बहसमा वामपन्थी एकता

सत्ता र शक्ति गुमेपछि ‘एकताको अलाप’

सत्ता र शक्ति गुमेपछि ‘एकताको अलाप’

म जीवनभर कहिल्यै एउटा गुट पनि नबनाएको मान्छे हो। गुट बनाउनु गलत हो भन्दै आएको मान्छे हुँ। बरु एकताकै लागि पहल गर्छु। - झलनाथ खनाल, वरिष्ठ नेता, नेकपा

काठमाडौं : सत्ताको न्यानो काख र शक्तिको मातमा हुन्जेल वामपन्थी नेताहरूलाई एकअर्काको उछितो काड्न फुर्सद थिएन। गालीगलौज, आरोप–प्रत्यारोप र सत्ताको झिनाझम्टीमै दिन बित्थे। तर, राजनीतिको पासा पल्टिएर जब सत्ता र शक्ति हातबाट फुत्कियो, तब वामपन्थी नेताहरूलाई एकाएक ‘संगठित र सक्रिय’ हुने चेत खुलेको छ।

भदौ २३ र २४ गतेको राजनीतिक घटनाक्रमपछि छिन्नभिन्न भएका वामपन्थीहरू केही दिनयता एकताको अलापमा देखिएका छन्। नेकपा एमाले र नेकपाका दोस्रो तहका नेताहरू एक ठाउँमा उभिएको भोलिपल्टै काठमाडौंमा फेरि अर्को रोचक वाम–दृश्य देखियो। अवसर थियो– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालद्वारा लिखित पुस्तक ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ को विमोचन कार्यक्रम। वाम एकताको वकालत गर्दै आएका खनालले आफ्नो पुस्तक विमोचनको बहानामा विभिन्न धारमा छरिएका बौद्धिक वाम नेताहरूलाई एउटै मञ्चमा उभ्याएका थिए।

कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल आफ्नै दलभित्र र बाहिर चलिरहेको एउटा चर्चाप्रति निकै आक्रोशित सुनिए। आफूले पार्टी विभाजन गरेर नयाँ दल गठन गर्न लागेको भन्ने बजारिया हल्लाको खण्डन गरे।

‘केही मान्छेहरूले झलनाथले अर्को पार्टी खोल्न थालेछ, पार्टी फुटाउन लागेछ भनेर कुप्रचार गरेछन्। म ती कुप्रचारकहरूलाई फेरि एकपटक भन्न चाहन्छु— साथीहरू, कुप्रचारको खेल कसैले पनि नखेल्नुहोस्,’ खनालले चेतावनीको भाषामा भने, ‘झलनाथ खनाल जीवनभर कहिल्यै एउटा गुट पनि नबनाएको मान्छे हो। गुट बनाउनु गलत हो भन्दै आएको मान्छे हुँ।’

खनालले वर्तमान लोकतान्त्रिक व्यवस्थाको अधिकतम उपयोग गर्दै समाजवादी लोकतन्त्र स्थापनाका लागि देशमा ‘समाजवादी क्रान्ति र रूपान्तरण’ आवश्यक रहेको औंल्याए। कम्युनिस्ट आन्दोलनभित्र देखिएका विकृति, असमझदारी र वैचारिक विचलनलाई चिर्न नै आफूले यो पुस्तक लेखेको उनको दाबी थियो।

एमाले पूर्वउपाध्यक्ष युवराज ज्ञवालीले भने सरकारमा पुगेका केही नेताहरूको भ्रष्ट आचरण र कार्यशैलीका कारण समग्र कम्युनिस्ट आन्दोलन वा माक्र्सवादलाई नै असफल भन्न नमिल्ने तर्क गरे। उनले व्यक्ति र सिद्धान्तलाई अलग–अलग राखेर हेर्नुपर्ने बताए। ‘सत्तामा पुगेपछि नेताहरू बिग्रिनु सिद्धान्तको कमजोरी होइन, व्यक्तिको दोष हो,’ ज्ञवालीले ढाडस दिँदै भने, ‘नेताको भ्रष्ट व्यवहारकै आधारमा कम्युनिस्ट आन्दोलनको औचित्य सकियो भन्ने भ्रममा कोही पनि बस्नु आवश्यक छैन।’

नेकपा नेता एवं पूर्वमन्त्री डा. भीम रावलले २००६ सालमा पुष्पलालले नेपालको आत्मनिर्भर स्वाधीन अर्थतन्त्र, कृषिमा किसानमाथिको शोषणको अन्त्य, असमान सबै सन्धि सम्झौताबाट मुक्त गर्ने समाजवादको कुरा गरेको बताउँदै कम्युनिस्ट पार्टीले त्यसलाई व्यवहारमा उतार्नुपर्ने बताए। ‘ठूलठूला ग्रन्थ लेखेरमात्र केही हुँदैन। नेपाललाई संसारको अगाडि स्वाधीन र समृद्धि देश बनाउने समाजवाद आवश्यक छ। 

