९ वर्षदेखि ढलेको सीमा स्तम्भ कसैले उठाएनन्

९ वर्षदेखि ढलेको सीमा स्तम्भ कसैले उठाएनन्
नाङ्गपाला नाका सोलुखुम्बुमा विगत ९ वर्षदेखि ढलेको नेपालतर्फको सीमा स्तम्भ। तस्बिर : रामललन यादव
सुन्नुहोस्

सीमा सुरक्षाको विषयमा समयसमयमा चीनको वैदेशिक मामिला प्रमुखसँग पनि स्न्याप च्याटमार्फत संवाद हुने गरेको छ।

सोलुखुम्बु : नेपाल र तिब्बतको नाका सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका– ५ स्थित नाङ्गपालामा रहेको नेपालतर्फको सीमा स्तम्भ ढलेको ९ वर्ष भयो। यतिका समय भइसक्दा पनि यसतर्फ सम्बन्धित निकायको ध्यान जान सकेको छैन। साथै उक्त नाका वर्षौंदेखि नेपाली सुरक्षा निकायविहीन बनेको छ। 

उक्त नाकामा रहेको आरजी ५९७०९८ को ६२ नम्बरको एकमात्र सिमेन्टेड पिलर तिब्बततर्फ ढलेर नम्बरसमेत छोपिएको याक आनुवंशिक स्रोत केन्द्र स्याङ्बोचेका निमित्त प्रमुख रामललन यादवले जानकारी दिए। यादवसहितको टोली याक तथा नाक खरिदका लागि चीन जाने क्रममा २०७१ जेठ २ गते नै उक्त स्तम्भ ढलेको पाइएको उनको भनाइ छ। हिमाल हुँदै बग्ने हिमनदीका कारण उक्त स्तम्भ ढलेको हुन सक्ने प्रत्यक्षदर्शी यादवले बताए। 

नदिकै कारण सीमा स्तम्भ ढलेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले पुष्टि गरे। उनले भने, ‘सो विषयमा हामीले मन्त्रालयमा पनि रिपोर्टिङ गरिसकेका छांै। अहिले नै त्यहाँ गएर सीमा खडा गर्ने सम्भावना छैन। तर, सीमा सार्नेलगायतका नेपाललाई असुरक्षा हुने त्यस्तो कुनै सम्भावना भने छैन। सीमा सुरक्षाका विषयमा जानकारी लिन समयसमयमा चीनको सीमा हेर्ने निकाय वैदेशिक मामिला प्रमुखसँग हाम्रो संवाद भइरहेको छ।’ 

नेपाल र तिब्बतको सिमाना नाङ्गपाला नाका नेपाली सुरक्षाको उपस्थितीविहीन बनेको पनि वर्षौं भइसक्यो। नाम्चेबाट ८० किलोमिटरको दूरीमा रहेको सिमानाका नजिकै चीनतर्फको सुरक्षा फोर्स छ। नेपालको भने कुनै पनि उपस्थिति नरहेको याक आनुवंशिक स्रोत केन्द्र स्याङ्बोचे सोलुखुम्बुका निमित्त प्रमुख यादवले बताए। उनका अनुसार सो नाकाबाट करिब दुई किलोमिटर अगाडि चीनको मोटर बाटो छ भने करिब १५ किलोमिटर अगाडि चीनको सुरक्षा पोस्ट छ। त्यसैगरी २० किलोमिटर अगाडि चीनको थिङ्ग्रे बजार छ। नेपालतर्फको सीमा नाकाको सबैभन्दा नजिक करिब ६२ किलोमिटरको दूरीमा थामे प्रहरी चौकी छ। 

खुम्बु पासाङ ल्हामु गाउँपालिका— ५ थामे भन्ज्याङलुङ्गदे भन्दा माथि मानव बस्ती नरहेको नाम्चेका लामाकाजी शेर्पाले बताए। समुद्री सतहबाट ५ हजार ८ सय ८७ मिटरको उचाइमा रहेको सो नाकामा २०६७ सालपछि नेपालीको आउजाउ करिब बन्द नै भएको बताइन्छ। २०६७ सालसम्म चीन र नेपालबीच मानिसको आवतजावत हुने गरेको नाका त्यसपश्चात् चीनले बन्द गरेको हो। सोही बाटो हुँदै तिब्बतीहरू नेपाल प्रवेश गरेका र सोलुखुम्बुसहितको क्षेत्रमा शरण लिएर बसेको स्थानीय जानकारहरू बताउँछन्। जसका कारण उक्त नाका चीनले बन्द गराएको उनीहरूको भनाइ छ।

भौगोलिक कठिनाइका कारण नाकामै सीमा सुरक्षा पोस्ट राख्न नसकिएको सोलुखुम्बुका प्र्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले बताए। उनले भने, ‘त्यो नाका सामान्यतः पिक नै हो, त्यहाँ पूरै हिउँ पर्छ र जमेर पूरै आइस बनेको छ। चाइनापट्टिको भूभाग अलिक सजिलो छ भनिएको छ तर नेपालतर्फको क्षेत्र असाध्यै कठिन छ, त्यसैले त्यहाँ सुरक्षा पोस्ट खडा गर्न सम्भव छैन।’ 

सीमा सुरक्षालाई मध्यनजर गर्दै नाम्चेमा प्रहरी निरीक्षकको कमान्डमा सशस्त्र प्रहरीको पोस्ट खडा गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए। साथै सीमा सुरक्षाको विषयमा समयसमयमा चीनको वैदेशिक मामिला प्रमुखसँग पनि स्न्याप च्याटमार्फत संवाद हुने गरेको छ। 

केही दिनमा पुनः दुई देशबीचको सुरक्षा टिमको बैठक बस्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी भट्टराईको भनाइ छ। २०७१ सालमा याक आनुवंशिक स्रोत केन्द्रले तीन महिनाको प्रयासपछि प्रक्रिया पूरा गरी २४ जनाको टोली नाक तथा याक खरिदका लागि नाङ्गपाला नाका हुँदै चीन पुगेका थिए। उनीहरूले सोही बाटो हुँदै २५ नाक र ५ याक सोलुखुम्बुको स्याङ्बोचे ल्याएका थिए। त्यसयता सो क्षेत्रमा कुनै पनि नेपालीको उपस्थिति नरहेको याक आनुवंशिक स्रोत केन्द्र स्याङ्बोचेका निमित्त प्रमुख यादवले बताए। उनले भने, ‘निक्कै लामो प्रक्रियापछि हामीहरू त्यही नाका हुँदै तिब्बत पुगेका थियौं। २५ दिन लगाएर हामीले याक तथा नाक लिएर स्याङ्बोचे झर्‍यौं। तर यति धेरै कठिनाइ छ कि सामान्य पिक आरोहण गरे सरह नै हो त्यो नाका। पहिला त बाटो नै थियो रे पछि नाका बन्द भएपछि बाटो पूरै हिउँले बन्द भएछ। त्यही भएर गाह्रो भएको हो नत्र पहिले त सजिलै थियो भनिन्छ।’ 

नाका बन्द भएपछि नेपालतर्फको सिमानामा कुनै मानवीय आउजाउ नहुँदा हिउँले बाटो पुरिएको बताइन्छ। सो पिलरबाट करिब दुई किलोमिटर अगाडि चीनको मोटर बाटो छ भने करिब १५ किलोमिटर अगाडि चीनको सुरक्षा पोस्ट तथा २० किलोमिटर अगाडि चीनको थिङ्ग्रे बजार छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.