राज्यका सबै निकायले स्वतन्त्रता गुमाइसके, देश कसको नियन्त्रणमा छ भन्न गाह्रो छ : कृष्ण सिटौला
काठमाडौं : नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले राज्यका सबै निकायले आफ्नो स्वतन्त्रता गुमाइसकेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित संघीयता कार्यान्वयनमा प्रदेश संरचना : समसामयिक संवाद कार्यक्रममा नेता सिटौलाले अहिले राज्य सञ्चालन संविधान बमोजिम चल्न नसकेको र प्रशासन, न्यायालय, प्रहरीलगायत संवैधानिक निकायले आफ्नो स्वतन्त्रता गुमाइसकेको बताएका हुन् । देश अहिले कसको नियन्त्रणमा छ भन्न समेत गाह्रो रहेको उनले बताए ।
नेता सिटौलाले नेपालमा प्रतिशोधको राजनीति धेरै नै विकसित भइरहेको भन्दै यस्तो अवस्थाले देश र समाज बन्न नसक्ने उल्लेख गरे । उनले विश्व राजनीतिको प्रभाव नेपालमा पनि रहेको र नराम्रो प्रभाव ज्यादा देखिएको धारणा राखे । राजनीतिक दलभित्र र राजनीतिक दलहरूको बीचमा अविश्वास दिन प्रतिदिन अझै गहिरिँदै गएको भन्दै सिटौलाले एक ठाउँमा बसेर देशका बारेमा सोच्ने परिस्थिति नै नरहेको जिकिर गरे ।
नेता सिटौलाले संविधान भनेको कुनै धार्मिक ग्रन्थ नभएकाले संविधानवादको विकासक्रममा संशोधन हुनुपर्नेमा जोड दिए । तर संशोधन गर्दा यसका मौलिक पक्षहरुलाई जोगाउँदै कार्यान्वयनका क्रममा देखिएका त्रुटिहरुलाई सच्चाउनु पर्ने उनले बताए । नेता सिटौलाले अहिलेको राज्य व्यवस्थालाई साँघुरो घेराभित्र राख्ने कि जनताको पहुँच हुने गरी फराकिलो पार्ने भन्ने प्रश्न देखिएको भन्दै संघीयताको राम्रा पक्षलाई बचाएर र कमजोरीलाई हटाएर नै अघि बढ्नु पर्ने बताए ।
प्रतिक्रिया दिनुहोस !