सिड्नीमा नेपाली भाषा सिकाउन ‘ओपन डे’

सिड्नीमा नेपाली भाषा सिकाउन ‘ओपन डे’
सिड्नीमा नेपाली भाषा सिक्दै विद्यार्थी ।
सुन्नुहोस्

शब्दमालाले सिड्नीका नेपाली बालबालिकाहरूलाई नेपाली भाषा सिकाउँदै आएको छ।

सिड्नी : शब्दमाला नेपाली भाषा विद्यालयले सिड्नीको विभिन्न स्थानमा ‘ओपन डे’ सुरु गर्ने भएको छ। विगत ११ वर्षदेखि शब्दमालाले सिड्नीका नेपाली बालबालिकाहरूलाई नेपाली भाषा सिकाउँदै आएको छ। सिड्नीको विभिन्न स्थानमा रहेर भाषाको कक्षा सञ्चालन भएता पनि कतिपय अभिभावकहरूलाई यसको जानकारी नभएको पाएकाले ‘ओपन डे’को आयोजना गरिएको विद्यालयले जनाएको छ। यसपटक आइतबारदेखि यो कार्यक्रम सुरु हुनेछ।

एक तथ्यांकअनुसार सिड्नीमा करिब ६७ हजार परिवारहरू स्थायीरूपमा बसोबास गर्दै आइरहेका भएता पनि मात्र ३ सय विद्यार्थीहरू भर्ना भएका छन्। व्यस्त जीवनशैली त्यसमा पनि बालबालिकाहरू खेलकुद, नृत्यजस्ता अन्य एक्स्ट्रा करिक्युलर क्रियाकलापमा गएपछि भाषा शिक्षा नेपाली अभिभावकको प्राथमिकतामा नपरेका देखिन्छ।  

१२ को परीक्षा दिन तयारी गर्दै गरेकी १७ वर्षीय लिसा रुवाली आफूले केही वर्षमात्र नेपाली भाषाको कक्षा लिएर छाडेको बताइन्। ‘हाइस्कुल सुरु हुनासाथ पढाइ र ट्युसनमा ध्यान दिनु परेकोले भाषा कक्षा छुटेको हो,’ उनले भनिन्। यद्यपि मौका पाएमा पछि जारी राख्ने इच्छा रहेको उनले जानकारी दिइन्। उनले भाषाले आफ्नो परिवार, संस्कृति र समुदायसँग जोड्न अत्यन्त महत्त्व रहने पनि जनाइन्। यो कुरा गरिरहँदा उनले प्रस्ट रूपमा नेपालीमा जवाफ दिइरहेकी थिइन्। 

बालबालिकाको व्यक्तित्व विकासमा भाषाको अत्यन्त ठूलो महत्त्व हुने जोड दिँदै शब्दमालाका अध्यक्ष विष्णु घिमिरेले स्थानीय अभिभावहरूलाई शब्दमालामा आएर भाषा सिक्न र सिकाउन अनुरोध गरेका छन्। शब्दमालाको अस्ट्रेलियन नेपाली समुदायमा योगदानको कदर गर्दै एनआरएनका अध्यक्ष नन्द गुरुङले सम्पूर्ण नेपालीलाई भाषा प्रवद्र्धनका लागि स्थानीय नेपाली अभिभावकसँग आह्वान गरे।

राज्य सरकारले आप्रवासी नागरिकहरूलाई भाषा जोगाउन मद्दत प्रोत्साहन गर्छ। त्यसै सामुदायिक भाषा विद्यालय कार्यक्रमअन्र्तगत शब्दमालाले स्थानीय स्कुलमा भाषा पढाउनको लागि स्थान र केही आर्थिक सहयोग सरकारबाट पाउने गरेको छ। किनभने एनएसडब्ल्यू राज्यमा झन्डै एक तिहाइ विद्यार्थीहरू अंग्रेजीबाहेकको अन्य भाषामा आबद्ध रहेका पाइएको छ। एनएसडब्ल्यू सरकारका अनुसार हाल सिड्नीमा करिब पाँच सय भन्दा बढी विभिन्न भाषाका स्कुलहरू विकेन्डमा सञ्चालन हुन्छन्। जसमा झन्डै ३८ हजारभन्दा बढी विद्यार्थीले बर्सेनि भाग लिने गरका छन्। 

त्यस्तै नेपाली भाषाका कक्षाहरू सिड्नीको ग्रयानभिल, द पोन्ड्स, वाइटारा, क्याम्सी र मक्वारी फिल्ड्स गरी जम्मा ६ वटा पब्लिक स्कुलहरूबाट शब्दमाला पठनपाठन गराउँदै आएको जानकारी शब्दमालाका सहसचिव दीपक लामिछानेले बताए। विद्यालयको व्यवस्थापनमा करिब २० स्वयम्सेवक अभिभावकहरूद्वारा सञ्चालित छ भने ३२ स्वयम्सेवक शिक्षकहरूले पाठ्यक्रम बनाउने र पढाउने पनि गर्छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.