सार्वजनिक सुनुवाई नगरी काम थालिएपछि स्थानीयको विरोध

पिके हाइड्रोको जालझेल : प्रभावित क्षेत्रका बासिन्दालाई थाहै नदिई आईई तयार

पिके हाइड्रोको जालझेल : प्रभावित क्षेत्रका बासिन्दालाई थाहै नदिई आईई तयार
पिके हाइड्रो निर्माण हुने लिखु नदीको किनारा।

ओखलढुंगा : पिके हाइड्रोले खिजीदेम्बाका स्थानीयलाई झुक्याएर काम थालेको छ। बृहत परियोजना प्रतिवेदन र आईए पास गर्नु अगाडि प्रभावित क्षेत्रमा गर्नुपर्ने सार्वजनिक सुनुवाई र सुझाव संकलन कार्यको स्थानीयलाई थाहै नदिइ कागजात मिलाएर पास गरेको पाइएको छ। डीपीआर स्वीकृत भएर काम थालेपछि मात्रै प्रभावित क्षेत्रका बासिन्दाले थाहा पाएका थिए। अहिले स्थानीयले निरन्तर खबरदारी गरेपछि काम रोकिएको छ।  

मुख्य प्रभावित क्षेत्रका बासिन्दालाई बेवास्ता गर्दै पिके जलविद्युत कम्पनीले काम शुरु गरेपछि चौतर्फीविरोध भएको हो छ। ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका र रामेछापको उमाकुण्ड गाउँपालिकाको बीचमा रहेको लिखु नदीमा ३० मेगावाटको विद्युत आयोजना बन्न लागेको हो। तर सुरुङमार्ग माथि पर्ने खिजिदेम्बा गाउँपालिका- ४ खिजिकातीलाई नै प्रभावित क्षेत्रमा नपारी काम शुरु गर्न लागेपछि स्थानीयले विरोध गरेका हुन्।

उनीहरुले स्थानीयको माग पूरा नगरेसम्म काम गर्न नदिने जनाएका छन्। आयोजनाले स्थानीयसँग उचित सल्लाह सुझाव संकलन नगरि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आईई) तयार पारेको छ। उक्त आईई प्रतिवेदनमा करिब ६ किलोमिटर लामो सुरुङ माथी पर्ने वडा नं. ४ खिजिकाती नै प्रभावित क्षेत्रमा समेटिएको छैन।

मुख्य प्रभावित क्षेत्रको रुपमा ७, ४ र ३ नं. वडा हुनुपर्नेमा ५ र ६ नं. वडा प्रभावित क्षेत्रमा रहेको प्रतिवेदनमा उल्लेख छ। वडा नं. ७ मा आयोजनाको इन्टेक (ड्यामसाईट) रहने र वडा नं. ३ मा टर्बाइन (पावरहाउस) रहने भनिएको छ। तर त्यसबीचमा पर्ने करिब १ हजार ५ सय घरधुरी रहेको वडालाई प्रभावितमा नराखिएपछि स्थानीय आक्रोशित बनेका हुन्।

‘स्थानीयलाई आयोजनाको बारेमा राम्रोसँग जानकारी नदिई, कसैले सोधेमा हाइड्रो बन्ने हो विकास हुन्छ भन्दै गुपचुप राखेर यो आयोजनाको काम थालियो।’ स्थानीय किशोर सुनुवारले भने, ‘त्यसैले यदि सम्पूर्ण प्रक्रिया पुरा नगरि काम शुरु गर्ने हो भने हामी काम गर्न दिँदैनौ। त्यसका लागि जुनसुकै ठाउँमा जान हामी तयार छौँ।’

प्रतिवेदन तयारीको क्रममा र तयार भइसकेपछि सो प्रतिवेदन प्रभावित क्षेत्रमा सार्वजनिक सुनुवाई गरी सुझाव प्रतिक्रिया लिएपछि मात्र पूर्वाधार निर्माणको काम थाल्नुपर्ने हुन्छ। तर हालसम्म सार्वजनिक सुनुवाई नगरि काम थालिएको स्थानीयको भनाई छ।

खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले आवश्यक प्रक्रिया पूरा गरि आयोजनाले स्थानीयको माग र कानुन अनुसार काम गर्नुपर्ने बताए। उनले पहिले के भएको, हो, अहिले कसरी काम गर्न खोजेका छन्, यसबारे खोजि गर्ने पनि बताए। 

आयोजनाले प्रारम्भिक काम गर्दा गाउँपालिकाका अध्यक्ष बेदबहादुर रोका थिए। उनले आफ्नो पालामा सार्वजनिक सुनुवाई नगरिएको बताए। त्यतिखेर आयोजना निर्माणका लागि निर्माणस्थल क्षेत्रमा जग्गा लिने प्रक्रियामा मात्र काम गरिएको बताए। ‘त्यतिखेर भर्खरै मात्र आयोजनाको प्रारम्भिक काम थालिएको थियो।’ रोकाले भने, ‘प्रभावित क्षेत्र कुन कुन पर्ने, आयोजनाको जिम्मेवारी के रहने, स्थानीयले पाउने सुविधा लगायतको विषय आईईई बनिसकेपछि सार्वजनिक सुनुवाई गरी छलफल गर्नुपर्ने हो। त्यो भएको थाहा छैन।’

