बाँसको घर, ‘पक्की’बराबर
उदयपुर : धेरैलाई बाँसको उपयोगिताबारे थाहा छैन। सामान्य बार बेरा गर्ने, टाटी बुन्ने, घरको छानोमा भाटाको रूपमा प्रयोग गर्ने र सुकेपछि दाउरा बाल्ने भन्ने मात्र थाहा छ। त्यसैले खेतीयोग्य जमिन, बारीमा भन्दा पनि खोला किनारा छेउमा लगाउने चलन छ।
अन्य कामभन्दा पनि खोला किनारा र पहिरो जाने ठाउँमा बाँस लगाउँदा नदी कटान र पहिरोबाट केही मात्रमा भए पनि जोगाउन सकिन्छ भन्ने बुझाइ छ। गाउँघरमा काठको विकल्पका रूपमा केही समयका लागि तत्काल बाँसको प्रयोग गरिन्छ। घाम पानीले भेट्यो भने मक्किने, धँुलिया लाग्ने भएकाले त्यसको विकल्प खोज्ने गरिन्छ।
तर, यसलाई सही उपचार गरेर प्रयोग गर्न सके तीन दशक बढी समय टिक्ने मजबुद घर बन्छ भन्ने विरलै थाहा छ। त्यसकारण पनि प्रायःजसो सानो छँदै तामालाई भाँचेर तरकारीका रूपमा प्रयोग गर्ने, कम उपयोगी भएकै कारण माग्न आउनेलाई सित्तैमा दिने, पशुचौपायलाई घाँस खुवाउन पात पलाउनसाथ काट्ने र बढ्न नदिने चलन गाउँघरमा अहिले पनि छ।
उदयपुरको त्रियुगा नगरपालिका–३ र ४ मा भर्खरै बाँसको सही प्रयोग विधिलाई प्रयोगमा ल्याइएको छ। हयाबिट्याट फर ह्युम्यानिटी नेपाल र त्रियुगा नगरपालिकाको सहयोगमा हुरेन्डेक उदयपुरले बाँसका ४२ वटा घर निर्माण गरिरहेको हो।
तीमध्ये एक दर्जन घर निर्माण सम्पन्न भइसकेका छन् र बाँकी निर्माणाधीन अवस्थामा रहेको हुरेन्डेकका कार्यक्रम संयोजक तथा इन्जिनियर ध्रुवराज कार्कीले बताए। उनका अनुसार दसैंभित्र कम्तीमा २० वटा घर सम्पन्न हुने छ। उनले भने, ‘भुक्तानी प्रक्रिया केही ढिलाइ भएर बाँस ल्याउने काम रोकिएको छ, अब हामी छिट्टै काम अघि बढाउँछौं र यो दसैंमा २० घरले त्यही घरमा बसेर मनाउन पाउनु हुनेछ।’ संस्थाले चालु आर्थिक वर्षमा त्रियुगा र चौदण्डीगढी नगरपालिकामा ३० वटा थप नयाँ घर बनाउने उनले बताए।
नगरपालिकाका मेयर बसन्तकुमार बस्नेतले नगर भित्रका गरिब, असाह्य, दलित जसको आर्थिक अवस्थाले नै घर बनाउन सक्ने छैन त्यस्ता व्यक्तिलाई आवासको व्यवस्था गर्नु नगरपालिकाको दायित्व भएको बताए। मेयर बस्नेतले आफ्नो कार्यकालमा १० हजार परिवारलाई बाँसको घर निर्माण गरी आवास उपलब्ध गराउने लक्ष्य रहेको बताए। त्यति मात्र नभई घरसँगै शौचालय, पीउने पानी र घरनजिक करेसाबारी बनाई सागसब्जी तरकारी उत्पादन गरी वातावरण र स्वास्थको हिसावले समेत उनीहरूलाई सबल बनाउने योजना रहेको बताए। भूकम्पको कम जोखिम र कम लागतमा घर निर्माण हुने भएकाले अन्य सर्वसाधारणलाई समेत बाँसको घर निर्माण गर्न उनले आग्रह गरेका छन्।
लागत कति ?
