सहायकको भरमा कार्यालय

सहायकको भरमा कार्यालय
सिरहाको लाहानस्थित भू तथा जलाधार व्यवस्थापन कार्यालयमा बुधबार लहान नगरपालिकाका उपमेयर रामचलितर महतो कार्यालय सहयोगीसँग जानकारी लिँदै । तस्बिर : शम्भु यादव
सुन्नुहोस्

सिरहा : बुधबार करिब ११:३० बजे लहान नगरपालिकाका उपमेयर रामचलितर महतो काम विशेषले भू तथा जलाधार व्यवस्थापन कार्यालय पुगे। त्यहाँ कार्यालय प्रमुखलाई खोजे, तर भेटेनन्। कार्यालय प्रमुखको च्याम्बर अगाडि ‘भित्र’ लेखिएको थियो। तर, कुर्सीमा कोही थिएन। अन्य कर्मचारीलाई खोजे। कोही पनि भेटेनन्। प्रमुख र अन्य कर्मचारी नभेटे पनि भूइँ तल्लामा दुईजना कार्यालय सहयोगी भेटिए। 

कार्यालय सहयोगी रमेशकुमार खंग र सोभितलाल खंगसँग ‘हाकिम साव’ कहाँ जानुभयो भनेर उपमेयर महतोले सोधे। उनीहरूले फोन नम्बर दिएर अरु थाहा नभएको सुनाए। फोनमा कार्यालय प्रमुख विपिन झासँग कुरा गर्दा समस्या सुन्नुको साटो उल्टै उनले अन्टसन्ट बोल्न थालेको उपमेयर महतोले सुनाए। 

‘लहान नगरपालिका–२३ लगायत केही वडामा धेरै बिघा खेतियोग्य जग्गा बलान नदीमा आएको बाढीले कटान भइरहेको छ। त्यसलाई रोक्न नगरपालिकाले पनि केही बजेट बिनियोजन गरी काम अगाडि बढाएको छ। प्रदेश सरकारसँग पनि सहयोग मागेका छौं,’ उपमेयर महतोले भने, ‘यस कार्यालयमा पटक–पटक नदी कटान रोक्न बजेट बिनियोजन गरी काम गराइदिनु भनेर आग्रह गर्न आएका थियौं ।’ आफू उपमेयरभन्दा पनि सेवाग्राही भएर कार्यालय पुग्दा कर्मचारीबिहीन अवस्थामा पाउँदा आश्चर्य लागेको उनले सुनाए। 

प्रदेश सरकारको मातहतमा भू तथा जलाधार व्यवस्थापन कार्यालय रहेकोले आफूले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई यहाँको अवस्थाका बारेमा जानकारी गराएको उपमेयर महतोले बताए। ‘एउटा जनप्रतिनिधिले स्थानीय गाउँबासीको समस्या लिएर कार्यालय पुग्दा त्यहाँका प्रमुखले व्यवहार राम्रो देखाउनु भएन,’ उपमेयर महतोले भने, ‘झन् सर्वसाधारण जनतालाई कस्तो व्यवहार भइरहेको होला ?’ भू तथा जलाधार कार्यालयले कटान भइरहेको ठाउँभन्दा अन्यत्र बजेट खर्च गरिरहेको उनको आरोप छ। 

कार्यालय प्रमुख र कर्मचारी नहुँदा आफूहरूले नै आएका कागजातहरू राखिरहेको कार्यालय सहयोगीहरूले सुनाए। आफू काम विशेषले जनकपुर गइरहेका बेला उपमेयर महतोको फोन आएको भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख विपिन झाले बताए। 

‘उपमेयरजीले फोन गर्नुभयो। मैले काम के हो सोधेँ। त्यो कुरै नसुनी कर्मचारी कहाँ गएको भनेर ठूलो स्वरमा बोल्नुभयो,’ कार्यालय प्रमुख झाले भने, ‘आर्थिक वर्ष सकिएर नयाँ सुरु भएकाले कमै उपस्थिति भएको छ। कामको चाप पनि छैन। भएका कर्मचारीहरू आफ्नो निजी काममा गएका छन्।’ 
१७ जना कर्मचारीमध्ये १२ जना छन्। जसमध्ये बुधबार कार्यालय सहायकबाहेक अरु नआएको र उपमेयरलाई नभेटेको उनले स्वीकारे।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.