आमाको मृत्युपछि ४ बहिनी सम्हाल्दै १४ वर्षीया नमुना
मुगु : बिहानको उज्यालो अझै राम्ररी फैलिएको हुँदैन। गाउँका धेरै घरमा चुल्हो बल्न बाँकी नै हुन्छ। तर, मुगुको सोरु गाउँपालिका–१ की १४ वर्षीया नमुना दमाई भने उठिसकेकी हुन्छिन्।
उनी आफ्ना ४ बहिनी र बुबालाई उठाउँछिन्। घरभित्र कुचो लगाउने, ढोका लिपपोत गर्ने, चुल्होमा आगो बाल्ने र खाना पकाउने काममा जुट्छिन्। घरभित्र उनको दौडधुप देख्दा जोकसैले उनलाई घरकी अभिभावक ठान्न सक्छ। तर वास्तविकता फरक छ— नमुना आफैँ अझै बालिका हुन् र उनी कक्षा १० मा अध्ययनरत छिन्। आमा जानदेवी दमाईको गत वैशाख २२ गते असामयिक निधन भएपछि नमुनाको बालापन एकाएक हरायो। साथीहरूसँग खेल्ने हातहरूमा दायित्व थपियो, सपना ओझेल परे र काँधमा परिवारको जिम्मेवारी आयो। आज उनी आफ्ना ४ बहिनीका लागि आमा बनेकी छन्।
घरको एउटा कुनामा राखिएको आमाको पुरानो तस्बिरतर्फ हेर्दै नमुना बेलाबेला टोलाउँछिन्। त्यो तस्बिरले उनलाई बारम्बार सम्झाउँछ— अब आमा कहिल्यै फर्केर आउने छैनन् र बहिनीहरूलाई आमाको जस्तै माया आफूले दिनुपर्छ।
३२ वर्षीया जानदेवीको मृत्युले केवल एक आमाको ज्यान मात्र लिएको छैन, एउटा गरिब परिवारको स्तम्भ नै ढालेको छ। परिवारमा बुबा सुगे दमाई र ५ छोरी छन्। सुगे जिल्लाकै परिचित हुड्के नाचका कलाकार हुन्। गाउँघरका विवाह, व्रतबन्ध र सांस्कृतिक कार्यक्रममा हुड्के नाच प्रस्तुत गरेर कमाएको रकम र जानदेवीले अरूको घरमा मजदुरी गरेर ल्याएको ज्यालाले ७ जनाको परिवार जसोतसो चलेको थियो। तर, आज त्यो परिवारलाई चुल्हो बाल्नसमेत ठूलो संघर्ष गर्नुपरेको छ।
नमुनापछि ११ वर्षीया जमुना, ९ वर्षीया योजना, ८ वर्षीया मनीषा र ६ वर्षीया जुनेली छन्। सबै गाउँकै विद्यालयमा पढ्छन्। तर आमाको मृत्युयता उनीहरूको पढाइभन्दा ठूलो प्रश्न दुई छाक खाना र घरको व्यवस्थापन बनेको छ। नमुना बिहानै उठेर बहिनीहरूलाई नुहाइदिने, कपाल कोरिदिने, खाना पकाउने र विद्यालयका लागि तयार पार्ने गर्छिन्। सबै काम सकिएपछि मात्र उनको विद्यालय जाने पालो आउँछ। तर धेरै दिन उनी आफैँ विद्यालय जान पाउँदिनन्; बहिनीहरूको हेरचाहमै दिन बित्छ। ‘कहिलेकाहीँ बहिनीहरू बिरामी हुन्छन्। उनीहरूलाई छोडेर विद्यालय जान मन लाग्दैन,’ नमुना भन्छिन्, ‘पढ्न मन छ, तर घरको काम पनि गर्नै पर्छ।’
नमुना पढाइमा अब्बल छिन्। विद्यालयका प्रधानाध्यापक सुवास रावलका अनुसार उनी कक्षाकै उत्कृष्ट विद्यार्थीमध्ये एक हुन्। ‘नमुना निकै मिहिनेती र प्रतिभाशाली छिन्,‘ रावल भन्छन्, ‘तर आमाको मृत्युपछि उनी बहिनीहरूको स्याहारमा व्यस्त हुनुपरेको छ। यसरी विद्यालय छुटिरहँदा उनको भविष्य प्रभावित हुने चिन्ता हामीलाई छ।’
घरको आर्थिक अवस्था झन् दयनीय छ। परिवारको नाममा घरबाहेक कुनै जग्गाजमिन छैन। दैनिक मजदुरी र हुड्के नाचबाट आएको कमाइमै जीवन गुज्रिरहेको थियो।
श्रीमती गुमाएपछि सुगे दमाईको जीवन पनि बदलिएको छ। पहिले कार्यक्रममा भ्याइनभ्याइ हुन्थ्यो, बोलावट आउँदा हुड्के बोकेर गाउँ–गाउँ पुग्थे। अहिले घर छोडेर बाहिर जान सक्दैनन्। ‘कार्यक्रम आउँछ, तर जान सक्दिनँ,’ उनी भक्कानिँदै भन्छन्, ‘म बाहिर गएँ भने छोरीहरूलाई कसले खाना पकाइदिन्छ ? कसले हेर्छ ? अहिले त गाउँले र आफन्तले दिएको अन्नपानीकै भरमा छाक टारिरहेका छौँ।’ छोरीहरूको अनुहार हेर्दा भविष्यको चिन्ताले उनलाई रातभर निदाउन दिँदैन। सोरु गाउँपालिका–१ का वडाध्यक्ष धनकर्ण मल्लका अनुसार अहिले सबैभन्दा ठूलो पीडा ५ नाबालिकाले भोगिरहेका छन्।
‘बाबुले हुड्के नाच र मजदुरी गरेर ल्याएको अन्नले घर चलेको थियो। अहिले श्रीमतीको मृत्युपछि उनी पनि नियमित काम गर्न सक्ने अवस्थामा छैनन्,’ उनी भन्छन्, ‘गाउँलेहरूको सहयोगले मात्र गुजारा चलिरहेको छ। यस्तो अवस्थामा छोरीहरूको शिक्षा र पालनपोषण ठूलो चुनौती बनेको छ।’
साना छोरीहरू अझै पनि आमा फर्केर आउने आशामा छन्। उनीहरू कहिलेकाहीँ घरको ढोकातिर हेर्छन्। अरूका छोराछोरीलाई उनीहरूकी आमाले स्याहार गरेको देख्दा टोलाउँछन्। सुगे भन्छन्, ‘छोरीहरूले अरूको आमा देखेर एकोहोरिएर हेरेको देख्दा मेरो मन कटक्क खान्छ।’
प्रतिक्रिया दिनुहोस !