बर्दिया अस्पताललाई नगरको शव वाहन
गुलरिया : गुलरिया नगरपालिकाले बर्दिया अस्पताल गुलरियालाई शव वाहन प्रदान गरेको छ। अस्पतालमा ज्यान गुमाएका मानिसका शवहरू निश्चित गन्तव्यमा पुर्याउने अभिप्रायले शव वाहन उपलब्ध गराइएको हो।
गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले लुम्बिनी प्रदेश संसद मालती सोडारी सहितको सहभागितामा अस्पतालका प्रमुख डाक्टर सुभाष पाण्डेयलाई शव वाहन हस्तान्तरण गर्दै अस्पतालको प्रवर्द्धनमा नगरपालिकाले जस्तोसुकै सहयोग गर्न तत्पर रहेको बताए।
उनले शव वाहनसँगै अस्पताललाई ७ वटा वेड तथा लकर हस्तान्तरण गरेका छन्। नगरको सानो सहयोगले नगरवासी एवम् अस्पताललाई शव व्यवस्थापनमा सहज हुने नगरपालिकाको विश्वास रहेको उनको भनाइ छ।
नगरपालिकाले एउटा शव वाहन नगरपालिकाबाटै सञ्चालन गरी नगरबासीलाई निःशुल्क शव बोक्ने व्यवस्था गरेको छ। कर्मचारी व्यवस्थापन लगत्तै नगरको शव वाहन सञ्चालनमा ल्याइने बताइएको छ।
त्यस्तै खैरापुर स्वास्थ्य चौकीलाई बिरामी बोक्ने एम्बुलेन्स र गुलरिया नगरपालिका-४ लाई भारतीय राजदूतावासबाट प्राप्त भेन्टिलेटरसहितको एम्बुलेन्स उपलब्ध गराइएको नगरप्रमुख यादवले बताए।
बर्दियामा कही पनि शव वाहन नहुँदा स्थानीयले समस्या भोग्दै आएका थिए। दुई वटा शव वाहन भएपछि शव व्यवस्थापनमा सहज हुने विश्वास लिइएको छ।