कांग्रेस केन्द्रीय समिति बैठक : भदौ १५ भित्र विभागहरूलाई पूर्णता दिने, दुईवटा बैठक उपत्यका बाहिर गर्ने
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकको एक वर्षमा बस्ने बैठकको मिति प्रस्ताव भएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा सुरू भएको बैठकमा महामन्त्री गगनकुमार थापाले एक वर्षमा बस्ने बैठकको मिति प्रस्ताव गरेका हुन्।
उनका अनुसार केन्द्रीय कार्य समितिको बैठक प्रत्येक दुई/दुई महिनामा दोस्रो महिनाको पहिलो हप्ता बस्नेछ। बैठक साउन, असोज, मंसिर, माघ, चैत्र र जेठको पहिलो हप्ता बस्नुपर्नेछ।
वर्षमा न्यूनतम दुई बैठक काठमाडौं उपत्यका बाहिर बस्नेछ। यस्तै नेता थापाले विधानको धारा ३७ (१) अनुसार केन्द्रीय कार्यसमिति सदस्य प्रमुख रहेको विभागहरूको गठन हुने प्रस्ताव गरेका छन्।
हालसम्म सूचना,सञ्चार तथा प्रचार विभाग बाहेक कुनै पनि विभाग गठन हुन सकेको छैन। कार्यतालिका अनुसार भदौ १५ गतेसम्म सबै विभागको गठन र पूर्णता दिइसक्नेछ। प्रत्येक विभागले आफ्नो कार्यक्षेत्र अन्तरगत कार्यक्रमहरू बनाइ कार्यतालिका सहितको वार्षिक योजना भदौ मसान्तभित्र केन्द्रीय कार्यसमितिमा पेश गर्नुपर्नेछ।
प्रत्येक विभागले नियमावलीको ४७(ख) बमोजिम वर्षभरीको गतिविधिको प्रगति विवरण छ/छ महिनामा महामन्त्रीमार्फत् केन्द्रीय कार्यसमितिमा बुझाउनुपर्नेछ।
प्रतिक्रिया दिनुहोस !