विचार मन्थनमा पुराना दल : कांग्रेसमा ‘एनसी फर एनसी’ घोषणा

विचार मन्थनमा पुराना दल : कांग्रेसमा ‘एनसी फर एनसी’ घोषणा
सुन्नुहोस्

काठमाडौं : कांग्रेसले विचार र संगठनलाई समयानुकूल डिजिटल रूपान्तरण गर्दै समाजका वास्तविक मुद्दामा फर्किने संकल्प गरेको छ। प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको ४४औं स्मृति दिवसका अवसरमा बिहीबार आयोजक केन्द्रीय कार्यालयद्वारा आयोजित विशेष कार्यक्रममा शीर्ष नेतृत्वले सत्ता र चुनावी राजनीतिभन्दा माथि उठेर ऐतिहासिक निर्णय र सामाजिक रूपान्तरणमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेको हो। कार्यक्रममा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेल तथा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेस अब भाषण र चुनाव जित्ने संयन्त्रमा मात्र सीमित नभई सांगठनिक रूपान्तरण र नागरिक हितका ठोस काममा होमिने स्पष्ट पारेका छन्।

कार्यक्रममा सभापति गगनकुमार थापाले पार्टीले सञ्चालन गर्दै आएको ‘जरा अभियान’ समाप्त भएको घोषणा गर्दै अब नागरिकका प्राथमिकतासँग सीधा जोडिने नयाँ राष्ट्रिय अभियान ‘एनसी फर एनसी (नेपाली कांग्रेस फर नेसनल कज)’ को प्रारम्भ गरिएको जानकारी दिए। आगामी स्थानीय तथा प्रदेश निर्वाचनका नाममा केही पक्षले तर्साउने प्रयास गरे पनि कांग्रेस कुनै पनि चुनावबाट नआत्तिने दाबी गर्दै थापाले भने, ‘हामी इलेक्सन मेसिनजस्तो मात्रै हुनुहुँदैन। चुनाव जित्ने वा हार्ने डरले पार्टीले आफ्नो वैचारिक अडान र आस्थासँग कहिल्यै सम्झौता गर्दैन। हाम्रो पहिलो प्राथमिकता सत्ता होइन, नागरिकको भरोसा जित्नु हो।’ सभापति थापाका अनुसार साउन ७ देखि भदौ २४ (बीपी जयन्ती) सम्म सांगठनिक तयारी र नागरिकसँग जोडिने विशेष कार्यक्रम सञ्चालन गरिनेछ। 

भदौ २४ गते प्रत्येक कांग्रेस सदस्य र कमिटीले देश र नागरिक हितका लागि विशेष ‘प्लेज’ गर्ने योजना बनाइएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान समयले कांग्रेससँग केवल प्रेरणादायी भाषण नभई ऐतिहासिक र साहसिक निर्णयको अपेक्षा गरेको बताए। ‘विगतमा एक नेताको भाषणले महिनौंसम्म संगठनमा ऊर्जा दिने समय रहे पनि अहिले परिस्थिति पूर्णरूपमा बदलिएको छ,’ आङ्देम्बेले भने, ‘अहिले पार्टीले समय र परिस्थितिअनुसार ठोस निर्णय गर्नुपर्छ, यसलाई कसैले नजरअन्दाज गर्नुहुँदैन।’

जीवन्त राजनीतिक दलमा बहस, छलफल र विचारको भिन्नता स्वाभाविक भए पनि त्यसले आन्तरिक आक्रोश वा कलहको रूप लिन नहुने चेतावनी उनले दिए। इतिहासले कांग्रेसलाई निरन्तर सचेत गराइरहेको उल्लेख गर्दै उनले नयाँ संकल्प र अभियानका साथ सांगठनिक सञ्जाललाई गाउँगाउँसम्म पुनर्संरचना गर्नुपर्नेमा जोड दिए।

महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेस देशकै सबैभन्दा धेरै सदस्य भएको राजनीतिक दल बन्ने दाबी गर्दै प्रविधिसँग संगठनलाई जोड्ने कार्य द्रुत गतिमा अघि बढेको जानकारी दिए।

‘अब केन्द्रीय कार्यालयले तल्लो तहसम्म सूचना पुर्‍याउन परम्परागत माध्यममा निर्भर रहनुपर्ने अवस्थाको अन्त्य हुँदैछ,’ पौडेलले भने, ‘डिजिटल नेटवर्कमार्फत सबै सदस्यलाई प्रत्यक्ष सूचना पुग्ने व्यवस्था बनेपछि पार्टीमा पारदर्शिता, नेतृत्वसँगको समन्वय र संगठन सञ्चालन थप प्रभावकारी हुन्छ।’ सबै सदस्यहरूलाई पूर्ण रूपमा डिजिटल नेटवर्कमा आबद्ध गर्ने पहिलो राजनीतिक दलका रूपमा कांग्रेस स्थापित हुने उनले दाबी गरे।उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र वा बाहिरका आलोचनाको प्रतिआलोचनामा अल्झिँदा मूल राजनीतिक उद्देश्य ओझेलमा पर्ने भन्दै संयम र सकारात्मक सोचका साथ अघि बढ्न नेता–कार्यकर्तालाई आग्रह गरे।

‘कसैलाई ढुंगा हानेर वा गाली गरेर आफ्नो गन्तव्यमा पुग्न सकिँदैन,’ शर्माले भने, ‘बीपी कोइरालाको विचार र आदर्शलाई २१औं शताब्दीका युवाको आकांक्षासँग जोड्नुपर्छ।’ कांग्रेसले केवल राजनीतिक मुद्दामा सीमित नभई बाल   श्रम उन्मूलन, गुणस्तरीय शिक्षा, सक्षम शिक्षक उत्पादन तथा समग्र सामाजिक रूपान्तरणका विषयलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने उनले बताए।

गोपालमान श्रेष्ठलाई ‘वरिष्ठ नेता’ बनाउने घोषणा

कार्यक्रमका क्रममा सभापति थापाले क्यान्सर रोगसँग जुधिरहेका र हाल आईसीयूमा उपचाररत पार्टीका पूर्वउपसभापति एवं वरिष्ठ नेता गोपालमान श्रेष्ठलाई पार्टीको आधिकारिक ‘वरिष्ठ नेता’ बनाउने घोषणा गरे। आगामी साउन १२ र १३ गते बस्ने केन्द्रीय समितिको बैठकले यस निर्णयलाई औपचारिक रूपमा अनुमोदन गर्ने उनले जानकारी दिए।

‘गोपालमान दाइको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक छ। पार्टीमा लामो समय योगदान पुर्‍याउनुभएका र कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालिसक्नुभएका उहाँको योगदानको उच्च सम्मान गर्दै यो निर्णय गरिएको हो,’ थापाले भने। थापाले  श्रेष्ठको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका थिए। यद्यपि, वर्तमान विधानमा वरिष्ठ नेता पदको व्यवस्था नरहे पनि विगतमा विशेष राजनीतिक परिस्थितिमा यस्तो अभ्यास हुँदै आएको छ। बीपी स्मृति दिवसकै अवसरमा पार्टीभित्रको असन्तुष्ट पक्षले अलग्गै आयोजना गरेको कार्यक्रमलाई लक्षित गर्दै सभापति थापाले त्यसलाई व्यंग्यात्मक रूपमा ‘गगन थापा निन्दा प्रतियोगिता’ को संज्ञा दिए।

आफूले सम्मान गर्ने नेताहरू नै सहभागी भएकाले धेरै टिप्पणी नगर्ने बताएका थापाको भनाइमा उपसभापति शर्माले पनि थप्दै असन्तुष्ट पक्षप्रति प्रतिवादमा उत्रिनुको साटो पार्टी रूपान्तरणकै अभियानमा केन्द्रित रहने प्रतिक्रिया दिए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.