कस्तो डेकोरेसन, कति कोठा र साइजको निकाल्ने र कत्रो घर बनाउने भन्ने रोजाइको विषय सम्बन्धित व्यक्तिको हो। त्यहीँ अनुसारको नापनक्सा र लागतसहितको स्टिमेट बन्छ। तर, अहिले निर्माण भइरहेका घर दातृनिकायको सहयोगमा बनेकाले उनीहरूले बनाएका नाप, नक्सा, साइज र मूल्य नै अन्तिम हो।
नगरपालिकाको स्टिमेटअनुसार एक किचनसहित दुईवटा कोठा, बरन्डा, सिँढी र शौचालय तयार हुँदा घरको लागत ५ लाख ३८ हजार ६४० रुपैयाँ लाग्ने कार्यक्रम संयोजक कार्कीले बताए। उनले भने, ‘झापा जिल्लाबाट उपचार गरी ल्याइएको बाँस, सिमेन्ट, रड, जस्तापाता, प्यान, किलाकाँटी, ब्लक, दक्ष र अदक्ष मिस्त्रि ज्याला सबैको खर्च त्यसमा जोडिएको छ।’ ‘त्यसमध्ये दुई–दुई लाख संस्था र नगरपालिकाले गरी चार लाख बाँकी श्रमदानवापत उपभोक्ता समिति र सम्बन्धित घरधनीले बेहोर्ने गरी सम्झौता भएको छ’ उनले भने, ‘घर बनाउने पैसा नभए पनि श्रमदान गर्न सक्छ भनेरै यस्तो सहमति गरेका हौ।’
त्रियुगाका कहाँ–कहाँ बन्दै छन् ?
घर निर्माण सुरु गर्नुअघि नगरपालिकासँग सम्झौता गरी कहाँ–कहाँ बनाउने भन्ने विषयमा संस्थाका केही सर्तसहित सूचना प्रकाशन गरिन्छ। आर्थिक रूपले विपन्न, अशक्त, सकेसम्म दलित हुनुपर्ने, नम्बरी, ऐलानी जस्तो भए पनि जग्गा हुनुपर्ने ऐलानी भए नगरपालिकाले भत्काउन नपाउने गरी सहमति गर्नुपर्ने व्यवस्था छ। सोहीअनुसार पहिलोचरणमा त्रियुगा नगरपालिका–३ र ४ का बस्ति छनोटमा परेका हुन्। वडा नंं ४ को शिवशक्ति टोलमा निर्माण हुँदै गरेका २३ घरमध्ये १३ घर दलित परिवार र बाँकी मिश्रित समुदाय छ। वडा नं. ३ चाँपमा पनि दलित बस्तीलाई नै प्राथामिकता दिईएको मेयर बस्नेतले बताए। यसपछि चालु आर्थिक वर्षमा वडा नं. २, ५ र १० का बस्तीमा निर्माण गर्न नगरपालिकाले भुक्तानी गर्नुपर्ने एक करोड रुपैयाँ विनियोजन गरिसकिएको उनले बताए।
त्यसैगरी चौदण्डिगढी नगरपालिकामा पनि चालु आर्थिक वर्षमा नमुनाका रूपमा सोही संस्थाबाट निर्माण गर्ने गरी दशवटा घरका लागि बजेट व्यवस्था गरिएको उपमेयर मणिकादेवी दुलालले बताइन्। उनले त्रियुगामा बनेको घर देखेर नै नमुनाका रूपमा लैजाने योजना बनाएको बताइन्।
]नयाँ घर पाएपछि निकै खुसी मुद्रामा देखिएकी वडा नम्बर ४ शिवशक्ति टोलकी निरुमाया कार्कीले भनिन्, ‘उमेर पुगेका छोरा छुट्एिर गए, बुढेसकालमा यहीँ छानो चुहेको घरमा बित्ला भन्ने लागेको थियो, नगर सरकारले नजर लगाइदिनु भयो सारै खुसी छु।’
]उनी मात्र होइन नयाँ घर पाएकी मनमाया परियार भन्छिन्, ‘यतिको घर बन्छ र राम्रोसँग बस्न पाइन्छ भन्ने कल्पना नै गरेको थिएनौं, जे होस हामी जस्ता गरिवको पनि दिन आउने रहेछ।’ पुरानो घरलाई देखाउँदै शिवशक्ति टोल सुरक्षित आवास उपभोक्ता समितिका अध्यक्ष धरमबहादुर सार्की भन्छन्, ‘त्यही घर हो जुन घरको आकाशबाट बर्सिएको पानी घर बाहिर जाँदैन्, सबै घरभित्रै खस्थ्यो, अब अहिले हाम्रा लागि घरले ठूलो काम गरेको छ।’
सरकारी एजेन्सीसँगको साझेदारीमा स्थानीय स्रोतको अधिकतम प्रयोग गरी संस्थाले आवास, लघुवित्त र बजार विकास कार्यक्रमहरू सञ्चालन गर्दै आएको ह्याबिट्याटका इन्जिनियर विकास घिमिरेले बताए। ३५ वर्ष आयु रहेको घर भूकम्प, जंगली जनावार, हावापानीबाट सजिलै जोगिन सकिने उनले बताए। परियोजनाले निम्न आय भएका र सीमान्तकृत परिवारका लागि घर निर्माणमा योगदान पु¥याई सामाजिक परिवर्तनमा सघाउ पु¥याएको उनले बताए।
सचेतना अभियान
कुनै पनि नयाँ कामको थालनी गर्दा त्यस विषयमा सर्वसाधरणलाई जानकारी दिन र बुझाउन सकिएन भने त्यसको औचित्य रहँदैन। त्यसकारण प्रचार–प्रसार र सचेतनाका कार्यक्रम अनिवार्य छ। कार्यक्रमअन्तर्गत संस्थाले उपचार गरिएको बाँसको उपयोगिता र वजार प्रबद्र्धनसम्बन्धी सरोकारवालासँगको अन्तक्र्रिया गरेको छ। बाँसको बजारीकरण, उपयोगिता, न्युन लागत र उपचार विधिका बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हुरेन्डेकका अध्यक्ष शंकरबहादुर थापाले बताए।
उनले भने, ‘खेर गएको बारी, जमिन, खोला छेउछाउमा कम मेहनतमा बाँस उत्पादन हुने भएकाले यसको उपयोगितालाई मध्यनजर गरी व्यापारी र किसानलाई प्रोत्साहन गर्नुपर्ने देखिन्छ।’ कार्यक्रममा बाँस विज्ञ प्रनव प्रधान, कृष्ण अर्याल र अभिषेककुमार झाले बाँसको उपयोगिताका बारेमा सामग्रीहरू प्रस्तुत गरेका थिए।
उनीहरूले स्वदेश तथा विदेशमा बाँसको प्रयोग यसबाट बनेका प्रविधि, सामग्री, यसका फाइदा, उपयोगिता, सही प्रयोगबारे जानकारी गराएका थिए। उनीहरूले बाँसका विषयमा विश्वभर भइरहेका असल अभ्यास, चुनौती र अवसरका बारेमा जानकारी गराएका थिए। त्यसैगरी संस्थाले बाँसको घरको विशेषताका बारेमा जानकारी दिन युवाहरूलाई स्वंयसेवकको भूमिका निर्वाह, पर्याप्त आश्रयको वकालत र किफायती आवासको समर्थन गर्न सचेतना अभियान सुरु गरेको छ।
त्रियुगा नगरपालिका–३ बाट सुरु गरिएको अभियानमा ४५ जना युवा स्वयंसेवक, नागरिक समाजका प्रतिनिधि र हयाबिट्याट सामुदायिक घरधनीहरूको सहभागिता रहेको अध्यक्ष थापाले बताए।