उत्पादनको बजारीकरण नहुँदा निर्यात कमजोर
काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको बजारीकरण नहँुदा माग र निर्यातमा बृद्धि हुन सकेको छैन। निर्यातभन्दा आयात १० गुणा अधिक हुँदा देशको व्यापार घाटा चुलिंदो छ।
नेपाली उत्पादनलाई विश्वबजारमा पुर्याउन व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले नेपालका लागि विभिन्न देशका आवासीय महामहिम, निजी क्षेत्रका व्यवसायीलगायतसँग अन्तरक्रियाको सुरुवात गरेको छ। यसैक्रममा केन्द्रले आइतबार थाइल्यान्ड, कुवेत र यूएईका प्रस्तावित राजदूतसँग नेपाली उत्पादनको व्यापार प्रवद्र्धन कसरी सम्भव हुन्छ भन्नेबारे अन्तरक्रिया गरेको छ।
यसैक्रममा केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले नेपाली उत्पादनको विश्वबजारमा व्यापार प्रवद्र्धनका लागि जोड दिने बताए। विश्वमा आयोजना हुने मेलामा सहभागी हुन बजेट कम छ तर पनि सहुलियत मूल्यमा नेपाली व्यवसायीलाई अन्य मुलुकमा भएको मेलामा सहभागिताको वातावरण मिलाउन राजदूतहरूसँग अनुरोध गरे। यसैक्रममा उनले अब इजिप्टमा हुने मेलामा पहिलो पटक नेपाल सहभागी हुन लागेको जानकारी दिए।
हस्तकला महासंघका प्रतिनिधि थाइल्यान्डमा हस्तकलाको प्रचुर सम्भावना रहेको तर त्यहाँको सरकारले कम्तीमा पनि ४० प्रतिशत ड्युटी फ्रि लगाएकाले निर्यात गर्न गाह्रो भएको बताउँछन्। नेपाली हस्तकलाका सामानमा ड्युटी फ्रि शून्य गरिदिन राजदूतावासले यसमा भूमिका खेल्न महासंघले अनुरोध गरेको छ।
यस्तै निर्यात परिषद्का अध्यक्ष रेशम पोखरेल यूएईमा जुम्ला, मुस्ताङको स्वादिलो स्याउ, नेपालको अर्गानिक तरकारी, रायोको साग र राँगाको सुकुटीको माग अधिक रहेको जनाए। नेपालको निर्यातको नयाँ गन्तव्यको बढी सम्भाव्यता रहे पनि नेपालमा सबै वस्तुको सर्टिफिकेसन गर्ने प्रणाली नहुँदा निर्यात गर्न नसकेको गुनासो गरे।
२७ वर्ष बेल्जियम बसेर फर्किएका युवराज गुरुङ मुना कृषि लिमिटेडमार्फत विश्वबजारमा नेपालका कृषिजन्य वस्तुहरू निर्यात गर्दै आएका छन्। उनले विश्व बजारमा व्यापार प्रवद्र्धन गर्न विभिन्न एक्स्पोलगायतबाट जोडिदिन अनुरोध गरे।
राजदूतले गर्ने भेटमा नेपाली चिया–कफी
राजदूतले विदेशी पाहुनासँगको भेटघाटको सुरुवात नेपाली प्रडक्ट चिया र कफीबाट गर्ने गरेको बताउँछन्। यो वर्षौंदेखिको ट्रेन भएकाले अब नेपालका अन्य वस्तु उपहारको रूपमा दिन आवश्यक भएकाले यसमा सहायता गर्न राजदूतले अनुरोध गरे। यसैक्रममा थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादूर वली आफूले यसअघि पनि अधिकांश भेटघाटको सुरुवात तुलसी चियाबाट गरिएको अनुभव सुनाए। यसैक्रममा उनले कतिपय व्यवसायीलाई कुन देशमा के निर्यात गर्दा सुविधा के के पाइन्छ भन्ने अझै थाहा नभएकोबारे ध्यानाकर्षण गराए।
कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्साल व्यवसायीले सम्बन्धित मुलुकमा कुनै वस्तु निर्यात गर्न खोज्दा परेका समस्या राख्न अनुरोध गरे। आफूहरू नेपालको व्यापार प्रवद्र्धनमा सहजीकरण गर्न लागि पर्ने जनाए।
यस्तै, यूएईका लागि नेपाली राजदूत तेजबहादूर क्षेत्रीले नेपालको ठूलो गन्तव्यको रूपमा रहेको यूएईमा आगामी दिनमा व्यापार प्रवद्र्धन गर्ने आश्वासन दिए।
नेपाल–कुवेतको व्यापार
विगत पाँच वर्षमा नेपालले कुवेतबाट गर्ने आयात १२१.१ प्रतिशतले बढेको छ। तर निर्यात भने ३५.७ प्रतिशतले घट्दा उक्त देशसँग नेपालको व्यापार घाटा उच्च छ। जबकि कुवेतमा कार्पेट, रेडिमेट गार्मेन्ट निर्यात भएका छन्। तर, अपेक्षाअनुसार त्यति धेरै निर्यात हुन नसकेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका नायब कार्यकारी निर्देशक सुयश खनाल बताउँछन्। कुवेतले गरगहना, हस्तकला, ह्यान्ड ब्याग, जुत्तालगायतका वस्तु आयात गर्ने गरेको छ। नेपालबाट पास्ता, बिस्कुट, फूलहरू कुवेत निर्यातमा सम्भाव्यता भए पनि केही अवरोध भएको उनले ध्यानाकर्षण गरे।
नेपाल र थाइल्यान्डको व्यापा
विश्वको आयात गर्ने २२औं नम्बरमा थाइल्यान्ड पर्छ। विश्व आयातमा १.२ प्रतिशत हिस्सा थाइल्यान्डको रहेको छ। करिब ५० प्रतिशत वस्तुहरूमा यो देशले सुविधा दिएको छ। सन् २०१८ देखि २०२२ सम्मको तथ्यांकलाई हेर्दा नेपालले निर्यातभन्दा आयात अधिक गर्दै थाइल्यान्डसँगको व्यापारघाटा ५.४ प्रतिशत छ। सन् २०२२ मा नेपालबाट स्टेनलेस स्टिलको बुनेको
कपडा, बोरा, झोला, कार्पेट, ऊन, कुकुर र बिरालोको खानालगायतका वस्तु निर्यात भयो। ज्वेलरीहरू निर्यात गर्ने ठूलो बजार थाइल्यान्ड हो तर यहाँ अहिले कम भएको छ।
नेपाल र यूएईबीचको व्यापार
सन् २०२२ मा आयातमा २६औं स्थानमा रहेको यूएईले विश्व आयातको १ प्रतिशत आयात गर्ने गर्दछ। विगत पाँच वर्षमा यो देशसँगको व्यापारमा पनि नेपालले निर्यातभन्दा आयात नै बढी गरेको छ। पछिल्लो वर्ष सन् २०२२ मा मात्रै ३९ अर्ब ८३ करोड रुपैयाँले व्यापार घाटा व्यहोर्नु परेको छ। जबकि यूएईमा नेपालले करिब डेढ दर्जन वस्तुको निर्यात गर्छ। सो मुलुकमा सन् २०२२ मा मात्रै मेडिसिन हर्ब, रेडिमेड गार्मेन्ट, उलन, कार्पेट ह्यान्डमेड पेपर, उलन सललगायत निर्यातको भइरहेको छ।