दाहाल नेतृत्वको सरकारले पाकिस्तानी राजनीति सुरु गर्यो : केपी ओली
![दाहाल नेतृत्वको सरकारले पाकिस्तानी राजनीति सुरु गर्यो : केपी ओली](https://annapurnapost.prixacdn.net/media/albums/Kp_oliii1_5CvEefQ6sK_KCKAeBPxyc.jpg)
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल नेतृत्वको सरकारले पाकिस्तानी राजनीति सुरु गरेको बताएका छन्।
शनिबार काठमाडौंमा गुरु लुइटेल अध्ययन तथा विकास केन्द्र नेपालको साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारले पाकिस्तानी राजनीति सुरु गरेको भन्दै पाकिस्तानी राजनीति र प्रतिशोधको राजनीति नगर्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताए।
उनले सरकारलाई धेरै नहौसिन र अधिनायकवाद नदेखाउन सुझाव दिए। कांग्रेस सांसद सुनिल शर्मालाई पक्राउ गर्दै सरकारविरुद्ध बोल्नेको मुख बन्द गर्न खोजेको र अरुलाई तर्साउन खोजेको उनले बताए। सुन तस्करीको विरोध गर्दा सुनिल शर्माले स्कुल पढ्दाको कुरा उठाएर गिरफ्तार गर्नु नांगो नाच भएको तर्क गरे।
सांसद शर्मालाई अहिलको अवस्थामा पक्राउ गर्नु सामान्य विषय नभएको उनको भनाइ छ। अध्यक्ष ओलीले सुन प्रकरणमा उच्चस्तरीय छानविन आयोग बनाउन नमानेर सरकारले आफू छानविन गर्छु भन्नु रहस्यमय रहेको बताए। उनले एमालेले सुन प्रकरणमा उठेर बोल्न खोल्दा सत्तपक्षहरुले हो-हल्ला गरेर बोल्न नदिएको जिकिर गरे।
त्यस्तै उनले कांग्रेस के र कसका लागिपछि लागेको हो भन्ने बुझ्न नसकेको भन्दै देशको नेतृत्व गर्न सक्छु भन्ने आत्मबल नै गुमाइसकेको बताए। उनले चार वटा मन्त्री लिएर साना पार्टीको पछि लाग्ने रहर कांग्रेसमा देखिएको उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)