देउडाले गुञ्जायमान सुदूरका बस्ती
देउडा डोट्याली लोकसाहित्यको एक प्रमुख विधा हो। यो विधा लोकगीतसँग सम्बन्ध राख्छ। देउडा गायन र खेल दुवै रूपमा प्रस्तुत हुने गर्छ। देउडा खेल्दा गोलो घेरामा एकापसमा हात जोडेर गाउँदै पैतलाको तालमा घुम्ने गरिन्छ।
कञ्चनपुर : सुदूरपश्चिमका गाउँबस्ती यतिबेला देउडा गीतले गुञ्जायमान छन्। गौरापर्वको अवसरमा देउडा, ढुस्को, धुमारी र ठाडो खेलको रौनक सुदूरका हरेक बस्तीमा छाएको छ। काठमाडौंको टुँडिखेलबाट पश्चिमको दार्चुलासम्म देउडा खेलले माहोल रोमाञ्चक बनेको छ। अहिले सुदूरपश्चिमवासी देउडामा रमाएका छन्।
देउडा डोट्याली लोकसाहित्यको एक प्रमुख विधा हो। यो विधा लोकगीतसँग सम्बन्ध राख्छ। देउडा गायन र खेल दुवै रूपमा प्रस्तुत हुने गर्छ। देउडा खेल्दा गोलो घेरामा एकापसमा हात जोडेर गाउँदै पैतलाको तालमा घुम्ने गरिन्छ। पाइतालाको चालकै आधारमा डेढ पाइला अगाडि र डेढ पाइला पछाडि चलाउँदै खेलिने भएकाले यसको नाम देउडा रहन गएको जानकार बताउँछन्।
‘देउडा खेल्दा डेढ पाइला अगाडि र पछाडि सर्ने भएकाले देउडा भनिएको हो’, साहित्यकार कविराज भट्टले भने, ‘देउडा लोकवार्ता र लोकनृत्य पनि हो।’ यो सुदूरपश्चिमको ऐतिहासिक, धार्मिक महŒव र पहिचान पनि भएकाले यसको निरन्तरता आवश्यक रहेको उनले बताए। देउडामा देवगाथालाई मनोरञ्जनात्मक रूपमा प्रस्तुत गरिन्छ।
‘देउडा खेलमा दुई वा दुईभन्दा बढी डेउडियाबीच दोहोरी हुने गर्छ’, भट्टले भने, ‘यसमा एउटाले प्रश्न सोध्ने र अर्काले त्यसको तत्काल प्रतिउत्तर दिनुपर्ने हुन्छ।’ देउडामा पुराण, इतिहास, राजनीतिलगायत ज्ञानगुनका विविध विषयवस्तुमा आधारित प्रश्न सोधिने गर्छन् भने कतै व्यंग्यको पनि प्रस्तुति हुने सुदूरपश्चिम प्रगतिशील लेखक संघका अध्यक्ष रमेश पन्त मितबन्धु बताउँछन्। ‘देउडामा समाजका राम्रा–नराम्रा पक्ष र समसामयिक घटना उठानका साथै मायाप्रेमका कुरा पनि आउने गर्छन्’, उनले भने, ‘यो विशेषगरी गौरा तथा मेला पर्वमा खेल्ने गरिन्छ।’
देउडा खेल्नका लागि कुनै विशेष पर्व नै हुनुपर्छ भन्ने नभएको उनले बताए। ‘सुदूरपश्चिममा पहिले–पहिले मनोरञ्जनका लागि विवाह, व्रतवन्ध र अन्य चाडवाडमा पनि खेल्दै आएको पाइन्छ’, उनले भने, ‘गौरा पर्वका अवसरमा भने देउडा बढी मात्रामा खेल्ने गरिन्छ।’ देउडा महिला तथा पुरुषका छुट्टाछुट्टै र कतै मिश्रित रूपमा पनि हुने गरेको पाइन्छ।