सप्तकोसीले घर बगाएपश्चात् पीडित परिवारको विचल्ली

सप्तकोसीले घर बगाएपश्चात् पीडित परिवारको विचल्ली
सुन्नुहोस्

धरान : सप्तकोसी नदीमा आएको बाढीले घर बगाएपश्चात् सुनसरीको बराहक्षेत्र नगरपालिकाका-६ को श्रीलंका टापुका घर परिवारको बिचल्ली भएको छ। कोसीमा आएको बाढीका कारण चार दिनदेखि विस्थापित भएका उनीहरूको पुनः स्थापनामा कसैले चासो देखाएका छैनन्। 

सप्तकोसी नदीमा आएको बाढी श्रीलंका टापुको मानव बस्तीमा पसेपछि श्रीलंका टापुको चिलैया टोलका  विश्वनाथ उराँउ, अजमलाल उराँउ, कलदेवी उराँउ कालुदेवी उराँउ, नुनु उराँउ र रिजाल उराँउको घर र खेतीयोग्य जमिन बगाएको स्थानीय सन्तोष चन्द्रबंसीले बताएका छन्। उनले बाढीका कारण यहाँका अन्य ३२ घर परिवार बाढीको उच्च जोखिममा बताएका छन्। 

बाढीबाट विस्थापितहरूलाई साविकको स्थानबाट एक किलोमिटर पश्चिमतर्फको खाली जग्गामा सारिएको छ। घरमा भएका सबै सामग्रीहरू बगाएका कारण विस्थापित परिवारको जीवनयापनमा समस्या भएको छ। 

बाढीबाट विस्थापित भएका अजमलाल उराँवले सप्तकोसीले घर खेत बगाएका कारण १० जनाको परिवारको बिचल्ली भएको बताए। उनले घरमा भएको अन्नपात र खेतमा पोकका मकै थन्क्याउन नपाई बाढीले बगाएको बताए। 

भारत सरकारले कोसी सम्झौता अनुसार तटबन्ध निर्माण नगरेका कारण सप्तकोसीले पश्चिम तर्फको २ किलोमिटर चौडाई र १० किलोमिटर लम्बाई क्षेत्रफलको मानव बस्ती र खेतीयोग्य जमिन कटान गरेको अर्का स्थानीय पाण्डव राजबंसीले बताए। 

उनले बर्सेनि कोसीको बाढी पश्चिमतर्फ फर्किएपश्चात यहाँका ५ सयभन्दा बढी घरपरिवार विस्थापित हुने अबस्थामा पुगेको बताए। गत साल पनि चिलैया टोलका ६० घर मा बाढीले कटान गरेका कारण यहाँबाट विस्थापित हुनुपरेको अर्का स्थानीय ध्रुव राईले बताए। 

उनले सप्तकोसीको पश्चिमतर्फ तटबन्द निर्माण गरी श्रीलंका टापुका बासिन्दाको जीउधनको सुरक्षा गर्न माग गरेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.