हेटौंडामा चिकित्सकमाथि हातपात गर्ने ४ जना पक्राउ
हेटौंडा : हेटौँडा उपमहानगरपालिका–१ स्थित सञ्चो हस्पिटलका डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि कुटपिट गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। हेटौंडा–१२ निवासी रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले अन्नपूर्णलाई जानकारी दिए।
गत साउन २२ गते हेटौंडा–१२ निवासी ४२ वर्षका राजेश प्रधान सन्चो अस्पतालमा उपचारका लागि भर्ना भएका थिए। उनलाई डेंगू रोगको संक्रमण रहेको अस्पताल प्रशासनले जनाएको छ।
प्रधानको स्वास्थ्य अवस्था गम्भीर भएकाले सन्चो अस्पतालले थप उपचारको लागि चितवनको भरतपुरस्थित अस्पताल रिफर गरेको थियो। मृतक राजेशका परिवारले सन्चो अस्पतालले रिफर गर्न ढिलाइ गरेका आफ्नो परिवारको सदस्य गुमाउनु परेको भन्दै चिकित्सकमाथि हातपात गरेको प्रहरीसमक्ष प्रारम्भिक बयान दिएका छन्। पक्राउ परेकी रमा मृतक राजेशको श्रीमती हुन् भने रमिला मृतकको छोरी, रोहन छोरा र अनुप भतिज हुन्।
यता, अस्पताल प्रशासनले बिरामीको उपचारका कुनै लापरवाही नगरिएको र सकेसम्म चाँडै बिरामीको थप उपचारको लागि भरतपुर रिफर गरिएको जनाएको छ। बुधबार बिहान करिब १० जनाको समूहले चिकित्सकद्वय थापा र बिडारीमाथि निर्घात कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएका चिकित्सकहरुको अहिले उपचार भइरहेको छ।
घटनापश्चात् चिकित्सकहरुले आन्दोलनको घोषणा गरेपछि प्रहरीले बिहीबार घटनामा संलग्न ४ जनालाई पक्राउ गरेको हो। चिकित्सकहरूले घटनाका दोषीविरुद्ध संयुक्त उजुरी दिने भएका छन्। चिकित्सकले घटनामा संलग्नलाई तत्काल पक्राउ नगरे स्वास्थ्यसँग सम्बन्धित सबै सेवा ठप्प पार्ने चेतावनी दिएका छन्।