बर्दिवासमा निःशुल्क कृतिम हात खुट्टा जडान गरिँदै
ढल्केवर : महोत्तरीको बर्दिवासमा निःशुल्क कृतिम हात र खुट्टा जडान गर्ने क्याम्प सुरु भएको छ। विभिन्न घटनामा हात खुट्टा गुमाएका व्यक्तिलाई कृतिम हात र खुट्टा प्रदान गर्न रोटरी क्लब अफ बर्दिवासले क्याम्प सञ्चालन गरेको हो
शनिबार बर्दिवास सेवा समितिको हलमा एक कार्यक्रमको आयोजना गरी प्रदेशसभा सदस्य शारदादेवी थापा र बर्दिवास नगरपालिकाका मेयर प्रह्लादकुमार क्षेत्रीले क्लबको उक्त शिविरको उद्घाटन गरेका हुन्।
शिविरमा विभिन्न घटना दुर्घटनामा हात खुट्टा गुमाएकालाई निःशुल्क रुपमा कृतिम हात र खुट्टा प्रदान गरिने रोटरी क्लब अफ बर्दिवासका अध्यक्ष कृष्णप्रसाद गौतमले जानकारी दिए। उनका अनुसार देशको विभिन्न जिल्लासँगै भारतको सीमावर्ती क्षेत्रका व्यक्तिहरू समेत सम्पर्कमा आएर नाम दर्ता गराएका छन्।
शिविरमा कृतिम हात र खुट्टा प्रदान गरिने छ। कृतिम हात भने सीमित मात्र रहेको छ। अहिलेलाई हात १२ जनालाई मात्र दिन सक्छौं,’ अध्यक्ष गौतमले भने ‘खुट्टा चाहिँ आएजति सबैलाई दिन्छौं।’ रोटरी क्लब अफ वीरगन्जको सहयोगमा शिविर सञ्चालन गरिएको अध्यक्ष गौतमले बताए। भदौ २५ गतेसम्म सञ्चालन हुने शिविरमा हालसम्म ९० जनाले नाम दर्ता गराएको उनले जनाए।
शिविरमा कृतिम हात खुट्टा जडान गर्न बंगलादेशका ४ र नेपालका दुईसहित ६ जना प्राविधिक खटिएको अध्यक्ष गौतमले सुनाए।