जंगली च्याउको माग बढी

जंगली च्याउको माग बढी
फाइल तस्बिर।
सुन्नुहोस्

सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुमा वर्षायाम सुरु भएसँगै हाट बजारमा जंगली च्याउका व्यापारी बढ्ने गरेका छन्। आजभोलि सदरमुकाम सल्लेरीको साप्ताहिक हाटमा जंगली च्याउको माग पनि बढी हुने गरेको छ। च्याउका पारखीहरू यतिबेला खरिदकै लागि हाट बजारसम्म जाने गरेका छन् भने किसानहरूले बिक्रीबाट राम्रो आम्दानी गरिरहेका छन्। 

चारकोशे झाडीबाट हिंस्रक जीवजन्तुको भय नगरी खोजेर ल्याइने च्याउ बिक्रीबाट उनीहरूको गुजारासमेत चलिरहेको हुन्छ। सल्लेरीकी कल्याण श्रेष्ठ साप्ताहिक हाट नयाँ बजारमा च्याउ किन्दै थिइन्। वर्षात् सुरु भएसँगै जंगली च्याउ हाटमा पाइने भएकाले किन्नकै लागि हाटमा जाने सुनाउँछिन्। यहाँको जंगलमा रातो च्याउ, मार्ते च्याउ, पहेंलो च्याउ, थाक्रे च्याउ, गिद्धे च्याउ, खुट्टे च्याउलगायतका दर्जनौ प्रजातिका च्याउहरू पाइने गरेको किसानहरू सुनाउँछन्।

कतिपय उपभोक्ता जंगली च्याउको स्वाद भनेपछि हुरुक्कै हुन्छन्। जुन च्याउको पारखीमध्ये सल्लेरीका दुर्गाप्रसाद पुडासैनी पनि एक हुन्। उनले हरेक साता नयाँ बजारको हाटमा च्याउ खरिद गर्छन्। कोसेलीको रूपमा अन्य ठाउँमा समेत पठाउने गरेको उनी सुनाउँछन्। ‘यो च्याउको म खुबै पारखी हुँ, आज पनि मैले तीन हजारको रातो च्याउ किनें,’ उनले भने, ‘उमारेको च्याउहरू पनि पाइन्छ तर यो जंगलमा आफैं पलाउने च्याउ जति मिठो हुँदैन। यसको स्वाद भनेपछि हुरुक्कै हुने मेरा इष्टमित्रहरूलाई काठमाडौंसम्म पठाउछु।’ सोलुको च्याउ भनेपछि मन नपर्ने सायदै कमै होलान्। 

कतिपय विषालु जंगली च्याउले मानिसको ज्यानसमेत लिएका घटनाहरू छन्। केही दिन पहिले ओखलढुंगाको चिशंखुगढीमा विषालु च्याउँ खादा एक जनाको ज्यान गयो भने एक जना सिकिस्त बने। यस्तै बुटवलमा विषालु च्याउकै कारण ६ जना सिकिस्त भए। उपभोक्ताहरूमा पनि विषालु च्याउ कसरी चिन्ने भन्ने जिज्ञासा रहेको पाइन्छ। विगत ३५ वर्षदेखि जंगली च्याउ टिपेर उपभोग गर्दै आएका तामाखानीका सन्तबहादुर मगर भन्छन्, ‘मेरो च्याउ टिपेको लामो अनुभवमा यो विषालु च्याउको वरिपरि अन्य किराहरू हुँदैनन्, त्यो च्याउको विषले वरिपरिको झारपातदेखि किराहरूसमेत नष्ट गर्छ। अर्को कुरा हामीले च्याउ टिप्दा विष नभएकोमा टिपेपछि रंग केही परिवर्तन हुन्छ तर विषालु च्याउ त्यस्तो हुन्न।’

नेपालमा १२ सय ९१ प्रकारका जंगली च्याउ पाइने विभिन्न अध्ययनको दाबी छ। तीमध्ये ७४ प्रकारका च्याउमा औषधीय गुण हुन्छ। १ सय ५९ प्रजातिका च्याउ खानयोग्य हुन्छन् भने एक सय प्रजातिका च्याउ विषालु हुने विज्ञहरू बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.