बैतडीको सिगासमा पानी नपाएर तीन दिन भोकै

बैतडीको सिगासमा पानी नपाएर तीन दिन भोकै
कौसाडी टोलका दलित परिवार वर्षाको समयमा छतबाट खस्ने पानी जम्मा गर्न राखिएका भाँडाकुडा। तस्बिरः कृष्ण बिष्ट

बैतडी : गत जेठ ९ गते मध्यराति । भीम नेपालीकी नातनी ५ वर्षीय शान्तीले रुँदै पानी मागिन् । बेलुका भोकै सुतेकी शान्ती मध्यरातमा रुँदै पानी माग्न थालेपछि  भीम आत्तिए । राति झरो (खोटो भएको सल्लाको दाउरा) बालेर छिमेकीको घर गएर लोटामा पानी मागेर खुवाए । 

‘दिउँसो न्वालो (पानीको खाडल) मा पानी भर्नै पाइएन, केही भाँडाकुँडा रित्याएर पानीको जोहो गरी दिउँसोको खाना पकाएँ तर, राति भने खान समेत पानी नभएपछि भोकै सुत्यौँ,' भीमले भने । 

बैतडीको सिगास गाउँपालिका–६ कौसाडी टोलका भीम नेपाली गत जेठ ९ गते सधैजसो गरी बिहानै न्वालो गएका थिए। तर, न्वालोमा पालो नआउँदै पानी सकिएपछि रित्तो गाग्रो फर्किए।  त्यो रात भोकै सुते।

उनले जेठ ९ गते मात्रै होइन जेठ १४ र २१ गते समेत पानी नपाएरै भोकै बस्नु परेको दुखेसो सुनाए । ‘तीन दिन पानी नपाएरै भोकै सुत्न बाध्य भयौँ, खानेपानीको साह्रै समस्या छ,’उनले भने । आजभोलि पनि वर्षा भएको बेला आकाशे पानीको भरमा गुजारा चलाउने गरेको उनले बताए ।

‘कुनै पानीको मुहान छैन,पानी परेको समयमा घरको छतबाट झरेको पानी भरेर गुजारा चलाउछौँ,’उनले भने ।  १२ दलित परिवारको बसाइ रहेको कौसाडी टोलमा खानेपानी चरम समस्या छ । खानेपानीको सुविधा नभएका कारण जनजीवन नै प्रभावित बनेको छ ।

‘करिब एक घण्टाको दुरीमा रहेको न्वालोमा पानी भर्न लाइन लाग्नुपर्छ,कहिलेकाहीँ पालो नपुग्दै पानी सकिन्छ,खान नपुग्ने पानीले कसरी करेसाबारी गर्नु, कसरी पशुचौपाया पाल्नु,'उनले भने । खानकै लागि पानी भए अरु गुजारा गरिहाल्थ्यौँ,’अर्का स्थानीय लक्ष्मे मेजारले भने । 

null

सिगास गाउँपालिका–६ कौसाडी टोलका दलीत परिवारको सामूहिक । तस्बिर : कृष्ण बिष्ट

लुगा सिउने र फलामको काम गर्ने उक्त टोलका दलितहरु खलो (गैह्र दलितको काम गरिदिएवाफत मागिने अन्न) मागेरै गुजारा गर्न गरेका छन् । मागेर परिवार पाल्दै आएका दलित परिवारले पानीकै अभावमा केहिलेकाही भोकै बस्नुपर्ने बाध्यता छ। 

खानेपानीको समस्याका बारेमा सबै निकायलाई जानकारी गराएपनि कुनै सुनुवाइ नभएको स्थानीयहरूको भनाइ छ । दलित बस्तीसँगै जोडिएका ठाटीकेदार, लदौलालगायतका टोलमा पनि खानेपानीको समस्या रहेको अर्का स्थानीय संग्राम सिंह धामीले बताए ।

‘दलित टोलमा धेरै समस्या छ,अन्य टोलमा पनि खानेपानीको समस्या नै हो,’उनले भने । वर्षादको समयमा नजिकै पानीका मुल फुट्ने भएकाले समस्या नहुने गरे पनि माघदेखि असारसम्म पानीको साह्रै समस्या हुने गरेको उनले सुनाए । 

वडा अध्यक्ष तेजबहादुर साउँदले वडा नं ६ मा खानेपानी  योजना निर्माणका लागि बजेट बिनियोजन नगरेको बताए । ‘यस वर्ष खानेपानी निर्माणका लागि बजेट बिनियोजन गरिएन, सडक विद्युत र स्वास्थ्य क्षेत्रका केहि संरचना निर्माणका लागि मात्रै छ,’अध्यक्ष साउँदले भने ।

गाउँपालिकाको केही शीर्षक र खानेपानी सरसफाइ डिभिजनसँग आवश्यक समन्वयमा पाइप समेत खरिद गर्न सकियो भने श्रमदानबाट खानेपानीको व्यवस्थापन गर्न सकिने अध्यक्ष साउँदले बताए । यता खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख कृष्णबहादुर बोगटीले पाइप वितरण गर्दा समस्याको समाधान हुने अवस्था आए उक्त टोलमा पाइपको व्यवस्था गर्न सकिने उनले बताए । 

‘गाउँपालिकाबाट योजना जानु पथ्र्यो,यहाँबाट प्रदेशका योजना कार्यान्वयन हुन्छन्,पाइप वितरण गरेर समाधान हुने भएन,त्यसको व्यवस्थापन गर्न सक्छौँ,'उनले भने । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.