एकद्वार संकट व्यवस्थापन केन्द्रमा आउने हिंसा पीडितको संख्यामा वृद्धि

एकद्वार संकट व्यवस्थापन केन्द्रमा आउने हिंसा पीडितको संख्यामा वृद्धि
सुन्नुहोस्

बागलुङ : बागलुङमा रहेको लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्रमा पीडितहरुलाई दिइने निःशुल्क सेवा लिनेको संख्यामा वृद्धि भएको छ।

पछिल्लो १२ वर्षको अवधिमा साविकको धौलागिरीका तीन जिल्लाका एक हजार २८ जनाले एकद्वार संकट व्यवस्थापन केन्द्रबाट सेवा लिएका छन्। यो अवधिमा १ सय २१ जना पुरुष हिंसाको शिकार भएका छन्। 

बाँकी सबै महिला रहेका केन्द्र प्रमुख (फोकल पर्सन) देवी भट्टराईले जानकारी दिइन्। 

धौलागिरि अस्पतालमा रहेको अस्पतालमा आधारित लैंगिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्रले बागलुङ, पर्वत र म्याग्दीका हिंसा पीडितहरुका लागि सेवा उपलब्ध गराएको हो। घरेलु हिंसा, यौन हिंसा र मानसिक समस्या भएकाहरुलाई केन्द्रमा राखेर उपचार गराउने गरिन्छ।

केन्द्रमा गतआर्थिक वर्ष २०७९/०८० मा १ सय २२ जना पीडितहरुले सेवा लिएका प्रमुख भट्टराईले बताइन्। उनले पछिल्लो चार आर्थिक वर्षमा हिंसा पीडितहरुको संख्या बढिरहेको बताइन्। 

फोकल पर्सन भट्टराईका अनुसार गतआर्थिक वर्षमा ९ जना पीडित पुरुषहरुले सेवा लिएकोमा यसवर्ष वृद्धि भइ २० पुरुषले सेवा लिएका छन्।

केन्द्रमा आउने पीडितलाई मनोसामाजिक विमर्श मार्फत शारिरीक र मानसिक उपचार गरिन्छ। एक सातासम्म राखेर गरिने उपचारपछि परिवारका सदस्यलाई समेत सामाजिक विमर्श गराएपछि पुनस्थापना गर्ने गरिएको भट्टराईले जानकारी दिइन्। उनले यसरी सेवा लिनेमा गत आ.व.मा बागलुङ  नगरपालिकाका ५३ जना, जैमिनी नगरपालिकाका १२ जना, काठेखोला गाउँपालिकाका १३ जना, गलकोट नगरपालिकाका ९ जना, ढोरपाटन नगररपालिकाका ४ जना, बडिगाड गाउँपालिकाका २ जना, तमानखोला गाउँपालिकाका १ जना, निसीखोला गाउँपालिकाका ४ जना, बुर्तिबाङका ४ जना, पर्वतका १४ जना, म्याग्दीका ३ जना र अन्य २ जनाले सेवा लिएको बताइन्।

केन्द्रबाट सेवा लिनेमा १९ वर्षदेखि ५९ वर्षसम्मका महिला र पुरषहरु बढी रहेका छन्। गतआ.व.मा १९–५९ वर्ष उमेर समुहका ७६ जना, १५–१८ वर्षसम्मका २३ जना, १४ वर्षसम्मका १६ जना, ५०–६० वर्षसम्मका ५ जना र ६० वर्ष माथिका २ जनाले परामर्श लिएका छन्। बागलुङको डाटाका अनुसार दलित जातजातीमा धेरै हिंसा हुने देखिएको छ। 

