कपिलवस्तु कांग्रेसका सहसचिव वजीह अरसदले गरे पार्टी परित्याग
कपिलवस्तु : नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सह–सचिव वजीह अरसदले पार्टीको साधारण सदस्यता समेत नरहने गरि पदबाट राजीनामा दिएका छन्। आज एक प्रेस वक्तव्य जारी गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । जिल्ला सभापति अब्दुल कलाम नेतृत्वको कार्यशैली प्रति असहमति जनाउँदै नेता अरसदले पद तथा साधारण सदस्यता त्याग गरेको घोषणा गरेका हुन्।
राजीनामापत्रमा उनले २०५५ सालदेखि नेपाल विद्यार्थी संघमार्फत राजनीतिक यात्रा सुरु गरेको उल्लेख गरेका छन्। कपिलवस्तु बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनबाट सदस्यमा निर्वाचित हुँदै राजनीतिक जीवन प्रारम्भ गरेका अरसद २०६० सालमा स्ववियु सभापतिमा निर्वाचित भएका थिए। जनआन्दोलन–२०६२ का क्रममा गिरफ्तार भएको तथा त्यसपश्चात २०६३ सालमा नेविसंघ कपिलवस्तुको जिल्ला सभापतिमा निर्वाचित भई संगठन निर्माणमा उनको सक्रिय भूमिका रहेको थियो ।
हाल नेपाली कांग्रेस कपिलवस्तुको जिल्ला सह सचिवमा निर्वाचित भएर जिम्मेवारीमा रहेका अरसदले पार्टीभित्र देखिएको अनियमितता तथा पुराना कार्यकर्तालाई विस्थापित गर्ने प्रवृत्तिविरुद्ध आफूले निरन्तर आवाज उठाउँदै आएको दाबी गरेका छन्।
कपिलवस्तु कांग्रेस हिजोका दिनका 'बागी र विद्रोही' नेताहरूले चलाउदै आएको उल्लेख गर्दै पार्टीका इमानदार तथा पुराना कार्यकर्ताको सम्मान र संरक्षण गर्न आफू असफल भएको महसुस उनले गरेका छन्। पार्टी हितका विषय उठाउँदा नेतृत्वको घेराबन्दीमा पर्दै आएको भन्दै उनले जिल्लाको नेतृत्वको कार्यशैलीसँग आफ्नो गम्भीर असहमति रहेको जनाएका छन्।
युवा नेता अरसदले पार्टी परित्याग गरे संगै पार्टीका युवा पंक्ति र पुराना ईमानदार कार्यकर्ताहरू दुखी भएका छन् । युवा नेता अरसदको राजीनामा बारे जिल्ला कार्य समिति भने अनभिज्ञता जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !