एग्रिकल्चर रियालिटी शोको घोषणा
काठमाडौं : विश्वकै पहिलो एग्रिकल्चर गेम रियालिटी शो ‘रिभलुस्नरी एग्रिकल्चर वार’को घोषणा भएको छ। कृषि , उद्दमशिलता र जलवायु परिवर्तनलाई मुख्य आधार बनाएर इ. स्क्वायर प्रालिले गेम रियालिटि शो गर्न लागेको हो। एग्रिकल्चर र इन्टरटेनमेन्ट दुई विधाको संयोजनबाट एग्रिटेनमेन्टको परिकल्पना गरिएको हो।
यस शोमा दुई किसिमका प्रतिस्पर्धी किसान र कृषि प्राविधिकले भाग लिने बताइएको छ। किसान भन्नाले कुनै पनि कृषि पेशामा व्यवसायिक रुपले आवद्ध व्यक्ति भनेर परिभाषित गरिएको छ भने कृषि प्राविधिक भन्नाले बीएससी एग्रिकल्चर वा सो सरह पढेका व्यक्तिहरू भनेर परिभाषित गरिएको छ। शुक्रबार आयोजित कार्यक्रमबाटै शोका सर्जक एवं निर्देशक शैलेश कँडेल क्षत्री, मास्टर होस्ट राजेश हमाल, ग्रान्ड जजका रुपमा डा. योगेन्द्रकुमार कार्की र डा. नम्रता पाण्डेलाई परिचित गराएको छ।
कार्यक्रममा बोल्दै अभिनेता राजेश हमालले नेपालको विकास गर्नु छ भने व्यवसायिक कृषिसँगै कृषि क्रान्ति अपरिहार्य रहेको बताए। ‘तीन दशक लामो अभिनय यात्रामा कयौं पटक किसानको भूमिकामा देखिएको थिएँ। अब किसानको वास्तविक क्रान्तिमा सहभागी हुन पाउँदा आफूलाई ओजिलो महसुस गरेको छु। यतिका समय देशका विभिन्न तहमा बसेर कृषि क्रान्तिमा गफ गरेको सुनिएको थियो।
अब भने यो कार्यक्रममार्फत साच्चै नै कृषि क्रान्तिको परिभाषा परिवर्तन हुने अपेक्षा राखेको छु’, उनले भने, ‘यो खालको कार्यक्रमलाई राज्यको औपचारिक निकायले अपनत्व लिनुपर्छ। युवाहरूको यो सोचलाई मास्टर होस्टको रुपमा आफूले नेतृत्व गर्न पाउँदा अद्भुत अनुभूति भएको छ।’ निर्देशक शैलेश कँडेल क्षत्रीले यो शो किसान र कृषि प्राविधिकबीचको प्रतिस्पर्धा नभएको बताए। कृषि आधुनिकीकरणबाट मात्र नेपालको वास्तविक परिवर्तन सम्भव रहेको निर्देशक कँडेलले बताए।