श्रृङ्खलाबद्ध लुटपाटमा संलग्न गिरोहसँग भेटियो प्रहरीबाट लुटिएको हतियार

श्रृङ्खलाबद्ध लुटपाटमा संलग्न गिरोहसँग भेटियो प्रहरीबाट लुटिएको हतियार
तस्बिर : किशोर बुढाथोकी
सुन्नुहोस्

विराटनगर : मोरङ र सुनसरीमा श्रृङ्खलाबद्ध लुटपाटमा संलग्न भारतीय नागरिकसहितको हतियारधारी गिरोहसँग प्रहरीबाट लुटिएको हतियार भेटिएको छ ।  गिरोहलाई प्रहरीले मोरङको बूढीगंगा गाउँपालिका–५ कोयलपुरबाट पक्राउ गरेको छ । पक्राउ परेको गिरोह प्रहरीलाई आक्रमण गरेर हतियार एवं गोली लुटपाट गरिएको घटनामा समेत संलग्न रहेको पत्ता लागेको छ । प्रहरीबाट लुटिएको हतियारसमेत बरामद भएको छ । ७ जनाको उक्त गिरोहमा १४ वर्षीय बालक र एकजना भारतीय पनि छन् । 

सुनसरीको दुहवी नगरपालिका–४ का ३२ वर्षीय नसुदिन मिया, दुहवी–१ का ३० वर्षीय मोहमद अलिम मुर्तुजा, दुहवी–६ मा बस्ने भारतीय नागरिक ४० वर्षीय मोहमद आलम र १४ वर्षीय बालक एवं मोरङको बूढीगंगा गाउँपालिका–४ का ४० वर्षीय रिजवन मिया, २५ वर्षीय सिजाम आलम (सिजाम मोबाइल सेन्टरका सञ्चालक) र बूढीगंगा–५ का २१ वर्षीय मोहमद नजरुल मिया पक्राउ परेका हुन् । 

उनीहरुलाई आइतबार जिल्ला प्रहरी कार्यालय मोरङमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरियो । पत्रकार सम्मेलनमा कोसी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोला, एसएसपी जयराज सापकोटा, मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेल, सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मी, मोरङका डीएसपी रन्जनकुमार दाहाल, वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी विजय श्रेष्ठलगायतका प्रहरी अधिकारी उपस्थित थिए । 

उक्त समूहविरुद्ध डाँका, हातहतियार खरखजना र संगठित अपराधमा मुद्दा चलाउन प्रहरीले अनुसन्धान सुरु गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार रिजवान २०६४ देखि २०७९ सम्ममा मोरङ र सुनसरीमा भएका विभिन्न १० वटा अपराधिक घटनामा संलग्न व्यक्ति हुन् । उनीविरुद्ध डाँका ज्यान, चोरी, हातहतियार खरखजना, ज्यान मार्ने उद्योगलगायतका मुद्दा मोरङ र सुनसरी अदालतमा दर्ता भएको थियो ।

हातहतियार खरखजना मुद्दामा २०७० सालमा पुर्पक्षका लागि कारागार चलानसमेत भएका थिए । रिजवान २०६४ को डाँका र २०६५ को डाँका ज्यान मुद्दाका फरार प्रतिवादी रहेको डीएसपी दाहालले बताए । 

null

उनका अनुसार पक्राउ परेकाको साथबाट ठूलो चाइनिज पेस्तोल (प्रहरीबाट लुटिएको), कटुवा पेस्तोल, रड, चक्कु, पेचकस, १ लाख ७५ हजार २ सय ७५ नेपाली रुपैयाँ, ११ हजार ६ सय भारतीय रुपैयाँ, साउदी रियल, मलेसियन रिंग्गिट, दुबईको दिरम तथा अमेरिकन र सिंगापुर डलर बरामद भएको छ । त्यस्तै, भारतीय र नेपाली गरेर २ वटा मोटरसाइकल, सुनको झुम्का तथा तिलहरी, चाँदीको पाउजू र सिक्री, मोबाइललगायतका विभिन्न सामान बरामद गरिएको दाहालले बताए । 

‘गिरोहसँगै रहेको कटुवा पेस्तोल अपराधिक धन्दामा प्रयोग गर्ने गरिएको रहेछ,’डीएसपी दाहालले भने, ‘प्रहरीबाट लुटिएको चाइनिज पेस्तोल भने घटनाका मुख्य योजनाकार रिजवानको घरको छानमा लुकाएर राखेको अवस्थामा आइतबार बरामद भएको हो ।’ चाइनिज पेस्तोल प्रहरीबाट लुटिएको भएपनि कटुवा पेस्तोल कहाँबाट ल्याइएको हो भन्ने बारेमा खुल्न बाँकी रहेको उनले बताए । 

सुनसरीको बर्जु गाउँपालिका–१ शुक्रबारेमा सादा पोसाकका प्रहरीमाथि एउटा समूहले आक्रमण गरेर शुक्रबार बिहानका राति १२:३० बजेतिर हतियार र गोली लुटेको थियो । घटनास्थल विराटनगर महानगरपालिका–५ नजिकै छ । चोरी तथा लुटपाट नियन्त्रण र सूचना संकलनका लागि सुनसरीको इलाका प्रहरी कार्यालय दुहवीबाट सादा पोसाकमा प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई खटाइएको थियो । 

घटनास्थलमा पुग्नासाथ हतियारधारी समूहले चिर्पटले प्रहार गर्दै प्रहरीलाई घाइते बनाएर साथमा रहेको ठूलो चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउण्ड गोली लुटेको थियो । घटनापछि फरार बनेको समूहले त्यसको आधा घण्टापछि बर्जु–१ मै अर्को लुटपाटसमेत गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पेस्तोल, रड, लाट्ठीलगायतका हतियार देखाएर साइकलयात्रीको साथमा रहेको मोबाइल र ‘ब्लुटुथ इयरफोन’ लुटिएको हो । 

null

प्रहरीबाट लुटिएको ६ राउण्ड गोली,म्यागजिन, गोलीको खाली खोका भने यसअघि नै फेला परिसकेको थियो । साथै, कटुवा पेस्तोलमा प्रयोग हुने १ राउण्ड गोलीसमेत बरामद भएको थियो । घटनास्थल आसपासका स्थानमा हतियार देखाएर अत्यधिक लुटपाट भइरहेको विशेष सूचना प्रहरीले प्राप्त गरेको थियो । त्यस सम्बन्धित सूचना संकलन गर्न र घटनालाई नियन्त्रणमा लिन सादा पोसाकमा खटाइएका प्रहरीमाथि नै आक्रमण गरेर साथमा भएको हतियार एवं गोली लुटपाट गरिएको हो । घटनापछि फरार बनेको गिरोह पत्ता लगाउन मोरङ र सुनसरीबाट प्रहरीको विशेष टोली परिचालित थियो । 

यसरी पक्राउ पर्‍यो गिरोह 

मोरङ र सुनसरीका विभिन्न स्थानमा रातको समयमा हतियारधारी समूहले श्रृङ्खलाबद्ध लुटपाट गरिरहेको सूचना प्रहरीलाई आएको थियो । एकान्त स्थानमा बाटो ढुकेर पेस्तोल, रड, लाट्ठीसमेतका हतियार देखाएर ज्यान मार्ने धम्की दिएर कुटपिट गर्दै लुटपाट गर्ने गरिएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । उनका अनुसार त्यो गिरोहलाई पहिचान गरेर नियन्त्रणमा लिन ‘सेरा ब्रेभो हन्ट’ नाम दिएर विशेष अप्रेसन चलाइएको थियो । 

बूढीगंगा–५ कोयलपुरमा पैदल हिँडिरहेका ३ जनामाथि लुटपाट भएको सूचना मोरङ प्रहरीलाई शुक्रबार राति ११:३० बजेतिर आयो । तत्काल परिचालित प्रहरीले ११:४५ बजेतिर शंकास्पद ६ जनालाई नियन्त्रणमा लियो । लुटपाटमा प्रयोग भएका हतियार, मोटरसाइकल, पीडितबाट लुटिएको गहना, मोबाइल र नगद बूढीगंगा–५ मुस्लिम टोलबाट शनिबार दिउँसो बरामद भयो । 

एसपी पोखरेलका अनुसार पक्राउ परेको गिरोह पछिल्लो समय मोरङ र सुनसरीमा श्रृङ्खलाबद्ध लुटपाटमा संलग्न रहेको खुलेको छ । गिरोहले हातहतियार देखाउँदै डर, त्रास सिर्जना गरेर मोटरसाइकल चालक, साइकल र पैदलयात्रीमाथि लुटपाट गर्ने गरेको उनले बताए । 

यी हुन् लुटपाटका पछिल्ला घटना 

लुटपाट गरेर आतंक मच्चाउने गिरोह प्रहरीले चलाएको ‘सेरा ब्रेभो हन्ट’को पासोमा परेको छ । यही भदौ २ गते मोरङको हरैँचाबाट विराटनगर आउँदै गरेकामाथि हतियार देखाएर कुटपिट गरी मोटरसाइकलमा सवार रहेका ३ जनाले ५ हजार नगद, २ आनाको सुनको टप र मोबाइल लुटेका थिए । 

भदौ ३ गते बिहानका राति २:४५ बजे मोरङको बेलेपुरमा सीटी सफारी चालक र सफारीमा सवार यात्रुमाथि लुटपाट भएको थियो । उनीहरुबाट ५ वटा मोबाइल र ५ हजार नगद लुटिएको एसपी पोखरेलले बताए । उनका अनुसार त्यसको १ घण्टापछि मोरङको ग्रामथान–५ मा कुटपिट गर्दै मोटरसाइकल चालकको साथबाट मोबाइल र नगद लुटपाट गरिएको थियो ।  

भदौ ५ गते बिहानका राति १:४५ बजेतिर सुनसरीको दुहवी–८ कदमगाछीमा ५–६ जनाको हतियारधारी समूहले लुटपाट मच्चायो । महिलाको साथमा भएको नगद, मोबाइल, सुनको झुम्कालगायत लुटपाट गरिएको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मी बताउँछन् । त्यस्तै, भदौ ९ गते राति ११:४५ बजेतिर मोरङको ग्रामगानको तेतरियामा मोटरसाइकल चालक लुटिए । हतियारधारीले चालकको साथमा रहेको २५ हजार नगद र मोबाइल लुटेका थिए । 

सुनसरीको दुहवी–१० स्थित इनरुवा–दुहवी सडकखण्डमा भदौ १२ गते राति ११:५० बजेतिर पेस्तोल देखाउँदै ५–६ जनाको समूहले १ जनाबाट २ हजार नगद, ५ तोलाको चाँदीको सिक्री र मोबाइल लुटेको थियो । भदौ १४ गते बिहानका राति १ बजेतिर सुनसरीको गढी गाउँपालिका–२ मा प्रदेश १–०२–००१ क ३७६९ नम्बरको ट्रकमा लुटपाट गरियो । ट्रक चालक र स्टाफको साथबाट १ लाख ७१ हजार नगद र मोबाइल लुटिएको एसपी रेग्मी बताउँछन् । 

भदौ १५ गते बिहानका राति ३:२० बजेतिर मोरङको बेलबारी नगरपालिका–२ मा बेलबारी सामुदायिक अस्तालबाट औषधि किनेर मोटरसाइकलमा घर फर्किदै गरेका १ जनाको साथमा भएको १० हजार नगद र मोबाइल लुटिएको थियो । मोटरसाइकल चालकमाथि कुटपिटसमेत गरियो । 
भदौ २१ गते राति ११:४० बजेतिर बर्जु–१ र विराटनगर–५ को सीमा क्षेत्रमा को २ ह ३९७६ नम्बरको अटोका चालक र यात्रु लुटिएका थिए । हतियार देखाएर मोबाइल र १३ हजार ५ सय रूपैयाँ लुटिएको प्रहरीले जनाएको छ । 

सुक्ष्म अनुसन्धानबाट सफलता : डीआईजी 

कोसी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले गिरोहको पहिचान र पक्राउ गर्न सुक्ष्म अनुसन्धानबाट प्रहरीलाई सफलता मिलेको जानकारी दिए । ‘पक्राउ परेको गिरोहले एकान्त ठाउँमा बाटो ढुकेर सवारीसाधन रोक्दै राति ११ बजेपछि बिहान ४ बजेको समयभित्रमा लुटपाट मच्चाउने गरेको पाइयो,’उनले भने,‘प्रहरीको ‘चेकिङ’ हो भन्ने भान पार्न ठूलो ‘टर्च लाइट’को प्रयोग गर्ने गरेको खुलेको छ ।’ 

बास्तोलाका अनुसार लुटपाटका क्रममा ३–४ जनाजति बाटोमा देखिने र बाँकी अन्य व्यक्तिहरु पीडित भाग्न र उम्कन नसकुन् भनेर अगाडि एवं पछाडि बाटो छेकेर बस्ने गरेका रहेछन् । ‘सवारीसाधन रोकेपछि हतियार, रड, लाट्ठीलगायतका हतियार देखाइ साथमा भएको नगद, गहना र विद्युतीय उपकरण लुटेपछि फरार हुने गरेको खुलेको छ,’ उनी भन्छन्,‘प्रतिकार गरेमा पीडितलाई नै निर्घात कुटपिट गर्ने गरेको पाइयो ।’

दैनिकजसो स्थान परिवर्तन गरेर लुटपाट मच्चाउने अपराधिक गिरोहलाई मिहीन ढंगले अनुसन्धान गरेर नियन्त्रणमा लिन प्रहरी सफल भएको बास्तोला बताउँछन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.