जना राखेर उपचार गर्नुपर्ने बाध्यता हटाउन बेड थप्दैछौं ।’

यहाँ जलनको उपचार सेवासमेत सुरु गरिँदै छ । डा. पौडेलका अनुसार, सुरुमा १० वटा बेडबाट उपचार सुरु गर्ने प्रक्रिया अघि बढाइएको छ । निकट भविष्यमा २५ बेड पुर्‍याउने योजना रहेको छ । गत फागुन ५ गतेदेखि निर्देशकको जिम्मेवारीमा रहेका डा. पौडेलले १ सय ३५ वर्ष पुरानो अस्पतालबाट प्रवाह हुने सेवाप्रवाहलाई चुस्त पार्न सुरु गरिएको बताए । ‘विस्तारित सेवा प्रवाहमा लैजाने योजनामा छौं,’ निर्देशक डा. पौडेलले भने, ‘बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म सेवा प्रवाह गर्ने सोंच छ ।’ 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.