त्रियुगाका सुत्केरीलाई निःशुल्क एम्बुलेन्स

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका क्षेत्र भित्रका सुत्केरी महिलालाई नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा प्रवाह गर्ने भएको छ । सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तरगत माछापुच्छ्रे बैंकले ५ लाख,सानिमा जेनेरल इन्स्योरेन्स कम्पनीले १५ लाख र १६ नम्बर वडा कार्यालयको ५ लाख गरी २५ लाख रुपैयाँमा एम्बुलेन्स खरिद गरिएको मेयर बसन्तकुमार बस्नेतले जानकारी दिए।
एम्बुलेन्स मेयर बस्नेतले स्वास्थ्यचौकी जाल्पाचिलाउनेलाई शनिबार हस्तान्तरण गरेका हुन्। उनले एम्बुलेन्स सुत्केरी महिलाका लागि निःशुल्क उपलब्ध गराउने बताए।
मेयर बस्नेतले भने, ‘वडाका नागरिकको स्वस्थ्य सेवामा पहुँच वृद्धि गर्ने नगरपालिकाको उद्देश्यले विभिन्न निकायसँगको सहकार्यमा एम्बुलेन्स ल्याएका हौं। अकालमै अर्थात् स्वास्थ्य संस्थामा पुग्न नपाइ ज्यान जाने समस्याको अन्त्य हुनेछ ।'
कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकहरूको मुनाफाको एक प्रतिशत सामाजिक कार्यमा लगाउने व्यवस्था अनुसार एम्बुलेन्स खरिदमा सहयोग गरिएको बताए ।
त्यसैगरी इन्स्योरेन्स कम्पनीका प्रबन्धक बुद्धि नेउपानेले इन्स्योरेन्स कम्पनी मुनाफा मात्र आर्जन गर्छन् सामाजिक अभियानमा जोडिँदैनन भन्ने भ्रम चिर्न यस्ता सहकार्यले महत्वपूर्ण सहयोग पुग्ने बताए ।
वडाध्यक्ष मानबहादुर राईले वडानं १६ का महिला स्वास्थ्य संस्थामा सुत्केरी हुँदा पोषण वापत ५ हजार रुपैयाँ सहयोग गर्दै आएको बताए ।
उनले खरिद गरिएको एम्बुलेन्स केहि दिनभित्रै कार्यविधि तयार गरी सुत्केरीलाई निःशुल्क र जेष्ठ नागरिकलाई सहुलियतपूर्ण व्यवस्था गरी सञ्चालन गरिने बताए । उनले एम्बुलेन्स सहयोगमा उदयपुर सिमेण्ट उद्योगका तत्कालिन महाप्रबन्धक गोपी नेउपानेको अग्रसरता रहेको बताए ।
कार्यक्रममा एम्बुलेन्स सहयोग गर्ने सहयोगी निकाय तथा व्यक्तिहरूलाई सम्मानपत्रले सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस !
