सरकार जनताका समस्यामा केन्द्रित हुन सकेन : ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले जनताका समस्यातर्फ ध्यान नदिएको बताएका छन्। आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा ओलीले सरकार सदनभित्र र बाहिर जनताका समस्यामा केन्द्रित हुन नसकेको आरोप लगाएका हुन्।
उनले भने,‘सरकारले सदनमा त केहि गरेन गरेन। बाहिरपनि जनताका समस्यामा केन्द्रित हुन सकेको छैन। जनताका समस्या हेर्नुपर्दैन ? बाढीपहिरो, मललगायतका समस्यामा पर्दा पनि सरकार केहि नभएजस्तो गरेर बसिरहेको छ। पाँच किलो मल लिन जनता लाइनमा बसेको छ, महंगो मूल्य तिर्नुपरेको छ। सरकार भन्छ- प्रशस्त पाइएको छ, समयै उपलब्ध गराएको छ तर जनतामाझ छैन। देशको अर्थतन्त्र डरलाग्दो रुपमा ओरालो लाग्दैछ।’
उनले नेपालमा कालाबजारी, तस्करीको समाधान दिन नेपालीहरु नै लाग्नुपर्ने बताए। ओलीले नेपालीको आम्दानीले केहि महिना मात्र धान्न सक्नेस्थिति भएकाले सचेत हुनुपर्ने बताए।
ओलीले सरकारले ल्याउन लागेको टेरामेक्स भन्ने प्रविधिले गोपनियताको हक उलंङ्घन गर्ने बताए। उनले नागरिकका अति गोप्य एसएमएस, कल डिटेललगायतमा सिधा पहुँच राख्ने प्रावधान भएकाले यसको एमालेले विरोध गर्ने बताए।