पाँचथरको बाढी–पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन

शिविरमा दुई सय ८३ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको आईएनएफका प्रतिनीधि ताराहाङ तावाले जानकारी दिए । ‘स्वास्थ्य परीक्षण गराएका बिरामीहरुलाई निःशूल्क औषधी समेत वितरण गरिएको छ,’ तावाले भने ‘प्रकोपबाट धनजनको क्षतिसँगै मानिसहरुको स्वास्थ्यमा समस्या हुने भएकाले प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।’
शिविरमा आईएनफद्वारा पोखरामा सञ्चालित हरियोखर्क अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीसहित पाँचथर अस्पतालका एमडीजिपी डाक्टर भाष्कर झा र डाक्टर सारन्स घिमिरेले बिरामीको स्वास्थ्य जाँच गरेका हुन् । च्याङथापु, ओयाम, फलैँचा, बेतेनी, बर्मे, समरजुङ लगायतका मानिसहरुले शिविरमा स्वास्थ्य जाँच गराएका हुन् । अधिकांश मानिहरुमा सुगर र उच्च रक्तचापको समस्या देखिएको आईएनएफका कार्यक्रम अधिकृत ज्योती क्षेत्रीले जानकारी दिए ।
गाँउपालिका उपाध्यक्ष बावा मेन्याङ्बोले प्रकोप प्रभावितहरुका लागि स्वास्थ्य शिविर निकै प्रभावकारी भएक बताइन् । ‘प्रकोप प्रभावितहरुका लागि प्रारम्भिक चरणको राहत प्रदान गर्ने काममा राज्यको ध्यान पुगेको देखिन्छ,’ मेन्याङ्बोले भनिन् ‘तर, प्रभावित क्षेत्रका मनिसहरुको स्वास्थ्यप्रति राज्यको ध्यान पुगेको थिएन । यस्तो बेला आईएनफले सञ्चालन गरेको शिविर निकै प्रभावकारी बनेको छ ।’
विपत् पूर्वतयारी सामग्री हस्तान्तरण
शिविर सञ्चालनको अवसर पारेर आईएनएफले याङवरक गाँउपालिकामा विपत् पूर्वतयारी सामग्री समेत वितरण गरेको छ । प्रत्येक वडा, स्वास्थ्य चौकी र प्रहरी चौकीलाई उक्त सामग्री प्रदान गरिएको तावाले जानकारी दिए ।
त्रिपाल १० थान, स्ट्रेचर २५ थान, फस्ट एड बक्स २० सेट, हेल्मेट ५० थान, कृप ब्यान्डेज १० थान, फायर स्ट्रेङ्गीचर १२ वटा, पञ्जा सय थान, सिटी ४० वटा र मेडिकल टेन्ट एक थान प्रदान गरिएको हो ।
प्रतिक्रिया दिनुहोस !
