पदमा रहँदा अकुत कमाइ
अझै नटुंगिएको मुद्दा
पूर्वरक्षासचिव चक्रबन्धु अर्यालले अबैध सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले मुद्दा चलायो। उनले २ करोड ६० लाख ८१ हजार अकुत सम्पत्ति कमाएको दाबी अख्तियारको छ। विशेष अदालतले अर्याललाई भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष कैद, ६६ लाख जरिवाना र त्यति नै बिगो असुलउपर हुने फैसला गरेको थियो।
रक्षासचिव भएर २०५६ सालमा अवकाश पाएका अर्याललाई अख्तियारले २०६० मंसिर १० गते मुद्दा दायर गरेको थियो। त्यसविरुद्ध अख्तियारले सर्वाेच्चमा गरेको पुनरावेदनमाथि २०६८ पुस १२ गते न्यायाधीशद्वय कल्याण श्रेष्ठ र सुशीला कार्कीको इजलासले विशेषको फैसला उल्ट्याउँदै सुरु तहदेखि मुद्दा हेर्न अर्यालको मुद्दा विशेषमै फर्काइदिएको थियो। विशेषले दोषी करार गरेपछि त्यसका विरुद्धमा अर्याल सर्वोच्चमा गए। तर सर्वोच्चले अहिलेसम्म उक्त मुद्दा टुंग्याएको छैन।
व्यवसायीबाट असुली धन्दा
सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, रूपन्देहीका कार्यालय प्रमुख सुरेश ठाकुरले ४ करोड रुपैयाँभन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको पाइएको थियो। निर्माण व्यवसायीसँग विभिन्न बहानामा रकम माग गर्ने र रकम नदिए अनावश्यक दुःख दिई करिब ४ करोड रुपैयाँभन्दा बढी अकुत सम्पत्ति कमाएको र आफन्त एवं साथीभाइको बैंक खातामा जम्मा गरेको पाइएको थियो।
ठाकुरले सार्वजनिक सेवाको पदमा रहेर गैरकानुनी रूपमा आर्जन गरी, स्रोत पुष्टि नभएको, घुसबापत लिएको रकम श्रीमती अनिता ठाकुरको नाममा राखेको, अन्य व्यक्ति सन्तोष ठाकुर, बलराम उपाध्याय र मिनाक्षी सिन्हाको नाममा खाता खोली लुकाइराखेको पाइएको थियो। अख्तियारले २०७५ साउन १२ गते कार्यकक्षबाट १२ लाख ५० हजार ५ सय रुपैयाँसमेत बरामद गरेको थियो। २०७९ जेठ १३ गते विशेषले भने उनलाई सफाइ दिएको थियो।
अधिकृतको अवैध कमाइ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत रमाकान्त अर्यालले जागिर खाएको १६ वर्षको अवधिमा दुई करोड रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारको अनुसन्धानले देखाएको छ। उनीविरुद्ध अख्तियारले २०७६ जेठ १६ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अध्यागमन कार्यालयमा कार्यरत रहँदा उनीविरुद्ध उजुरी परेपछि आयोगले छानबिन गरेको थियो। २०७५÷२०७६ को आर्थिक वर्षसम्म उनको सम्पत्ति चार करोड ५६ लाख ८१ हजार आठ सय ४१ रुपैयाँ रहेको देििखएको थियो। त्यसमध्ये दुई करोड ६ लाख ८९ हजार एक सय ११ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको भेटिएको थियो। पछिल्लो समयमा विशेष अदालतले उनलाई सफाइ दिएको छ।
जागिरको अवधिमा अध्यागमन कार्यालयलगायत अतिरिक्त कमाइ हुने कार्यालयमा उनी बसेको अख्तियारको आरोपपत्रमा उल्लेख थियो।
नासुको ३ करोड आम्दानी
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका नायब सुब्बा हुन् ललितकुमार झा। उनले करिब डेढ करोड रुपैयाँभन्दा धेरै अकुत सम्पत्ति आर्जन गरे। अख्तियारले गरेको अनुसन्धानमा लामो समय अध्यागमनमा बसकेका नासु झासँग एक करोड ५६ लाख ७९ हजार २६ रुपैयाँबराबरको अकुत सम्पत्ति भेटिएको हो। इलाका प्रशासन कार्यालय बर्दिबासमा कार्यरत रहँदा २०७६ असार १५ अख्तियारले उनीविरुद्ध मुद्दा चलाएको थियो। अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहेकै वेला झामाथि अख्तियारले छानबिन थालेको थियो।
झा घुस प्रकरणमा राजीनामा दिएका अख्तियारका पूर्वआयुक्त राजनारायण पाठकका विश्वासपात्र थिए। पाठकमाथि छानबिनकै क्रममा अख्तियारमा झामाथि समेत उजुरी परेको थियो। विशेष अदालतले झालाई सफाइ दिएको छ।
प्राध्यापककै अकुत कमाइ
