गाँजा र शंकास्पद वस्तु बोकेर भारत छिर्दै गरेको कार सशस्त्रको नियन्त्रणमा
विराटनगर : गाँजा र शंकास्पद वस्तु बोकेर भारततिर जाँदै गरेको एउटा कारलाई सशस्त्र प्रहरीले मोरङको जहदा गाउँपालिका–१ नयाँ बस्तीबाट नियन्त्रणमा लिएको छ । भारततर्फ जाँदै गरेको गाँजासहितको कार सशस्त्रले नियन्त्रणमा लिएको भए पनि चालक भने फरार भएका छन् ।
सशस्त्र प्रहरीलाई देख्ना साथ कार छाडेर चालक फरार भएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीले बताए । उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल बीओपी (बोर्डर आउट पोस्ट) मधुमल्लाबाट खटिएको सई भोलाबहादुर कार्की नेतृत्वको मोटरसाइकल गस्ती टोलीले बिहीबार राति करिब ८ः५० बजेतिर कुलरिया नाका भएर भारततर्फ जाँदै गरेको बा १२ च ७५५२ नम्बरको कारलाई नियन्त्रणमा लिएको हो ।
कार चेकजाँचका क्रममा सिटमुनि लुकाएर राखिएको १९ किलो ३२० ग्राम गाँजा बरामद भएको भण्डारीको भनाइ छ । साथै, कागजमा प्याक गरिएको पहेंलो रङको ६० ग्राम धुलो समेत फेला परेको छ । उक्त पदार्थको प्रकृति यकिन हुन बाँकी रहेको जानकारी एसपी भण्डारीले दिए । उनका अनुसार बरामद गाँजा, शंकास्पद धुलो र कारलाई थप अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।
फरार चालकको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । घटनाको बारेमा इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर प्रवीण घिमिरे नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ । गाँजा र शंकास्पद वस्तु बोकेर भारततिर जाँदै गरेको अवस्थामा कार नियन्त्रणमा लिइएको जानकारी सशस्त्रले दिएको छ।
प्रतिक्रिया दिनुहोस !