अनुसन्धानमा सहयोग गर्छौं, दोषी देखिए कानुनबमोजिम भागिदार हुनेछौं : राहुल महरा
काठमाडौं : भेपमा लुकाएर तस्करी भएको सुन प्रकरणमा नाम मुछिएपछि राहुल महराले दोषी प्रमाणित देखिए कानुन बमोजिम भागिदार हुने बताएका छन्। सोमबार पूर्व सभामुख एवम् माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका कृष्णबहादुर महराका छोरा राहुलले प्रहरीले अनुसन्धान गरिरहेको विषयमा बारम्बार एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्ने काम भइरहेको बताएका हुन्।
उनले बारम्बार एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्ने र राजनीतिक जीवन नै सिध्याउन खोजिएको दाबी गरे। महराले राज्यको निकायले अनुसन्धान गरिरहेकाले पूर्ण रुपमा सहयोग गर्ने बताए। कोही व्यक्तिसँग सम्पर्क हुँदैमा केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भएको भन्न नमिल्ने उनको तर्क छ।
उनले सामाजिक सञ्जालमा यस्तो लेखेका छन् :
हाम्रो विषयमा केही दिनयता विभिन्न सञ्चारमाध्यममा बारम्बार आइरहेका आरोपहरूप्रति गम्भीर आपत्तिसहित दुःख व्यक्त गर्दछौँ। पुष्टि नभएको र प्रहरीले अनुसन्धान गरिरहेको विषयमा बारम्बार एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्ने र राजनीतिक जीवन नै सिध्याउन खोज्ने गलत कार्यको भर्त्सना गर्दछौँ।
सञ्चारमाध्यमले पुष्टि नभएको विषयमा बारम्बार आरोप लगाएर जबरजस्त पुष्टि गराउन खोज्नु गलत मात्र होइन, आफैँ न्यायालय बन्न खोज्नु हो । सञ्चारमाध्यमबाट एकोहोरो आक्रमण हुनुको पछाडि हामीले बुझ्न सकेका छैनौ ।
हामीले यसअघि नै विषय स्पष्ट पारिसकेका छौँ कि कोही व्यक्तिसँग सम्पर्क हुँदैमा, केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भएको हो भनेर प्रचारबाजी गरिनु र समाचार लेखी भ्रमित पार्नु गलत हो।
राज्यको निकायले अनुसन्धान गरिरहेको विषयलाई हामीले पूर्ण रूपमा सहयोग गर्ने कुरामा प्रष्ट पारेका छौँ र प्रमाणित देखिए कानुन बमोजिम भागिदार हुनेछौँ ।