दुर्गममा दिउँसो १२ बजेपछि उडान नहुँदा यात्रुलाई समस्या
मुगु : मुग कार्मारोङ गाउँपालिका पुलु स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी हिमा बुढाको सात महिनाको गर्भ छ। उनलाई नाकभित्र मासु पलाएका कारण सास फेर्न पनि समस्या छ।
तर, उनलाई उपचारका लागि नेपालगन्ज पुग्न निकै सकस परेको छ। उनी नेपालगन्ज जानका लागि विमानस्थल पुगेको ६ दिन भयो।
उनलाई गाउँपालिकाले २० दिनको विदा दिएको छ। पाँच दिन रारा विमानस्थलमा सकियो। जहाँजको पर्खाइमा बस्दा बस्दै उपचार गर्न नपाई सबै बिदा सकिने चिन्ता लागेको बुढाले बताइन्।
छाँयानाथ रारा नगरपालिका-४ का धिरेन्द्रबहादुर भामलाई पनि साउन २३ गते काठमाडौं पुग्नु छ। अन्तर्वार्ताका लागि मंगलबार काठमाडौं पुग्नुपर्नेमा उनी जान पाएनन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्गममा दिउँसो १२ बजेपछि उडानमा रोक लगाउँदा यात्रु मर्कामा परेका छन्। वर्षातका समयमा हवाई दुर्घटना हुन सक्ने भन्दै प्राधिकरणले साउन १४ गतेबाट उडानमा रोक लगाएको थियो। जसका कारण नेपालगन्जबाट दैनिक उडान हुने डोल्पा, सिमिकोट, रारा, बाजुरा लगायतका जिल्लाका यात्रु मारमा परेका छन्।
मुगुको रारा विमानस्थलमा हवाई उडान नभएको पाँच दिन भयो। हवाई यात्राबाट नेपालगन्ज पुग्ने यात्रुहरू हवाई जहाजको पर्खाइमा ४३ जना यात्रु ताल्चामा बसेको ६ दिन भएको छ।
बिहान मौसम नखुल्ने र मौसम खुल्ने समयमा विमान सञ्चालन नहुने भएपछि यात्रुलाई समस्या भएको हो। प्राधिकरणको निर्णयले बिरामी र यात्रुहरू मर्कामा परेका हेमन रारा ट्राभल्सका बजार व्यवस्थापक सोभबहादुर भामले बताए।
निर्णय हुनु भन्दा पहिले रारा विमानस्थलमा नेपालगन्जबाट सिता, समिट, तारा एयरलाइन्सले दैनिक दुईवटासम्म उडान भर्दै आएका थिए। नेपाल एयरलाइन्सले हप्तामा दुई दिन उडान गर्ने गरेको थियो। छ दिनदेखि रारा विमानस्थलमा कुनै जहाजले पनि उडान भरेको छैन।
यहाँका लागि यो निर्णय उपयुक्त नभएको रारा नागरिक उड्ययन कार्यालय ताल्चाका प्रमुख रोमान भट्टराईले बताए । लामो समय जहाज उडान नहुँदा सडक यातायातमार्फत आफ्नो गन्तव्यमा पुग्ने भए पनि वर्षातको समय पहिरोले ठाउँ ठाउँमा अवरुद्ध हुने भएका कारणले सबै जना जहाँजको पर्खामा हुन्छन्।
कुनै बिरामीलाई तत्कालै उद्धार गरेर हेलिकोप्टर वा जहाँजबाट सुविधा सम्पन्न स्थान लैजानु पर्नेमा यो निर्णयले सर्वसाधारण मर्कामा परेका छाँयानाथ रारा-१० का दिर्ग बुढाले बताए।