मोरङमा ‘शिवशक्ति बाबा’बाट ठगिँदै बिरामी

मोरङमा ‘शिवशक्ति बाबा’बाट ठगिँदै बिरामी

विराटनगर : योगेन्द्र राई धनकुटाको सहिदभूमि गाउँपालिका–३ का पूर्ववडाध्यक्ष हुन्। प्यारालाइसिसको समस्या देखिएपछि २०७६ सालदेखि देब्रेतर्फको हात र खुट्टा चल्न छाड्यो। नेपाल र भारतमा उपचार गराउँदा ३० लाख हाराहारी खर्च भएको उनले बताए। ‘उपचारमा धेरै पैसा सकिएर तनावमा थिएँ। यस्ता धेरै बिरामीलाई ‘शिवशक्ति बाबा’ले ठीक पारेको कुरा यूट्युबभरि रहेछ। निको हुने आशले चिकित्सकको नियमित उपचार छाडेर २०७९ भदौमा म बाबाकोमा पुगें,’ ४९ वर्षीय योगेन्द्र भन्छन्। उनका अनुसार डाक्टरले उपचार गर्न नसकेका धेरै बिरामीलाई ‘शिवशक्ति बाबा’ले ठीक पारेको भनेर भिडियोहरू पोस्ट गर्दै यूट्युबमा व्यापक प्रचार गरिएको थियो। 

बाबाकोमा प्रवेश शुल्क भनेर सुरुमै ४० हजार रुपैयाँ मागिएको उनी सुनाउँछन्। भेटी भनेर भिन्दै पैसा चढाउनु पर्‍यो। ‘उपचारका क्रममा २० दिनजति बाबाकैमा बसें। प्रवेश शुल्क पछि तिर्ने सर्तमा मेरो उपचार सुरु भयो,’ पूर्वजनप्रतिनिधि योगेन्द्र भन्छन्, ‘तर पनि ३० हजारजति सकियो। झन् समस्या बढ्दै गएपछि त्यहाँबाट निस्किएर चिकित्सककै सम्पर्कमा पुगें।’ 

चिकित्सकको सल्लाहबमोजिम पुनः नियमित औषधि सेवन र थेरापी गर्न थालेपछि विस्तारै निको हुँदै गएको र अहिले देब्रे हातको कुहिनादेखि तलको भागमा मात्रै समस्या रहेको उनले बताए। 

उनका अनुसार विश्वास गरेर जाने बिरामीमाथि आफूलाई ‘शिवशक्ति बाबा’ बताउने व्यक्तिले ब्रह्मलुट मच्चाइरहेका छन्। ‘रोग निको नभएर भौतारिरहेका बिरामीलाई ठगी गरिरहेको पाइयो। जस्ता पनि बिरामी निको पार्ने भनेर पैसा असुलिरहेका छन्। यूट्युबमा पनि त्यस्तै भ्रामक प्रचार गरिएको छ,’ योगेन्द्रले भने, ‘यो सरासर अवैध र ठगी धन्दा हो। तन्त्रमन्त्र र झारफुकको बहानामा सर्वसाधारणसँग जथाभावी पैसा लिने काम भइरहेको छ। नियन्त्रण गर्नतर्फ राज्यले ध्यान दिएको पाइएन।’ 

पैसा खर्च गर्दापनि उपचार ठीक नभएपछि बिरामीहरू त्यहाँबाट झन् तनावमा परेर फर्किने गरेको उनले सुनाए। ‘खाना पकाउँदै छु, आउनुस् भनेपछि भोको मान्छे पुग्छ,’ योगेन्द्रले भने, ‘धेरै जना निको भइसके भन्ने प्रचार यूट्युबमार्फत गरिएका कारण म पनि बिराम ठीक हुने आशमा त्यहाँ पुगेको हुँ।’ 

उनका अनुसार उपचारका लागि पुग्नेलाई युट्युबरले ‘रोग निको भयो, मलाई विश्वास लाग्यो’ भनेर बोल्न बाध्य पार्दै भिडियो बनाएर यूट्युबमा पोस्ट गर्ने गरेका छन्। ‘मैले त्यहाँ (बाबाकोमा) बस्दा विचित्रको रमिता देखें। रोग निको हुने आशले बिरामीको अत्यधिक भीड लाग्दो रहेछ। २० दिनसम्म बस्दा निको हुने कोहीपनि पाइँन। झन् साह्रो भएर फर्किन्छन्,’ योगेन्द्र भन्छन्, ‘तर, बाबाको फुर्तीफार्ती चैं ठूलो छ। अस्पताल धाउँदा धाउँदा हैरान भएर पुगेका बिरामीसँग अत्यधिक असुल्ने काम हुन्छ। सुरुमा पैसा नबुझाउनेलाई त्यहाँ प्रवेश पाउनै मुस्किल पर्छ।’ 

मोरङको लेटाङ नगरपालिका–२ का आशिष राईले बुवा ६८ वर्षीय रत्नकुमार राईलाई उपचारका लागि बाबाकोमा पुर्‍याए। ‘बुवालाई डेढ वर्षदेखि नशाको समस्या थियो। सुरुमा हात चल्दैन थियो। अहिले ‘फुलबडी’ प्यारालाइसिसले ओछ्यान पर्नुभयो। उठ्न र बोल्नसमेत सक्नु हुन्न,’ उनले भने, ‘धेरैतिर उपचार गराउँदा पनि ठीक भएन। चिकित्सकले नशा सुक्ने समस्या रहेकाले ठीक नहुने र रोकथाम मात्रै गर्ने हो भनेर औषधि चलाएका थिए। तर, केही हुन्छ कि  भन्ने आशले बाबाकोमा पनि लगियो।’

आशिषका अनुसार २०७९ असारमा बाबाकोमा पुर्‍याउनु अघिसम्म बुवा रत्नकुमार मजाले हिँडडुल गर्न सक्थे। ‘घरमै आएर बाबाले मालिस गर्दा र भेद निकाल्दा सबै ठीक हुन्छ भनेपछि हामीले लिएर गयौं। भेद तान्नुपर्छ भन्दै सुरुमा ४० हजार मागियो। पछि थप ३० हजार लिए,’ उनी भन्छन्, ‘त्यहाँ १५ दिनजति बसेपछि बुवालाई झन् गाह्रो भयो। फर्काएर ल्याउँदै अहिले चिकित्सकको सल्लाहबमोजिम औषधि खुवाउँदैछौं।’ ७० हजार खर्च भएपछि बुवालाई पार नलाग्ने बुझेर घरै फर्काएको उनले सुनाए। 

उनका अनुसार आफूलाई ‘शिवशक्ति बाबा’ बताउने व्यक्तिले तन्त्रमन्त्र एवं झारफुकका नाममा ‘स्क्यान्डल’ मच्चाएर बिरामीसँग पैसा असुल्ने काम मात्रै गरिरहेको पाइयो। ‘उनी त एउटा पात्र मात्रै हुन्। गलत धन्दा चलाउने यस्ता अरु पनि व्यक्तिहरू छन्,’ आशिषले भने, ‘मान्छे बिरामी भइसकेपछि जति पनि खर्च गर्न परिवार तयार हुन्छन्। बिरामी अलमल्याएर पैसा असुल्दै ‘शिवशक्ति बाबा’जस्ताले फाइदा उठाइरहेका छन्।’ 

निको हुने अपेक्षा राखेर पुग्ने मान्छेको अवस्था र भावनामाथि खेलवाड गरेर ब्रह्मलुट मच्चाउने काम भइरहेको उनले बताए। ‘अस्पतालमा निक्कै पैसा खर्च भएर परिवार हैरान हुन्छन्। निको बनाउँछु भनेर प्रचार गरेपछि विश्वास गरेर बिरामीलाई पुर्‍याउँछन्,’ उनले भने, ‘त्यहाँ पुगेपछि रकम असुलेर बिरामीलाई झन् थिलथिलो बनाउने काम हुन्छ। भनेजस्तो ‘रिजल्ट’ नआएपछि निराश बनेर फर्किनुबाहेक बिरामीसँग अर्को विकल्प हुँदैन।’ 

आशिषले पनि जस्तोसुकै बिरामी निको पार्ने भनेर यूट्युबमार्फत प्रचार गर्दा विश्वासमा परेर धेरै सर्वसाधारण ठगिरहेको सुनाए। ‘तन्त्रमन्त्रले बिरामी निको हुने कुरा अन्धविश्वास हो। सर्वसाधारणमा छरिएको भ्रम हो। त्यसलाई मलजल गर्ने काम यूट्युब च्यानलले गरिरहेका छन्,’ उनले भने, ‘एक जनासँग ३ लाख रुपैयाँसम्म असुलेको कुरा छ। अझै बढी तिर्नेहरू पनि छन् अरे।’ बिरामीको स्याहार गर्न भनेर राखिने हेरालुका लागि भिन्दै पैसा बुझाउनुपर्ने अवस्था रहेको उनी सुनाउँछन्। 

आफूलाई ‘शिवशक्ति बाबा’ बताएर सर्वसाधारणमाथि ठगी गर्ने व्यक्ति मोरङको लेटाङ नगरपालिका–९ जाँतेका मिलन भनिने सुजनकुमार पूर्वछाने मगर हुन्। लामै समयदेखि अवैध धन्दा चलाइरहेका उनीबाट योगेन्द्र र आशिष जस्तै ठगिनेहरूको संख्या ठूलो छ। विश्वासमा परेर उपचारका लागि पुग्नेहरूसँग रोग निको पारिदिने भन्दै रकम असुलेर ठगी गर्ने गरेको स्थानीय बताउँछन्। 

उनले बिरामीलाई बस्ने व्यवस्थासहित घरमै शिवको मन्दिर बनाएका छन्। उपचारका लागि आउनेलाई चमर, त्रिशूल र घण्टाले हानेर निको पार्ने आश्वासन दिन्छन्। स्थानीयका अनुसार उपचारका लागि पुगेकामध्ये हालसम्म ४ जनाको मृत्यु भइसकेको छ। बिरामीको मृत्यु भएमा सुटुक्क एम्बुलेन्स बोलाएर शव पठाउँदै घटनालाई ‘गुपचुप’ पार्ने गरिएको एक स्थानीय बताउँछन्। 

उनका अनुसार आफूविरुद्ध लागेमा टिक्न नदिने भनेर छिमेकीलाई धम्क्याउने गर्छन्। कुरा काट्दा खुन छादेर मरिन्छ भन्दै बिरामीलाई ‘ब्ल्याकमेल’ गर्ने गरिएको उनले बताए। ‘मेरा कुरा काट्यौ भने मन्धुम प्रयोग गरेर सिध्याइदिन्छु भन्दै छिमेकीलाई थर्काउँछन्। बिरामीलाई आफूविरुद्ध नबोल्न भन्छन्,’ ती स्थानीयले भने। 

उनका अनुसार ठूला मान्छेहरूसँग समेत आफ्नो उठबस रहेकाले कसैले केही गर्न सक्दैन भनेर धम्क्याउँछन्। ‘यूट्युब हेरेर पश्चिम नेपालबाट समेत बिरामीहरू आउने गरेका छन्। टाढाटाढाका बिरामीको ठूलो भीड लाग्छ। उनीहरूसँग मनपरी पैसा असुलिन्छ,’ स्थानीय सन्त राई भन्छन्, ‘अन्तिममा निको नभएपछि बिरामी र परिवारका सदस्य निराश बन्दै फर्किन्छन्। यसरी ठगी भइरहँदा स्थानीय सरकारदेखि प्रशासनसम्म मौन छन्।’ उनका अनुसार जटिल रोग लागेका बिरामीलाई निको पार्ने र हिँड्नसक्ने बनाउने भनेर पैसा लिने गरिएको हो।  दुर्घटनाका घाइते, जन्मजात अपांगता, गम्भीर प्यारालाइसिस, छाला रोग सम्बन्धी पुरानो समस्या, महिनावारी गडबडी, बोली नआउने, मिर्गी रोगलगायतको उपचार तान्त्रिक विधिबाट गर्ने भनेर भ्रामक प्रचार गरिएको सन्तले बताए। 

त्यसरी प्रचार गर्न निश्चित रकम लिएर यूट्युबरको एउटा टिम नै परिचालित रहेको स्थानीयको भनाइ छ। ‘भ्रामक प्रचार गरेर सर्वसाधारणमा भ्रम छर्ने यूट्युबर र बिरामी निको पार्छु भन्ने ‘शिवशक्ति बाबा’लाई पनि कारबाही हुनुपर्छ। रोगले गाँजेर अप्ठेरोमा परेका सर्वसाधारणलाई झुक्याउनु अपराध हो,’ पूर्ववडाध्यक्ष योगेन्द्रले भने, ‘यूट्युबको भ्रामक प्रचारले बिरामी ठगिदै छन्। यूट्युबरले गलत प्रचार नगरेको भए बिरामी ठगिने थिएनन्।’ अन्धविश्वासमा पारेर बिरामीलाई अलमल्याउँदै पैसा असुल्ने गरेपनि रोग भने निको नहुने उनले बताए। भने, ‘यूट्युबरको बलमा खुलेआम ठगी धन्दा चलाइरहँदा स्थानीय सरकारदेखि प्रशासनसम्म मौन हुनु दुःखद् हो।’
‘शिवशक्ति बाबा’को अवैध धन्दा रोक्नुपर्ने माग राख्दै स्थानीयले वडा कार्यालयलाई गुहारेका छन्। स्थानीयले गत असार ११ गते उजुरीसमेत दिएका थिए। उपचार गराउन भनेर आएकाले मदिरा सेवन गरेर होहल्ला तथा झैझडा गर्ने र समाजमा अनेक विकृति फैलाउने गरेको विषय उजुरीमा खुलाइएको छ। तर, वडाले त्यसको सुनुवाइ गरेको छैन। 

‘शिवशक्ति बाबा’ भनिने सुजन भने आफूले उपचार गरेर बिरामीलाई सेवा दिइरहेको दाबी गर्छन्। ‘अस्पतालले निको हुँदैन भनेर बिदा दिइसकेका र परिवारले माया मारेका बिरामीलाई तान्त्रिक विधि तथा जडिबुटीका माध्यमबाट उपचार गरेर निको बनाइरहेको छु,’ उनले भने, ‘बिरामीलाई कागज नै गरेर निको पार्ने जिम्मा लिन्छु।’ 

अस्पतालमा उपचार गराएर सबै पैसा सकिएपछि ठीक नभएका बिरामी आफूकहाँ आउने सुजनको दाबी छ। ‘गरिब तथा रोग लागेकालाई सहयोग गर्ने मेरो उद्देश्य हो। धेरै पैसा लिएकै छैन,’ उनले भने, ‘उपचारका लागि आउनेलाई बसेको पैसा लिन्छु। बिरामी निको भएको देख्न नचाहनेहरू मेराविरुद्ध लागेका छन्।’

पैसा कमाउने र ठगी गर्ने उद्देश्य आफ्नो नरहेको दाबी उनले गरेका छन्। ‘बिरामी निको पार्ने ग्यारेन्टी लिन्छु। उपचारका लागि आएका ९५ प्रतिशत निको भएका छन्। केही नचल्ने मुढाजस्तो मान्छे ल्याउँछन्। १३ देखि १५ दिनमा निको भएर फर्किन्छन्,’ उनी दाबीका साथ भन्छन्, ‘एक महिनाको समय दिएकाहरू २३ दिनमा लट्ठी टेकेर हिँड्न सक्छन्। शरीर नचल्ने बिरामीलाई ठमठमी हिँड्ने बनाएको छु। गरिब दुःखीका लागि सेवा गरेको हुँ।’ पैसा नहुनेलाई उल्टै दिएर पठाउने गरेको दाबी उनको छ। ‘मलाई जन्मैदेखि दैवीशक्ति प्राप्त भयो,’ उनले भने, ‘मकहाँ उपचार गराउन ठुल्ठूला मान्छेहरू आउँछन्।’

सरकारदेखि प्रशासनसम्मले सहयोग गरेपनि आफ्नविरुद्ध केही व्यक्तिहरू लागेको गुनासो उनले पोखे। सुजनले आफ्नो घरमा बनाएको मन्दिर दर्ताका लागि वडामा निवेदन दिएका थिए। तर, वडा कार्यालयले मन्दिर दर्ता भने गरिदिएको छैन। वडाध्यक्ष नन्दप्रसाद खतिवडा निको भयौं भनेर बिरामीले नै हालेको भिडियो मोबाइलमा आफूले देखेको र टाढादेखिका बिरामी आउने गरेको बताउँछन्। मन्दिर भने छिमेकीको मञ्जुरी लिएर आएमा मात्रै दर्ता गर्ने भनेर फर्काइएको उनको भनाइ छ। 

लेटाङ नगरपालिकाकी उपमेयर कृष्णकुमारी निरौलाले ‘शिवशक्ति बाबा’ले पैसा असुलेर धेरै दुःख दिइरहेको कुरा आएको बताइन्। निरौलाको घरबाट लगभग १ किलोमिटर दूरीमा ‘शिवशक्ति बाबा’ले आफ्नो अवैध धन्दा चलाइरहेका छन्। ‘मैले यो कुरा धेरै पछि मात्रै थाहा पाएँ। काठमाडौंलगायत धेरै टाढाका व्यक्तिले उपचारका लागि आउँछौं भनेर फोन गर्छन्। तर, धामीझाँक्रीको भर पर्दै रोग पालेर नबस्न मैले आग्रह गर्ने गरेकी छु,’ उनले भनिन्, ‘झारफुकले मान्छे ठीक हुने भए अस्पताल किन बन्थ्यो ? किन मान्छेले लाखौं पैसा सक्नुपर्ने हुन्थ्यो ? यसबाट रुढीवादी परम्परा र अन्धविश्वासले समाजलाई गाँजेको प्रष्ट हुन्छ।’  

धामीझाँक्रीको चलन पहिलेदेखिकै भएकाले मान्छेहरू विश्वासले पुग्ने गरेको हुनसक्ने उनले बताइन्। तर, ‘शिवशक्ति बाबा’को ठगी धन्दाका बारेमा आधिकारिक हिसाबले नगरपालिकामा कुनै उजुरी नआएको निरौला बताउँछिन्। ‘धामीमा विश्वास गर्नु मनको सन्तोक मात्रै हो,’ उनले भनिन्, ‘बिरामीले म निको भएर हिँड्न थालें भन्दै यूट्युबमार्फत प्रचार गरेको देखिन्छ।’ 

चिकित्सकीय उपचार पद्धतिलाई नै चुनौती दिने अवैध गतिविधि नियन्त्रण गर्नुपर्ने जिम्मा स्थानीय सरकारकै भएकाले अब नगरपालिकाले त्यसविरुद्ध उपयुक्त कदम चाल्ने उपमेयर निरौलाले बताइन्। उनले अन्धविश्वासमा परेर जीवन बर्बाद नबनाउन सबैलाई आग्रह गरिन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.