त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका प्राध्यापक भरतराज पहारीले राष्ट्रसेवक कर्मचारी भएकै समयमा अकुत सम्पत्ती आर्जन गरेको पाइएको छ। प्राध्यापक पहारीले २ करोड ४० लाख १ हजार ५ सय ९९ रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेका छन्। उनले कमाएको अकुत सम्पत्ति श्रीमती शोभा पहारीको नाममासमेत राखेको अनुसन्धानमा पाइएको छ। उनले आम्दानीभन्दा २ करोड ४० लाख ०१ हजार ५९९ बढी खर्च गरेकोे अख्तियारको अनुसन्धानबाट खुलेको थियो। अख्तियारले प्राध्यापक पहारीसहित पत्नी शोभा पहारी बराललाई समेत प्रतिवादी कायम गर्दै २०७३ साउन २४ मा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको थियो। २०७५ मंसिर १० गते विशेषले उनलाई दोषी ठहर गरेका थियो। विशेषले पहारीलाई २ करोड बिगो र जरिवाना तथा १० महिना कैदको फैसला सुनाएको थियो।
अकुत सम्पत्ति सेयरमा लगानी
नेपाल विद्युत प्राधिकरण, सूचना प्रविधि विभाग, रत्नपार्कका तत्कालीन कम्प्युटर इन्जिनियर बिदुर दाहालले पदमा रहँदा अकुत सम्पत्ति आर्जन गरेका थिए। उनले ८७ लाख शेयर लगानीसहित अर्किड इन्टरनेसनल कलेज संचालन गरेको अख्तियारको आरोप छ।
सार्वजनिक पदमा रहँदाको अवधिमा जम्मा १ करोड, ९७ लाख, ३५ हजार ३९३ आम्दानी गरेको देखिएको छ भने ३ करोड, ३ लाख,४३ हजार ९१० खर्च तथा लगानी गरेको पाइएको छ। यसरी हेर्दा १ करोड ६ लाख ८ हजार ५१७ आम्दानी भन्दा बढी खर्च गरेको पाइएकोे छ। अख्तियारले गरेको अनुसन्धानमा बढी खर्च भएको रकमको प्रमाणहरूबाट स्रोतको पुष्टि गर्न दाहालले नसकेको नदेखिएको छ। उनीविरुद्ध २०७३ साउन २६ मा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको थियो। दाहाललाई विशेषले दोषी ठहर गरेको छ।
मेसुले गरे अस्पतालमा मिचमाच
भरतपुर अस्पताल चितवनका मेडिकल सुपरिटेन्डेन्ट डा. केशवराज भुर्तेलले अकुत सम्पत्ति कमाएको खुलेको छ। डा. भुर्तेलले सार्वजनिक पद धारण गरेपछि २ करोड ६३ लाख ५२ हजार ६६८ अवैध आर्जन गरेको पाइएको छ। उनको २ करोड ६३ लाख ५२ हजार ६६ को सम्पत्तिको स्रोत नखुलेको अख्तियारको दावी छ। २०७५ वैशाख १३ गते अस्पतालको चारपटकसम्म मेसु बन्दा भुर्तेलले पदको दुरुपयोग गरी अकुत सम्पती आर्जन गरेको भन्दै विषेश अदालतले उनलाई भ्रष्टाचारी ठहर गरेको थियो। डा. भुर्तेललाई ३ महिना कैद, ३३ लाख ५६ हजार रुपैयाँ जरिवाना र सोही बराबर विगो भराउनुपर्ने फैसला अदालतले गरेको थियो। विशेषका अध्यक्ष बाबराम रेग्मी र सदस्यहरू प्रमोदकुमार श्रेष्ठ, नारायणप्रसाद पोखरेलले फैसला सुनाएका थिए।
थोरै आम्दानी धेरै खर्चले खुलायो अकुत
नेपाल टेलिकम काठमाडौंका वरिष्ठ प्राविधिक अधिकृत अनिलकुमार आचार्यले सार्वजनिक पदमा रहँदा अकुत सम्पत्ति आर्जन गरेका थिए। उनीविरुद्ध २०७१ चैत २२ मा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको थियो। विशेषले २०७४ फागुन २९ गते उनलाई सफाइ दिएको छ। विशेषका न्यायाधीस दवारिकामान जोशी, चण्डीराज ढकाल र नारायण प्रसाद पोखरेलको इजलासले उनलाई सफाइ दिएको थियो।
लेखा अधिकृतको ठेकेदारबाट लुट
जिल्ला आयोजना कार्यालय धनकुटाका लेखा अधिकृत कुमारबहादुर कटवालले ठेक्कापट्टामा अनियमितता गरेका थिए। ठेक्कापट्टा, विकास निर्माणका कार्यक्रमा भ्रष्टाचार गरेर उनले अकुत आर्जन गरेको देखिएको छ। उनले सार्वजनिक सेवामा प्रवेश गरेदेखि आर्थिक वर्ष २०६८÷६९ सम्ममा १ करोड २५ लख ८८ हजार ६९ आम्दानी गरेका थिए।
सार्वजनिक पदमा रही आफ्नो पदको दुरुपयोग गरी १ करोड ३८ लाख १९ हजार ६३४ गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको देखिएको अख्तियारको निष्कर्ष छ। कटवालले अकुत सम्पत्तिबाट श्रीमती दलकुमारी कटवाल, छोराहरू राजन कटवाल र रविन कटवालसमेतका नाममा जग्गा खरिद, घरनिर्माण, विभिन्न कम्पनीहरू तथा वित्तीय संस्था एवं बैंकहरू एवं विद्यालय समेतमा सेयर लगानी आदि सम्पत्ति जोडेको पाइन्छ। स्रोत नखुलेको भागको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि श्रीमती दलकुमारी कटवालसहित प्रतिवादी कायम गरी २०७२ चैत्र १९ मा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। उनलाई विशेषले भने सफाइ दिएको छ।