रोपाइँ चलिरहेका बेला पहिरो, एक खेताला गम्भीर घाइते
नुवाकोट : नुवाकोट चारघरेमा रोपाई चलिरहेका बेला माथिबाट पहिरो आउँदा खेताला हरु घाइते भएका छन् । पहिरोमा परी घाइते भएका खेतालाको काठमाडौंको अस्पतालमा उपचार भइरहेको छ । खेतमा रोपाई भइरहेका बेला माथिबाट अकस्मता लेदोसहितको पहिरो झर्दा एक जना खेताला गम्भीर घाइते भएका छन् ।
बिदुर नगरपालिका–१२ पोखरीडाँडामा स्थानीय एक जनाको खेत रोपाई भइरहेको वेलामा अकस्मात सोही खेतको माथिल्लो भेगमा लेदोसहितको पहिरो झर्दा एक जना खेताला गम्भीर घाइते भएको र उनको काठमाडौस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको वडाध्यक्ष उपिन्द्र खड्काले जानकारी दिए ।
रोपाइ भइरहेको स्थानीय नमराज भट्टको खेत जोत्दै गरेका छिमेकी ५२ वर्षीय होमकुमार भट्ट गम्भीर घाइते भएका हुन् । घटनास्थलमा नजिकै रहेका अन्य खेतालाहरु भने समयमै भागेर ज्यान जोगाउन सफल भएका छन् । घाइते होमकुमार भट्टको खुट्टा भाँचिएको बताइएको छ । उनको हाल ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।
लगातारको वर्षापछि पहिरोको जोखिम बढेकाले उच्च सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गर्दै जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सुरक्षित रहन सबैमा अनुरोध गरेको छ । पहिरोका कारण करिब तीन रोपनी खेत बगेको छ भने पहिरोपछि खेत भीरमा परिणत भएको छ । लगातारको वर्षाका कारण नुवाकोटका ग्रामीण तथा पहाडी क्षेत्रमा पहिरोको जोखिम बढिरहेका बेला स्थानीयवासीलाई थप सतर्क रहन आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !