विद्यावारिधि कि जीवनवारिधि ?

विद्यावारिधि कि जीवनवारिधि ?

भोलि देश हाँक्नेहरूलाई विद्यावारिधिसम्म जाने बाटो त तय गरिदियौं तर जीवनवारिधिको थैली रित्तो छोड्यौं कि ?

सन्दर्भ– १ : एकदिन विद्यार्थीलाई प्रश्न सोधें, ‘तिमी बसेको स्थानीय तहको नाम के हो ? त्यसको प्रमुख वा उपप्रमुख को हुनुहुन्छ ?’ ‘थाहा छैन।’ कलेजमा प्राध्यापन गर्थें। पुनः अर्को प्रश्न गरें– ‘कहिल्यै वडा कार्यालय गएका छौ ?’ उत्तर आयो– ‘केही काम नै पर्दैन। किन जानु र सर ?’ अन्तिममा सम्झाएँ– ‘विद्यार्थीलाई यस्ता सामान्य विषयको जानकारी हुनुपर्छ। अलि ख्याल गर्नुपर्छ। जीवनमा उपयोगी हुने व्यावहारिक विषयहरू पो हुन् त यी। किन ध्यान नदिएको ? यस्ता कुरामा ‘अपडेट’ भइरहनु पर्छ है’ भन्दै उत्प्रेरित गर्दै थिएँ। प्रतिउत्तर दिँदै विद्यार्थीले भन्छन्– ‘हे ! सर, धेरै ल्याङल्याङ नगर्नु न हौ। के चाहिने के नचाहिने म नि जान्दछु।’

एउटा कक्षामा भएको सबाल–जवाफको दायरा सानो होला तर पनि झस्किएँ। सोचें। सम्झिएँ। शून्य भएँ। हुन त डा. नवराज केसीको बुझाइमा ‘शून्यको पनि मूल्य’ हुन्छ रे। यदि नहुँदो हो त शून्य हुँदो नै किन हो ? शून्य भनेको एकमा पुग्नु अगाडिको तयारी हो नि। हामीले त्यो तयारी गरेनौं 
कि ? विद्यार्थीलाई विद्यावारिधिसम्म जाने बाटो त तय गरिदियौं तर जीवनवारिधिको थैली रित्तो छोड्यौं कि ? अंक त सिकायौं होला, अक्कल अड्किएको फुकाइदिएनछौं। किताब दियौं तर जिन्दगीका पेचिला पाठ समावेश नै गरेनछौं। के चाहिने ? के नचाहिने ? बुझाउन सकेनछौं।

धेरै सोच्न पुगें। भूमिका दिएनछौं। अह्राएको मात्र गर्न सिकाएछौं। ठोक्किएर, पोखिएर, सक्किएर, लडेर, छुट्टिएर फेरि जोडिनु जीवनको अर्थ हो भन्ने ज्ञानमा कमी भएछ सायद। यसमा दोष कसको भन्नु ? तपाईं दोषी। म दोषी। यो समाज दोषी। अनि शिक्षा प्रणाली पनि दोषी। शिक्षण शैली दोषी। अभिभावक दोषी। राज्य दोषी। हामी सबै दोषी। बालबालिकालाई पढ्नुपर्छ त भन्यौं तर किन पढ्ने ? जीवन जोडेर जवाफ दिएनौं सायद।  उत्तर अनुत्तरित नै रह्यो सायद। हुन पनि हो। शिक्षक भन्छन्– पढ। अभिभावक पनि भन्छन्– पढ। आफूभन्दा ठूलोले भन्छन्– पढ। आखिर किन पढ्ने ? जागिर खान। विदेश जान। धेरै पैसा कमाउन। महँगा महँगा गाडी वा बंगला किन्न। बुवा–आमाको सपना पूरा गर्न। खुसी बन्न। इमान्दार बन्न। समाजको हित हुने कार्य गर्न। आफ्नो माटोलाई माया गर्न। सामाजिक प्राणी बन्न। केका लागि पढ्ने हो ? बालमस्तिष्कमा अनेक प्रश्न ओइरिनु स्वाभाविक हो।

