ललिता निवास जग्गा प्रकरण : पूर्वमन्त्री गच्छदारसहित चारजनाविरुद्ध पक्राउ पुर्जी
काठमाडौं : जिल्ला अदालत काठमाडौंले ललिता निवास जग्गा प्रकरणमा मुछिएका तीन पूर्वमन्त्रीविरुद्ध पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ।
पूर्वउपप्रधान तथा भौतिक योजना मन्त्री विजयकुमार गच्छदार,पूर्वराज्यमन्त्री सञ्जयकुमार साह, पूर्व भूमिसुधार मन्त्री डम्बरबहादुर श्रेष्ठ र पूर्व भूमिसुधार मन्त्री चन्द्रदेव जोशी विरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ अनुमति दिएको हो।
तत्कालीन उपप्रधान एवं भौतिक योजनामन्त्री गच्छदार,भूमिसुधारमन्त्रीद्वय श्रेष्ठ र जोशीसहित १ सय ७५ जनाविरुद्ध अख्तियारले २०७६ माघ २२ मा अभियोगपत्र दर्ता गरेको थियो।
जसमा १ सय १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा र ६५ जनालाई जग्गा फिर्ता गर्ने प्रयोजनमा मुद्दा हालेको थियो। सोही प्रकरणमा पक्राउ परेका गच्छदार १० लाख धरौटी बुझाएर छुटेका थिए।
आइतबार सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा सघाउ पुर्याउने मन्त्रिपरिषदका सदस्यहरूलाई अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको थियो। आदेश आएकै दिन जिल्ला अदालतले तीन पूर्वमन्त्री गच्छादार,साह, श्रेष्ठ र जोशीलाई पक्राउ गरी थप अनुसन्धान गर्न अनुमति दिएको हो।
२०४९ सालमा राणा परिवार,कर्मचारीको मिलेमतोमा ११२ रोपनी हडपेको अनुसन्धानबाट खुलेको छ। ललिता निवास प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) अनुसन्धान गरिरहेको छ।