तथ्यांक अनुसार दलित ६४ जना, ब्राह्मण-क्षत्री ३६ जना, जनजाति २० जना र मधेसी २ जना हिंसा पीडित रहेका छन्। केन्द्रमा सबैभन्दा धेरै मानसिक यातनाका पीडितहरुले सेवा लिएको प्रमुख भट्टराईले बताइन्। उनले केन्द्रबाट मानसिक यातनाका ४० जना, घरेलु हिंसाका ३२ जना, जबरजस्ती करणीका २८ जना, करणी उद्योग १२ जना र शारीरिक हिंसाका १० जना विरामीले सेवा लिएको बताइन्।

प्रमुख भट्टराईले पीडितहरु प्रहरी, स्वास्थ्य संस्था, अल्पकालीनबाट र आफैं पनि केन्द्रमा परामर्श र उपचारको लागि आउने गरेको बताइन्। उनले गतआवमा सबैभन्दा बढी स्वास्थ्य संस्थाबाट सम्प्रेषण आएका ६५ जना, प्रहरीबाट सम्प्रेषण भइ आएका ४८ जना, आफैं आएका ६ जना र अल्पकालीनबाट ३ जना आएका बताइन्। 

उनले केन्द्रमा आएका पीडितहरुलाई उपचार र परामर्श दिने गरेको बताइन्। ‘यहाँ आउँदा धेरै जसो पीडितहरु सुरुमा खुल्नु हुँदैन’, भट्टराईले भनिन्,‘हामीहरुको परामर्श र उपचारपछि विस्तारै खुल्दै जाँदा के कारण रहेको पत्ता लाग्ने गरेको छ।’

बागलुङमा लैङ्गिक हिंसाको संख्या पहिलेदेखि नै बढिरहेको र अहिले उपचार गराउनेहरुको संख्यामा वृद्धि भएको नभइ खुल्नेहरुको संख्या बढ्दै गएको प्रमुख भट्टराइले बताइन्। उनले जिल्लाका सबै पालिकाका उपप्रमुख र उपाध्यक्षहरुलाई एकद्वार संकट व्यवस्थापन केन्द्रको कामको बारेमा जानकारी गराइएको र हिंसा पीडितहरुलाई उपचार र परामर्शको लागि पठाउन सक्ने बताइन्। उनले अझै  जनचेतनाको अभावले धेरै जसो पीडितहरु नखुल्ने गरेको बताइन्।

प्रमुख भट्टराईले हिंसा पीडित पुरुषहरु श्रीमतीबाट कुटपिट भएका र झैझगडा हुँदा पोइजन खाने रहेको उल्लेख गरिन्। हिंसाबाट पीडितहरुका लागि स्वास्थ्योपचारदेखि न्यायिक उपचारसम्म केन्द्रले सुविधा उपलव्ध गराउँदै आएको छ। ‘हामी सबै सेवा दिन्छौं, मनोपरामर्श, उपचारदेखि न्यायिक उपचारसम्म तर हिंसा पीडितहरु अझै पनि लुकेर बस्नुभएको छ,’ भट्टराईने भनिन्,‘पहिलेको तुलनामा अहिले केही संख्या बढेको छ।’

केन्द्रले हिंसा पीडितहरुलाई २४ सै घण्टा  सेवा प्रवाह गर्दै आएको छ। अस्पतालका मेडिकल सुपरिटेण्डण्ट डाक्टर रवि रंजन प्रधानले अस्पतालमा लैङ्गिक हिंसा सम्बन्धि एकद्वारा संकट व्यवस्थापन केन्द्र रहेको भन्ने प्रचारप्रसार र कुनै पनि हिंसा लुकाएर बस्न नहुने भन्ने जनचेतनाले पीडितहरुको संख्यामा वृद्धि आएको बताए।

केन्द्रले लैङ्गिक हिंसामा परेका पीडितहरुलाई मनोपरामर्श दिनुका साथै निःशुल्क उपचार गर्ने गरेको छ। उनीहरुलाई उपचार गराउन आउँदा यातायात खर्च र जिल्लामा उपचार सम्भव नभएमा रिफर गर्ने गरिएको केन्द्रले जानकारी दियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.