विकास उकालो, मानिस ओरालो
शासन र सत्तामा सधैं पहाडी मूलका बासिन्दाको रजगज भएको मुलुक हाम्रो। त्यसैले विकासको मूल गन्तव्य पनि सधैं पहाड नै हुँदै आएको हो। तर विकास पहाडतिर सोझिँदा पनि पहाडका बासिन्दाहरू भने धमाधम तराई मधेसका समथर भूभागतिर ओइरिरहेका छन्। त्यसको परिणाम हो—मुलुकका आधाभन्दा बेसी बासिन्दाको बसोबास समथर भूभागमा। पछिल्लो जनगणनाले त दुई दर्जन जिल्लाको जनसंख्या ऋणात्मक देखायो।
ती सबै पहाडका जिल्लाहरू थिए। त्यसमा पनि लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरू बसाइँसराइका हिसाबमा सबैभन्दा बढी चलायमान देखिन्छन्। यहाँका पहाडी जिल्लाहरूबाट समथर जिल्लामा बसाइँसराइ अचाक्ली छ। अहिले लुम्बिनीका पहाडी जिल्लाका कुनै पालिकाका कुनाकन्दरामा बाटोघाटो नपुगेको होस््, त्यो अपवाद जस्तोमात्रै छ। कृषिलगायत उद्यमका लागि पनि आकर्षक भूबनोट छ त्यहाँ। तै पनि नागरिकहरू रूपन्देही, कपिलवस्तु, दाङ, बाँकेमा सरेका स¥यै छन्। त्यहाँको जनसंख्या धनात्मकमाथि धनात्मक हुँदै गएको छ। देशमा सबैभन्दा धेरै जनसंख्या बढेका १० जिल्लामध्ये चारवटा लुम्बिनीमा छन्। जनसंख्या घटेका १० जिल्लामध्ये पनि दुइटा लुम्बिनीकै छन्।
शिक्षा र स्वास्थ्यका आधारभूत आवश्यकता पूरा गर्न मानिस बसाइँसराइ गर्छ। पानी ओरालो लाग्छ, मानिस पनि अवसरको खोजीमा ओरालीउकाली गर्छ। गाउँमा बाटोघाटो पुगे पनि रोजगारीका अवसर कम हुनु बसाइँसराइको मुख्य कारण हो। कृषि इलम गर्नेहरूको पनि बजार गाउँमा छैन, कृषि उपज खरिदको ग्यारेन्टी सरकारले गर्दैन। कृषिमा अनुदान टाठाबाठाले लिन्छन्। सोझो किसानले मल, बिउ र सिँचाइ पाउँदैन।
तसर्थ गाउँमा युवा टिक्दैनन्। आम नेपालीको सपना भनेको परिवारको स्वास्थ्य र सन्तानको शिक्षादीक्षा अनि एउटा घर हो। जीवनभर हाडछाला गर्नु नै त्यत्तिका लागि हुन्छ। तर गाउँमा जति हाडछाला घोटे पनि त्यो सपना पूरा नहुने हुँदा बसाइँसराइ रोकिएको छैन। अवसर नै मानिसको गन्तव्य हो भने मानिसलाई गाउँमा रोक्ने एउटै उपाय पनि त्यही हो। गाउँमा बसाइँ रोक्न किन पनि जरुरी छ भने समथर भूभागमा बस्ती विकास हुँदा त्यहाँको खेतीयोग्य जमिन नष्ट भएको छ। अर्काेतिर पहाडका गाउँ रित्तिने र समथर भूभाग भरिभराउ हुँदा जनसंख्या सन्तुलन पनि खल्बलिएको छ। सन्तुलिनका खातिर पनि गाउँमा नागरिक अड्याउने उपाय खोजी जरुरी छ। त्यसको उपाय गाउँमा उद्यमधन्दाको वातावरण र रोजगारीका अवसर सिर्जना गर्नुको विकल्प छैन।