प्राकृतिक साधन, स्रोत, जनशक्ति राष्ट्रको सर्वोपरि हितमा उपयोग र सञ्चालन हुनुपर्‍यो,’ उनले भने, ‘पार्टी नेतृत्वमा पुगेपछि विपरीत सिद्धान्त भएकाहरूसँग गठजोड गर्ने, निर्वाचनमा गठबन्धन गरेर वैज्ञानिक समाजवाद आउँछ ? काम गर्नुपर्‍यो। कामबाट प्रमाणित गरेर जनताको मन जित्नुपर्‍यो।’ रावलले कम्युनिस्टहरूले राष्ट्रवादी आन्दोलन गर्नुपर्ने बताउँदै भने, ‘प्रधानमन्त्रीले भारतको जग्गा मिचेको छ भनेर मन्तव्य दिएका छन्। यस्तो बेला देशको सिमाना रक्षा गर्ने समाजवाद चाहियो।’

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले भने नेपालमा कम्युनिस्ट आन्दोलन वैचारिक, राजनीतिक र सांगठनिक रूपमै पतन भई विघटन भइसकेको जिकिर गरे।

‘अब नेपाली कम्युनिस्ट आन्दोलन अल्मलियो। वैचारिक रूपले अल्मलियो, राजनीतिक रूपमा गन्जागोलमा गयो र सांगठनिक रूपले त एउटा नोकरशाहीतन्त्रमा फेरियो,’ शर्माले निर्मम समीक्षा गर्दै भने, ‘मलाई लाग्दैन यहाँ अहिले कम्युनिस्ट आन्दोलन जीवित छ। आन्दोलनमा लागेका नेताहरू र हामीलाई समर्थन गरेका जनतामात्रै जीवित हौं, आन्दोलन त विघटन भइसकेको छ।’  

उनले यो मृतप्राय :  आन्दोलनलाई पुनर्जीवन दिन पुरानो ढर्रा छोडेर ‘नयाँ ढंगको पुनर्गठन र नयाँ अभियान’ अपरिहार्य भइसकेको औंल्याए। नेकपा बहुमतका महासचिव धर्मेन्द्र बाँस्तोलाले भने कम्युनिस्ट आन्दोलन कमजोर हुनुमा वैचारिक ‘डिर्माकेसन लाइन’ मेटिनुलाई मुख्य कारण माने। ‘संसदीय चुनावबाट सरकारमा गएका माधव नेपाल, झलनाथ खनाल वा केपी ओली र जनयुद्धको जगबाट आएका प्रचण्ड वा जनार्दन शर्माले सत्तामा पुगेपछि गर्ने काम एउटै भयो,’ बाँस्तोलाले भने, ‘काममा कुनै भिन्नता नदेखिएपछि जनतामा ठूलो भ्रम पैदा भयो। समाजवाद के हो ? र बुर्जुवा जनवाद के हो ? भन्ने कुराको सीमारेखा नै मेटियो। अब हामीले यसको ठोस संश्लेषण गरेर ‘ब्रेक थ्रु’ गर्नैपर्छ।’

तत्काल एकता हुँदैन  :  दाहाल
नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालै वामपन्थी दलहरूबीच एकता हुने सम्भावनालाई खारेज गरेका छन् र पार्टीको सोमबार बसेको भर्चुअल बैठकमा उनले नेकपा (एमाले) लगायतका दलहरूसँग भइरहेका हालैका संवादहरू एकताका लागि नभई केवल राजनीतिक सहकार्यका लागि मात्र भएको स्पष्ट पारे।

‘मैले अहिले नै एकता हुनुपर्छ भनेर कहीँ कतै भनेको छैन। महाधिवेशन अगाडि एकता सम्भव पनि छैन, हुँदा पनि हुँदैन,’ दाहालको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘पहिला आफ्नो पार्टी बलियो बनाउनुपर्छ। अहिलेको आवश्यकता वामपन्थी, समाजवादी मोर्चा, देशभक्तहरूसँग सहकार्यको आवश्यकता छ।’

महाधिवेशन अगाडि कुनै पनि हालतमा पार्टी एकता नहुने जिकिर गर्दै दाहालले अहिलेको मुख्य आवश्यकता वामपन्थी र देशभक्त शक्तिहरूबीचको साझा मोर्चामात्रै भएको औंल्याए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.