खिजिदेम्बा गाउँपालिका- ४ का पूर्व वडाअध्यक्ष कमल न्यौपानेले आफू वडाअध्यक्ष भएको बखत २०७४ सालमा आयोजना निर्माणका लागि सूचना टाँस गरिएको, सूचना टाँस गरिएको बारेमा मुचुल्का बनाउने काम र सामान्य सुझाव दिने काम गरेको बताए। ‘विस्तृत छलफल र सार्वजनिक सुनुवाई भएको छैन।’ न्यौपानेले भने, ‘अहिले आएर आयोजनाले कसरी एक्कासी खिजिकातीलाई प्रभावित क्षेत्रमा समेटेन भन्नेमा म आँफै छक्क परेको छु।’

तर कम्पनीले तयार गरेको प्रतिवेदनमा आईईईका लागि खिजिदेम्बाको वडा नं. ७, ४ र ३ मा छलफल गरी सुझाव संकलन गरेको उल्लेख छ। त्यसमा वडाअध्यक्षहरु समेतको हस्ताक्षर छ। सुझाव संकलनका लागि गरिएको हस्ताक्षरहरु वडाअध्यक्ष र केही व्यक्तिबाहेक सबै किर्ते रहेको खिजिदेम्बा ७ रावादोलुका टेकबहादुर खड्काले आरोप लगाए।

आयोजनाले भने सबै प्रक्रिया पूरा गरेर काम थालेपनि स्थानीयले अनावश्यक दुख दिन खोजेको आरोप लगाएको छ। पिके जलविद्युत आयोजनाका साइट इन्चार्ज लिलाबहादुर सुनुवारले कम्पनीले गर्ने सबै प्रक्रिया पूरा गरि आईईई पास भइसकेको प्रतिक्रिया दिए। ‘उर्जा र वातावरण मन्त्रालयले आईईई पास गरिसक्यो। अब हामी धमाधम काम थाल्ने प्रक्रियामा छौ’ सुनुवारले भने, ‘खिजिदेम्बा ४ लाई प्रभावित क्षेत्रमा नराखिएको भनिएको झुटो हो। हामीले प्रभावित क्षेत्रले पाउने सबै सुविधा कानुन बमोजिम उपलब्ध गराउछौं।’ उनले बृहत रुपमा सार्वजनिक सुनुवाई नगरेको तर प्रभावित क्षेत्रबाट सुझाव संकलन गरेको बताए।

पिके जलविद्युत आयोजनाको संचालक मध्येका भूपेन्द्र बस्नेतले मुख्य प्रभावित क्षेत्रलाई छुटाएर बेवास्ता गर्ने काम नभएको र त्यो प्राविधिक त्रुटी मात्र रहेको बताए। उनका अनुसार प्रभावित क्षेत्रको रुपमा रामेछापको उमाकुण्ड गाउँपालिकाको ३, ४, ५ र खिजिदेम्बा गाउँपालिकाको ३, ४ र ७ नं. वडा रहेका छन्। तर कम्पनीले आईईई बनाउन जिम्मा दिएको कन्सल्टेन्सीले प्रिन्ट मिस्टेक गरेको बस्नेतले बताए। ‘सबै कुरा त कम्पनीको बोर्डलाई थाहा होला तर मैले थाहा पाएसम्म हामीले प्रभावित क्षेत्रको रुपमा खिजिदेम्बा ४ लाई छुटाएका हैनौं। सार्वजनिक सुनुवाई पनि भएको छैन।’ बस्नेतले भने, ‘अब वर्षा सकिने बित्तिकै सार्वजनिक सुनुवाई गरी आवश्यक प्रतिवेदन वडा, पालिका, जिल्ला समन्वय समिति र जिल्ला प्रशासनमा बुझाएपछि मात्र काम थाल्ने तयारी छ।’ 
हाल इन्टेकदेखि पावरहाउससम्म जाने बाटो रामेछापतर्फ केही ट्रयाक्क खन्ने काम मात्र भएको बस्नेतले बताए। कम्पनीका अध्यक्ष राजेन्द्र तिवारीले भने सबै कुरा आफूलाई थाहा नभएकोले संचालक समितिका सदस्यहरुसँग बुझेर लिखित रुपमा जानकारी दिने बताए। पिके जलविद्युत आयोजना सम्पन्न गर्न पाँच अर्ब १९ करोड लगानी लाग्ने छ। जसमध्ये सामाजिक उत्तरदायित्वका लागि १.२ प्रतिशत छुट्याइएको कम्पनीले जनाए पनि सो को खर्च कहाँ कसरी भइरहेको छ, खुलाएको छैन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.