नदीमा डुबेर बारामा तीन वर्षीया बालिकाको मृत्यु
सिमरा : बाराको जीतपुरमा सोमबार दिउँसो नदीमा डुबेर तीन वर्षीया एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका– ३ निवासी अलि हुसेनकी तीन वर्षीया छोरी फुलतारा खातुन रहेकी छन् ।
प्रहरीका अनुसार बालिका आफ्नी आमा सलियान खातुनसँग जीतपुरसिमरा उपमहानगरपालिका–७ पहाडी टोलस्थित आफन्त दिदी नाता पर्ने जबैदा खातुनको घरमा गएकी थिइन् । सोही क्रममा घरनजिकै रहेको सरिसवा नदी किनारमा खेल्दाखेल्दै उनी अचानक नदीमा डुबेकी हुन् ।
घटनालगत्तै आमा सलियानले नदीबाट उद्धार गरी बालिकालाई तुरुन्तै जीतपुरसिमरा नगर अस्पताल पुर्याएकी थिइन् । अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !