संस्थापनइतर समूहले कार्यक्रमका नाममा 'निन्दा प्रतियोगिता' चलाए : गगन थापा
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले अग्रजलाई सम्मान र नयाँलाई उत्साहित बनाएर पार्टीलाई नयाँ उचाइमा पुर्याइने बताएका छन्।
बिहीबार कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान कार्यक्रममा सभापति थापाले पार्टीलाई प्रविधि, आधुनिक चिन्तन र नयाँ पुस्ताको भावना अनुसार अगाडि बढाउनुपर्ने भन्दै अग्रजलाई सम्मान र नयाँलाई उत्साहित बनाएर पार्टीलाई नयाँ उचाइमा पुर्याइने बताए।
उनले बीपी स्मृति दिवसको नाममा संस्थापनइतर समूहले गरेको कार्यक्रममा निन्दा प्रतियोगिता चलेको भन्दै कटाक्ष गरे। संस्थापनइतर कार्यक्रमलाई नसुन्नु नै उपयुक्त लागेर आफूले वेवास्ता गरेको उनको भनाइ छ।
त्यस्तै सभापति थापाले वर्तमान सरकारको क्रियाकपालप्रति पनि असन्तुष्टि जनाए। उनले प्रधानमन्त्रीलाई कालो चस्मा र कालो वस्त्र लगाउन छुट रहेपनि काला कर्तुत गर्न छुट नरहेको स्पष्ट पारे। संवैधानिक निकायलाई आफ्नो दबाबमा राख्न खोजेको भन्दै उनले अख्तियारलाई आफ्नो सचिवालयको छाया बनाउन खोज्नुभएको हो? भन्दै प्रश्न गरे।
उनले सरकार संविधानभन्दा बाहिर हिंड्न खोजेको आरोप लगाए। सभापति थापाले राहदानी प्रकरणपछि सरकारमाथि केही प्रश्न उठेको भन्दै संसद खोल्ने बितिकै कांग्रेसले यस विषयमा सदनमा आवाज उठाउने बताए।
सभापति थापाले विश्वेश्वरप्रसाद कोइरालाको जन्म जयन्तीका अवसर पारेर भाद्र २४ गते ‘एनसी फर एनसी’ नामक नयाँ अभियान सुरु गर्ने घोषणा गरे। उनले बिरामी भएर जटिल अवस्थामा उपचारमा रहेका पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाएको घोषणा गरे। उक्त निर्णय आगामी केन्द्रीय समिति बैठकबाट अनुमोदन गराउने उनले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !