ढले साहित्यका ‘वरपीपल’

ढले साहित्यका ‘वरपीपल’
सुन्नुहोस्

दाहालको साहित्यिक संगत महाकवि लक्ष्मीप्रसाद देवकोटा, भवानी भिक्षु, नाट्यसम्राट बालकृष्ण सम, पारसमणि प्रधान, अच्छा राई रसिक, धरणीधर कोइराला लगायतसँग थियो।

काठमाडौं : ‘४० वर्ष पहिले विद्यालयमा उनको कविता पढ्दा नरबहादुर दाहाल कुनै आदिम कविजस्तो लाग्थ्यो। ८६ वर्षको हुँदा पनि उहाँको आत्मबल, ऊर्जा र लगनशीलता देखेर आश्चर्यमा पर्छु’ साहित्य एवं सञ्चारकर्मी शरद प्रधान भन्छन्, ‘सात दशकभन्दा लामो लेखनशीलता अझै सक्रिय हुनु भनेको उहाँमा पक्कै दैवीगुण हुनुपर्छ। उहाँ तीन पुस्ताका सेतु हुनुभयो, भीष्मपितामह सरह।’ 

भारतेली नेपाली साहित्याकाशका उज्जवल तारा मानिने उनै साहित्यकार नरबहादुर दाहालको शुक्रबार भारतको दार्जिलिङ जिल्लाको सुकुनास्थित निवासमा निधन भएको छ।

भारतमा लेखन र प्रकाशन हुने नेपाली साहित्यको एउटा युगको साक्षी बने दाहाल। नेपाली साहित्यमा अगाध रुचि राख्ने र अध्ययन गर्ने उनी नेपालले भारतीय नेपालीका साहित्यलाई यथोचित सम्मान नदिएकामा बेला–बेला चित्त दुखाउँथे। प्रा. डा. गोविन्दराज भट्टराईले दाहाल नेपाली साहित्यमा अभिभावकीय उचाइ प्राप्त गरेको व्यक्तित्व भएको बताए। उनले भने, ‘दाहाल सरले नेपाली साहित्यको प्रवद्र्धनमा धेरै गर्नुपर्ने छ भन्नु हुन्थ्यो। खासगरी विगत वर्षमा नेपाली साहित्य एकपक्षीय छ भन्नुहुन्थ्यो। हाम्रो साहित्यिक योगदान नेपालले देखेन, पढेन र मूल्यांकन गरेन भन्ने गुनासो थियो।’ गतवर्ष नेपालमा पुरस्कार ग्रहण गर्न आउँदा भने त्यस्तो अवस्था नरहेको भन्दै खुसी व्यक्त गरेको उनको भनाइ छ। दाहाल भारतीय नेपाली साहित्यकार रामकृष्ण शर्माबारेको ग्रन्थ निकाल्न सबैको लेख संकलन गरेर सम्पादनको काम गर्दै थिए उनी। 

दाहालको साहित्यिक संगत महाकवि लक्ष्मीप्रसाद देवकोटा, भवानी भिक्षु, नाट्यसम्राट बालकृष्ण सम, पारसमणि प्रधान, अच्छा राई रसिक, धरणीधर कोइराला लगायतसँग थियो। २० वर्षको उमेरमा पहिलोपटक उनी काठमाडौं आएका थिए। भारतमै बसेर नेपाली साहित्यको सेवा गरेका चर्चित लेखक लीलाध्वज थापाको उपन्यास ‘मन’ लाई मदन पुरस्कार दिँदा सन् १९५७ मा दाहाल नेपाल आएका थिए। पछिल्लोपटक वर्ष दिनअघिमात्र दाहाल प्रज्ञा प्रतिष्ठानले दिने नेपाल प्रज्ञा अन्तरदेशीय साहित्य पुरस्कार २०७९ थाप्न आएका थिए। यो पुरस्कार पहिलोपालि साहित्यकार लीलबहादुर क्षेत्रीलाई दिइएको थियो। 

दाहाललाई प्रतिष्ठानका पूर्वसदस्यसचिव डा. जगत उपाध्याय सम्झन्छन्, ‘भारतमा बसेर पनि नेपाली भाषासाहित्यको साधनामात्र गर्नुभएन, समर्पित नै गर्नुभयो। उहाँका कृति नेपालमा समेत लोकप्रिय छन्। समग्र साहित्यिक मूल्यांकन गरेर प्रज्ञा प्रतिष्ठानले पुरस्कृत पनि गरेको हो।’ प्रतिष्ठानले दुई लाख राशिसहित पुरस्कृत गरेको थियो।

दाहाल दोस्रोपटक सन् १९६१ मा ‘मुनामदन’ नाटक लिएर काठमाडौं आएका थिए भने तेस्रोपटक वर्षदिनपछि नै राष्ट्रव्यापी साहित्य गोष्ठीमा भाग लिन आए। त्यसबेला उनले ‘राष्ट्रनिर्माणमा साहित्यकारको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए। दाहालको विगत विश्लेषण गर्दा उनी नेपाली साहित्यका एउटा इतिहास थिए। साहित्य परिषद् भुटानका सचिव खेम रिजालले भारतमा रहेको नेपाली साहित्यको एउटा इतिहास ढलेको बताए। ‘दाहालको निधनसँगै धेरै विषय गुमेको छ। इतिहासको पाना छुटिएर गएसरह उहाँसँगै ती विषय हराएर गएका छन्’, उनले भने, ‘भारतमा बसेर पनि नेपाली भाषाप्रति लगाव अधिक देखिन्थ्यो। डटेर लाग्नुभयो, समर्पण गर्नुभयो। मातृभाषा कति प्रिय हुन्छ भन्ने उदाहरण हो उहाँ।’

केही वर्षअघिसम्म सिलिगुढीबाट प्रकाशन भइरहेको सुनाखरी दैनिकका कार्यकारी सम्पादक खग गुरागाईंको घनिष्ठता दाहालसँग धेरै वर्ष अघिदेखिकै हो। दुवै सुकुनानिवासी भएकाले आपसमा घरमै आउनेजाने र घण्टौं गफिने हुन्थ्यो। ‘घरमै आउने र घण्टौं गफिने उहाँका साहित्यिक यात्राका रोचक प्रसंगहरू उतार्ने हो भने पुस्तक बन्छ। 

रोगले थलिएर वाक्य बसेको बेला पनि उहाँको हातले कलम छोडेन’, गुरागाईं भन्छन्, ‘१५ दिनअघिमात्र अस्पतालमै बसेर आज मैले तीनवटा कथा लेखिसिध्याएँ भनी लेखेरै देखाउनु भएको थियो।’ 

दाहाललाई चिन्ने र संगत गर्ने साहित्यकारहरू भन्छन्, ‘उहाँ पुराना प्रबुद्ध साहित्यकार र अहिलेका नवसाहित्यकारमाझ सेतु बाँध्ने स्रष्टा हुनुहुन्थ्यो। त्यसैले उहाँलाई नेपाल अनि भारतेली नेपाली साहित्यमा सम्मानपूर्ण स्थान दिइन्छ।’ उत्तरबंग विश्वविद्यालय, भारतका प्राध्यापक डा. सञ्जय बान्तवाले वरिष्ठ साहित्यकार नरबहादुर दाहालको निधनले नेपाली साहित्य जगत्ले एउटा बहुमूल्य रत्न गुमाएको बताए। उनले भने, ‘साहित्यप्रति उहाँको समर्पण आजका युवा साहित्यकारका लागि अनुकरणीय हो।’

सञ्चारकर्मी गुरागाईंका अनुसार सुकुनास्थित श्मशानघाटमा दाहालको पार्थिव शरीरमा मुखाग्नि दिइयो। त्यहाँ पुगेका डा. घनश्याम नेपालले नेपाली साहित्यका लागि यो अपूरणीय क्षति भएको बताएका थिए। डा. मोहन पी. दाहालले नरबहादुरले मृत्युको नजिक पुगुन्जेल पनि नेपाली साहित्यलाई केही न केही दिइरहेको आफूले पाएको जानकारी दिए। 

कवि ज्ञानेन्द्र खतिवडाले उहाँसँगको संसर्गबाट आफूले धेरै कुरा सिकेको बताए। कवि राजा पुनियानीले एकजना साहित्यिक लिजेन्डको अन्त्य भएकाले नेपाली साहित्यलाई ठूलो क्षति पुगेको बताए। कवि भवीलाल लामिछानेले दाहालको निधनले एउटा युगको अन्त्य भएको बताए। दाहालका साहित्यिक कृतिहरूमा कवितासंग्रह ‘उन्माद’ सन् १९५८, कथासंग्रह ‘वरपीपल’ सन् १९६०, उपन्यास ‘मध्यरातको तारा’ सन् १९६४, कविता संग्रह ‘तिम्रो प्रीत नै मेरो गीत’ सन् १९७०, जीवनी ‘नरेन्द्रप्रसाद कुमाइँ’ सन् २०००, जीवनी ‘गंगाप्रसाद प्रधान’ सन् २०११, जीवनी ‘गोर्खा महानायक डम्बरसिंह गुरुङ’ सन् २०१५ र कथासंग्रह ‘लभ यु जिन्दगी’ सन् २०२२ प्रकाशित छन्। नेपाल अनि भारतमा सुनामधन्य वरिष्ठ साहित्यकार दाहाल सुकुना साहित्यिक सांस्कृतिक संस्थानका पूर्वअध्यक्ष र हाल संरक्षक थिए। उनी केही महिनादेखि क्यान्सर रोगले थलिएका थिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.