अँधेरीमा हराएका उजेलीहरू

अँधेरीमा हराएका उजेलीहरू

पृथ्वीमा सूर्यको किरण एकै साथ सर्वत्र छाउन सक्दैन। आफ्नै गतिमा सूर्यलाई परिक्रमा गरिरहेको पृथ्वीले आफ्नो सबै भाग एउटै समयमा सूर्यतिर फर्काउन पनि सक्दैन। पृथ्वी र सूर्यको बीचमा परिक्रमा गर्ने चन्द्रमाले पनि छेकिदिन्छ पर्खाल बनेर। ग्रहणका अवस्थाहरूमा पनि सूर्यको किरण लुकिदिन्छ। जहाँ सूर्यको अनुभूति हुँदाहुँदै पनि अँधेरीले ढाकिरहेको हुन्छ।

जीवनमा महसुस हुने सुखका अनुभूतिहरू सूर्यका किरणहरू जस्तै हुन्। जीवनयात्रीको सबै भागमा सूर्यको किरण नपर्नु प्रकृतिको नियम हो। शरीरको अगाडि भागमा किरण परिरहँदा पछाडि भागमा छाया परिरहेको हुन्छ। जीवनमा आइरहने दुःखहरू छायासरह हुन्। आउँछन्, जान्छन्। दुःख आउनु तथा महसुस हुनु भनेको मानिस जिउँदो छ भन्ने पहिचान पनि हो। जीवनको नयाँ ढोका खुल्नु र जीवन जिउने नयाँ मार्ग फेला पार्नु पनि हो। जात, वर्ग र पद जति उच्च तथा घराना भए पनि मानिस मानिसै हो। मानिसको दोस्रो जात छैन। मानिसको जात मानिस नै हो। ज्यूनार, पकवान, चौरासी व्यञ्जन, खाजा, लञ्च डिनरजस्ता जे–जे नाम दिए पनि हाम्रो संस्कारमा खाने त खाना (भात) नै हो।

व्यक्ति नामले होइन, गुणद्वारा उच्च मानिनुपर्छ। उच्च स्थानमा बस्दैमा कोही ठूलो वा उच्च हुने पनि होइन। उसले गरेका कर्मले मानिसलाई सानो र ठूलो बनाउने हो। सुख र दुःखका भ्रममा मानिसले आफूलाई सानो र ठूलो बनाइरहेको हुन्छ। सुख भनेको दुःखको अनुपस्थिति मात्र होइन, जीवनलाई खुसी बनाउने सुखको उपस्थिति पनि हो। जीवनमा अन्धकारहरू छन्। उज्याला किरणहरू पनि छन्। जीवनमा लामो समयसम्म एकैनासले न दुःख रहन्छ न सुख। दिन र रात झैं आइरहन्छ। जीवनमा सुखको ज्योति बाहिरबाट बल्ने होइन। मानिस आफैंले आफैंभित्रबाट बाल्नुपर्छ। सुख र दुःखको स्वीच ऊ आफैंसँग छ। जीवनको अन्धकारमय क्षण हटाउन मानिसले आफैंसँग भएको सुखको स्वीच अन गर्न मात्र जान्नुपर्छ। मानिसको हृदयभित्रबाट चम्कने प्रकाशलाई कुनै पनि कुराले मधुरो बनाउन सक्दैन।

आफूमा आइपरेका दुःखका भुमरीहरूका लागी अरू कसैलाई दोषी मानिरहनु पर्दैन। बाहिरको उज्यालो झलमलले बन्द कोठाभित्रको अन्धकारलाई मेट्न पनि सक्दैन। न झ्याल तथा छिद्रहरूबाट छिरेका केही किरणका बिन्दुहरूले कोठालाई पूर्णरूपमा उज्यालो बनाउन नै सक्छ। बाहिरबाट भित्र प्रवेश गरेका उज्यालाहरूको नियन्त्रण आफूसँग हुने पनि भएन। आफ्नो अनुकूलमा आफ्नै स्वादका सुखका उज्यालाहरूको अनुभूति लिन त आफैंभित्र सुखको टुकी बाल्नुपर्छ। सबै स्थानमा अन्धकार हुँदा पनि आफ्नो वरिपरि उज्यालो नै देखिन्छ। टुकीको उज्यालो थोरै मधुरो होला तर बाटो नै पहिल्याउन नसक्ने अवस्थाको भने हुँदैन।

