निर्यातको भ्रम
![निर्यातको भ्रम](https://annapurnapost.prixacdn.net/media/albums/20180425195733_Annapurna_post_editorial_xZBZaQy9nR_jogXSMCNv9.jpg)
अर्थतन्त्र बलियो बनाउन निर्यात बढाउने कुरा हुन्छ। आत्मनिर्भर अर्थतन्त्रका लागि आयात कम र निर्यात ज्यादा गर्ने कुरा हुन्छ। यसबीचमै जब नेपालबाट पाम आयल र भटमासको प्रशोधित तेल व्यापक निर्यात भइरहेको खबरले भने झुक्याइरहेको छ। हो, नेपालबाट सबैभन्दा निर्यात हुने वस्तुको सूचीमा यिनै छन्। तर खुसी हुन नपर्ने र झुक्याउने खबर के हो भने यी दुवै वस्तु नेपालमै उत्पादित भएर निर्यात हुने नै होइनन्। हो के भने कच्चा पदार्थ तेस्रो मुलुकबाट आउँछ, अनि भारतमा यी वस्तु नेपाली ब्रान्डमा बिक्री हुन्छ। तेस्रो मुलुकबाट आयात गर्दा डलरमा खरिद हुन्छ। भारतमा बिक्री गर्दा भारुमा गरिन्छ। अर्थात् डलरमा किनेर भारुमा गरिने बिक्री लगभग चामलसँग पिठो साट्ने उल्टो काइदा जस्तैजस्तै हो।
विश्व व्यापार संगठन, दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) र भारतले दिएको विशेष सुविधाको फाइदा नेपाली र भारतीय व्यवसायी मिलेर उठाइरहेका छन्। यो कथा कुनै जमानामा नेपालले डाल्डा घिउ भनिने वनस्पति घिउ निर्यातसँग मिल्दो छ। भारतले कोटा हटाएपछि डाल्डा घिउ उद्यम तन्नम भएको थियो। कथाका पात्रहरू पनि उही नै छन्। तसर्थ पाम भनिने ताडी र खजुरको तेलले निर्यात देखिँदा मोटाएको देखिए पनि खासमा त्यो सुन्निएको हो।
पामको आन्तरिक उत्पादन स्वदेशी माग थेग्न पनि पर्याप्त छैन। विशेष सुविधाको फाइदा उठाउन गरिएको यस्तो निर्यात टिकाउ खाले हुँदै होइन। आयातित कच्चा पदार्थमा मूल्य अभिवृद्धि (भ्यालु एड) भइदिए पनि नाफैको कुरा हुन्थ्यो। यिनमा त्यस्तो पनि नभएको सरकारी अधिकारीहरू नै बताउँछन्। भन्सारको तथ्यांकले पनि त्यस्तै पुष्टि गर्छ। ३० प्रतिशत ट्यारिफ भारतले नलिने सुविधाको फाइदामा रमाउँदा खासमा देशको अर्थतन्त्रले केही पाएको छैन। उल्टै डलर बाहिरिएकोमात्रै छ।
खासमा नेपालले निर्यात गर्न सक्ने सम्भावना भएका यकिन केही वस्तु नै छन्। जसको निर्यातमात्रै नेपाली किसान, उत्पादन, उद्यमी र राज्यकै लागि फाइदाजनक हुन्छन्। अल्लो, अलैंची, अगरबत्ती, फेल्ट, अदुवा, जडीबुटी, हातेकागज, यार्न तथा टेक्स्टाइल, धनियाँ तथा बेसार र गुन्द्री–डोकोजस्ता वानस्पातिक रेसाबाट हस्तकलाका वस्तु निर्यातबाट नेपालले तत्कालै १ खर्ब ९६ अर्ब रुपैयाँको निर्यात बढाउन सक्ने सम्भावना बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र फेडेरेसन अफ नेपाल एक्स्पोटर्स एसोसिएनको अध्ययनले देखाएको छ।
मौलिक उत्पादन र वस्तुको निर्यात गर्दा विश्व बजारमा प्रतिस्पर्धाको डर पनि हुँदैन र पाम र भटमासको तेलजस्ता भारतले जतिबेला पनि रोक्न सक्ने वस्तुको निर्यातजस्तो जोखिम पनि हुँदैन। सरकार निर्यातको नक्कली तथ्यांक (मिथ्यांक) को भ्रमबाट मुक्त हुन जरुरी छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)