शिक्षाको गुणस्तर सुधार गर्न योजना
सन्धिखर्क : अर्घाखाँचीको मालारानी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि योजना निर्माण गरेको छ। पालिकाले प्रधानाध्यापक, पालिकाका कर्मचारी एवम् जनप्रतिनिधिसँग छलफल गरेर योजना निर्माण गरेको हो।
वडास्तरमा रहेको शिक्षा समितिले कार्यतालिका बनाएर काम गर्ने गरी निर्णय भएको पालिकाका सामाजिक विकास समितिका संयोजक तिलक मिश्रले बताए।
भदौको पहिलो हप्ताभित्र कक्षा ५ को उपलब्धी परिक्षण, वडा शिक्षा समितिले केन्द्र निर्धारण र परीक्षा व्यवस्थापन गर्ने, प्रश्न पत्र कार्यालयले निर्माण गर्ने र विद्यालयको प्रथम त्रैमासिक परीक्षाको नतिजा विश्लेषण, प्रधानाध्यापकको बैठक र अभिभावक बीच अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरिएको उनको भनाइ छ।
पालिकाले स्थानीय पाठ्यक्रमको स्रोत सामग्री निर्माण गर्न पनि कार्यदल गठन गरेको छ।