सन्दर्भ– २ : तराईमा बस्ने आफन्त दाजुको घर गएको थिएँ। भतिजी स्नातक तहमा अध्ययन गर्दै रै’छिन्। उनीसँग कुराकानी भयो। भनें– ‘नानी, राम्रो पढ है। केही गर्नुपर्छ।’ आ ! काकु यहाँ पढेर के हुन्छ र ? म त कोरियन भाषाको किताब पढ्दैछु। भाषा सिकेर कोरिया जाने हो।’ थपिन्, ‘पहिले पहाडमा सँगै स्कुल पढेको साथी यता गएर थुप्रो पैसा कमाइसकेछ नि ? म नि जाने हो।’ फुरुक्क परिन् भतिजी। सायद उनलाई नेपालमा के छ र ? यहाँ बसेर केही हुँदैन। केही गर्न पनि सकिँदैन। स्वदेशमा रोजगारीको अवसर नै छैनजस्ता निराशाजनक सोच पलाएको हुनुपर्छ। जुन परिवार र समाजबाट नक्कल गरेको हुनुपर्छ। हो पनि, आशा जगाउनेभन्दा देशबारे नकारात्मक विषयकै चर्चा बढी हुने गरेको जताततै देखिन्छ। सुनिन्छ। भेटिन्छ। उनले खराब छ भन्ने मान्छेमात्र भेटिन् सायद। यो नेताले गरेन। त्यो पार्टीले गरेन। भनेको मात्र देखेको सुनेको हुँदा उनले पनि देशप्रतिको माया र सम्भावना देखिनन्। अरूको नक्कल गरिन्। र, त्यही अभिव्यक्ति दिइन्।

यसै प्रसंगमा डा. नवराज केसीको ‘शून्यको मूल्य’ पुस्तकको पृष्ठ १९ मा उल्लेखित विषय मनन् गरौं– मान्छे सामाजिक प्राणी हो। तर ऊ सामाजिक प्राणीभन्दा बढी नक्कले प्राणी हो। मानिसले सबैभन्दा धेरै कुरा नक्कल गरेर सिक्छ। ती बहिनीको पनि नक्कली शैली नै हो। यसको एउटा रोचक अध्ययन छ, ‘एकपटक एक वैज्ञानिकले एउटा मानिसको बच्चालाई चिम्पान्जीको आमासँग हुर्किन छाडेछन्। अनि त्यो चिम्पान्जीको बच्चोलाई मानिसको आमासँग। पाँच वर्षपछि मान्छेको बच्चा र चिम्पान्जीको बच्चोमा के नयाँ कुरा देखियो होला त ? उत्तर बहुत रोचक छ। फुच्चे चिम्पान्जी मानव आमासँग हुर्केको थियो। उसले मानिसको १० प्रतिशतमात्र गुण सिकेछ। उसको व्यवहार १० प्रतिशत मानव र ९० प्रतिशत चिम्पान्जीकै थियो।

के गर्ने त भविष्यका कर्णधारका लागि ? साहस दिऊँ। संघर्षका कथा सुनाऔं। अभावको अर्थ बुझाऔं। शिक्षामात्र होइन, दीक्षा प्राप्तिमा जोड दिऔं। पैसा र पद क्षणिक हुन् भन्ने बताऔं। जीवन र जगत् बुझाऔं। जीवन कहिल्यै सरल रेखामा चल्दैन भन्ने सिकाऔं।

चिम्पान्जी आमासँग हुर्केको फुच्चे मान्छेको व्यवहारको विकास भने धेरै नै थियो। त्यो फुच्चे मानिसको गुण ९० प्रतिशत चिम्पान्जीको थियो। उसैगरी बोल्थ्यो, खान्थ्यो, बर्बराउथ्यो, सुत्थ्यो र सायद चिम्पान्जीकै सपना नि देख्थ्यो। मानवीय स्वभाव त मात्र १० प्रतिशतमात्र विकास भएको थियो उसमा। मान्छे अरू जीवभन्दा प्राकृतिक रूपमा बहुत फरक छ। ऊ सामाजिक प्राणीमात्र होइन, नक्कले प्राणी पनि हो।’ हामी अरूको देखासिकी गर्छौ। वास्तविकता बिर्सिएका छौं। आफ्नो माटोप्रति माया गर्ने पाठ हाम्रो समाजले दिन सकेको छैन। आलोकाँचो केटाकेटीमा यसरी जबर्जस्त रूपमा धन ठूलो भन्ने बनाइयो। पढेर के हुन्छ र ? विदेश नगई केही हुँदैन भन्ने भ्रम छरपष्ट पारियो।

सन्दर्भ– ३ : एकादेशमा एउटा गाउँमा एउटा किसान रहेछ। ऊसँग एउटा घोडा रहेछ। त्यो घोडा एकदिन हराउँछ। त्यसपछि गाउँलेहरू त्यो किसानको घरमा आएछन् र भनेछन्, अहो ! कस्तो नराम्रो खबर। तपाईंको क्षति भएछ। बर्बाद भएछ। तपार्इं कस्तो अभागी नि ? जवाफमा किसानले ‘खै हेरौं’ भनेछ। हराएको घोडा फर्किएछ तीन जंगली घोडासहित। फेरि गाउँले आएर भनेछन्– ‘आहा ! कस्तो सुखद खबर। कति राम्रो फलिफाप। तपाईंको कत्रो उपलब्धि ? तपाईं कति भाग्यमानी ? किसानले ‘खै हेरौं’ भनेर जवाफ दिएछ। केहीपछि त्यो किसानको छोराले जंगली घोडा लिएर जंगलमा जाँदा घोडाबाट लडेर खुट्टा भाँचिएछ। गाउँले आएछन्। पुरानै कुरा दोहो¥याउँदै ‘तपाईं कस्तो अभागी’ भनेछन्। किसानले भनेछन्– ‘खै हेरौं’।

केही समयपछि छिमेकी देशले उक्त देशलाई आक्रमण गरेछ। ठूलै युद्ध भएछ। त्यहाँको राजाले सबै युवालाई सैनिकमा भर्ती हुन आदेश दिएछन्। देशैभरिका र त्यो गाउँका सबै युवा भर्ती हुन गएछन् तर त्यो किसानको छोरोको खुट्टा भाँचिएको हुनाले सैनिकहरूले उसलाई लगेनछन्। फेरि गाउँले आएर ‘आहा ! क्या राम्रो खबर। तपाईंको छोरो त तपार्इंसँगै रहेछ। तपाईं कति भाग्यमानी। कस्तो सुखद खबर’ भनेछन्। किसानले पुरानै उत्तर दिएछन्। यसको तात्पर्य भविष्य कसैले देखेको हुँदैन। अहिले सोचेजस्तो भएन। भनेको जस्तो भएन भनेर जिन्दगी नै बिग्रियो भनेर चिन्ता नलिऔं। आज राम्रो गरौं भोलि आफैं राम्रो हुनेछ। तसर्थ ‘विद्यार्थी भाइबहिनी हो, परीक्षामा फेल भइन्छ तर जीवनमा फेल हुनु भएन।’ चिनियाँ व्यवसायी ज्याक माले भनेका छन्, ‘तिमीले कक्षामा टप गर्नु पर्दैन, औसत विद्यार्थी भए पुग्छ। औसत विद्यार्थीसँग मात्र सीप विकासका लागि पर्याप्त समय हुन्छ। टपरहरूले धेरै कुरा गुमाएका हुन्छन्।’

त्यसो भए अब हामीले के गर्ने भविष्यका कर्णधारका लागि? विमर्श गरौं। एक, बालबालिकालाई साहस दिनुहोस्। दुई, संघर्षका कथा सुनाउनोस्। तीन, आफ्ना सपना पूरा गर्न लगाऔं। तिनका सपनामा ध्यान दिऔं। चार, अभावको अर्थ बुझाइदिऔं। पाँच, अंक होइन, बुद्धि प्राप्तिमा जोड दिऔं। छ, पैसा र पद क्षणिक हुन्। त्यो कुरा बुझाइदिऔं। सात, उसलाई पुल्पुल्याएर टाउकोमा नचडाऔं। आठ, जीवन र जगत् बुझाइदिऔं। नौ, जीवन कहिल्यै सरल रेखामा चल्दैन भन्ने कुरा सिकाऔं। दस, धेरै महŒवाकांक्षी नबनाऔं। नक्कले संस्कृति अवलम्बन नगरौं। अरू घोडा चढे भनेर आफू धुरी नचढ्नुहोस्। आफ्नो माटोलाई माया गर्न सिकाउनुहोस्। उसका कुरा सुन्नुहोस्। घरमा अभिभावकले जिम्मेवारी पूरा गरौं। विद्यालयमा शिक्षकले पाठमात्र सिकाउने होइन। उसको खराब प्रवृत्तिलाई खराबै हो भनी सुधारका लागि कार्य गरौं। आत्मबोध गराऔं। किन पढ्ने ? केका लागि पढ्ने ? सोको समीक्षा गरौं गराऔं।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.