चम्किलो उज्यालोको अनुभूति गर्न अन्धकारको पनि उपस्थित हुनुपर्छ। मध्यदिनको उज्यालोमा आकाशका ताराहरू देखिँदैनन्। सूर्यको उज्यालो किरणमा चन्द्रमाको उज्यालोले कुनै अर्थ राख्दैन। तर, त्यही चम्किला ताराहरू र चन्द्रमाको उज्यालोले निष्पट अन्धकारलाई भने चिरेर उज्यालो किरण छरिरहेको हुन्छ। जुन प्रकाशमा मानिसले सुखको उज्यालोमात्र होइन, शीतलता पनि महसुस गरिरहेका हुन्छन्। आफूभित्र रहेको प्रकाशको बिन्दु सानो र ठूलो भन्ने पनि हुँदैन। अन्धकारमा त्यो सानो उज्यालो बिन्दुलाई बाहिरबाट सजिलै पहिल्याउन सकिन्छ। औंसीको चकमन्न रातमा जुनकिरीको उज्यालोले पनि मानिसलाई मार्गदर्शन गरिरहेको हुन्छ। अन्धकारबाट निस्कन उज्यालोतिर पाइला चाल्नुपर्छ।

दूषित अवस्थाहरू अन्धकारमा फस्टाइरहेका हुन्छन्। अन्धकारभित्र भौंतारिरहेका दम्भहरूले उज्यालोतिर चालिएका पाइलाहरूलाई रोक्न सक्छ। काम, क्रोध, लोभ, मोह, ईष्र्या र द्वेषले मानिसलाई अहंकारी, छली र पाखण्डी बनाउँदै लान्छ। मानिसलाई दुराचारी, व्यभिचारी बनाउँछ। अन्धकारलाई उज्यालोको भ्रम छरिदिन्छ। वास्तवमा जीवनमा उज्यालो किरण प्रवेश गर्न दिइरहेकै हुँदैन। अन्धकारै अन्धकारमा मानिसलाई भ्रम सिर्जना गरिदिन्छ। फलतः मानिस एउटा दुःखको भुमरीबाट अर्को दुःखको भुमरीमा फस्न पुग्छ। आफूभित्र बत्ती बालेर हिँड्नेहरू आँखा बन्द गरेर हिँडे पनि गन्तव्य पहिल्याउन अन्य इन्द्रीयहरूले साथ दिइरहेका हुन्छन्।

हरेक अँधेरीहरू उजेलीको पर्खाइमा र हरेक उजेलीहरू अँधेरीको पर्खाइमा हुन्छन्। सूर्यास्तपछि सूर्योदयको प्रतिक्षामा घडीका सुईहरू घुमिरहेका हुन्छन्। सबै उज्यालाले सुखानुभूति नदिन पनि सक्छन्। उज्यालाका किरणहरूलाई कसले कहाँ र कसरी प्रयोग गरिरहेछ भन्ने कुराले पनि महत्व राख्छ। कहिलेकाहीँ मानिस सुखको मातले पनि दुःख निम्त्याइरहेको हुन्छन्। संसारमा अनेक कारणले मानिस दुखी बनिरहेका हुन्छन्। दुःखले सबै मानिसलाई डसिरहेकै हुन्छ। कोही धनी, धनी भएकै कारणले पनि दुखी भएका छन् भने गरिब आधारभूत आवश्यकताको अभावमा दुखी भइरहेछन्। 

मानिस कोही बिछोडमा दुखी छन्। कोही ब्यापार व्यवसाय घाटाले त कोही पारिवारिक सम्बन्धले। दुःखसँग नजोडिएको मानिस यो धर्तीमा सायदै होला।

मानिसका हरेक जीवनलाई चुनौती दिइरहने वास्तविकताको अर्को नाम हो दुःख। जीव र जगत्लाई राम्ररी अनुभव गर्ने ज्ञानका स्रष्टाहरूले पनि संसार सुखमय हैन, दुःखमय छ भनी जीवनको अध्ययनबाट निष्कर्ष निकालेका छन्। दुःखले सुखलाई नष्ट गर्न सक्दैन। तर, दुःखले सुखको परिभाषा भने गर्छ। मानिसले अनुभव गरिरहेको दुःख वास्तवमा डर हो। त्यसमा जिउने मानिसले आनन्द प्राप्त गर्न सक्दैन। मानिसले बुझ्नुपर्छ कि अन्धकारले अन्धकारलाई हटाउन सक्दैन, न अँध्यारोले उज्यालो नै। अँध्यारो र उज्यालो परिपूरक भने हुन्। अन्धकारबिना उज्यालोको र उज्यालोबिना अन्धकारको परिभाषाको अर्थ रहँदैन। उज्यालोमा मार्ग पहिल्याउन धेरै कष्ट गर्नुपर्दैन। तर, अन्धकारमा पनि मार्ग पहिल्याउनेहरूले सार्थक जीवन जिउने हुन्। अँधेरीमा हराइरहेका उजेलीहरूले पनि जीवनमा खुसीको किरण भने छरिरहेका हुन्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.