कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, यी हुन् थप भएका नयाँ क्षेत्र

कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, यी हुन् थप भएका नयाँ क्षेत्र

काठमाडौं : कोरियन भाषा परीक्षाको आवेदन खुलेको छ। ईपीएस कोरिया शाखाले सूचना जारी गरेर सन् २०२६ का लागि प्रथम चरणको आवेदन खुला भएको जानकारी दिएको हो। यही जुलाई २७ देखि अगस्ट २ सम्म आवेदन दिन सकिने छ। यसपटक पनि आवेदन अनलाइनमार्फत दिन सकिने शाखाले जनाएको छ। 

यस्तो छ अनुमानित उत्तीर्ण संख्या 

यस वर्षदेखि दुई वटा नयाँ क्षेत्र थप भएका छन्। यसअघि उत्पादनमुलक, कृषि तथा पशुपालन क्षेत्र र सिप बिल्डिङमा मात्र परीक्षा हुने गरेको थियो। यसपटक सेवा र वन क्षेत्र थप भएका हुन्। शाखाका अनुसार पोइन्ट बेस्ड सेलेक्सन सिस्टमबाट अनुमानित उत्तीर्ण संख्या ७ हजार २०० हुने अनुमान छ। जसमा सबैभन्दा बढी उत्पादनमुलक क्षेत्रमा ५ हजार उत्तीर्ण हुने अनुमान छ। यसैगरी कृषि तथा पशुपालन क्षेत्रमा २ हजार, सेवा क्षेत्रमा १ हजार र वन क्षेत्रमा पनि १ हजार कोटा तोकिएको छ। प्रथम चरणको भाषा परीक्षामा उत्तीर्ण संख्याका आधारमा कटलाइन निर्धारण हुनेछ। कोरियामा कामदारको मागअनुसार उत्तीर्ण संख्या थपघट हुनसक्छ। 

कहिले होला परीक्षा ?

आवेदन संकलन प्रक्रिया सम्पन्न भई आवेदक संख्या निर्धारण भएपश्चात कार्यालयले परीक्षाको मिति तथा तालिका सार्वजनिक गर्ने शाखाले जनाएको छ। एक दिनमा बढीमा ५ सिफ्टमा परीक्षा सञ्चालन हुने र आवेदक संख्याका आधारमा वा अन्य विविध कारण आइपरेमा परीक्षा तालिका फेरबदल हुन सक्नेछ। एक व्यक्तिले एउटा क्षेत्रमा मात्र आवेदन दिन पाउने छन्। प्रथम चरण उत्तीर्ण गरेपछि छनोट गरिएको क्षेत्र परिवर्तन गर्न पाइने छैन। प्रथम चरणको भाषा परीक्षामा उत्तीर्ण परीक्षार्थीहरूले दोस्रो चरणको सीप परीक्षण र कार्यक्षमता मूल्यांकनमा पनि उत्तीर्ण भएपछि मात्र अन्तिम छनोटमा पर्न सक्नेछन्। उत्पादनमूलक क्षेत्र, कृषि तथा पशुपालन क्षेत्र, सेवा क्षेत्र र वन क्षेत्रतर्फ परीक्षाको आवेदन फारम भर्दा सम्बन्धित क्षेत्रको कुनै एक उपक्षेत्र अनिवार्य छनौट गर्नु पर्नेछ।

आवेदकको योग्यताको योग्यता 

नेपाली नागरिक, उमेर १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेको, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, गणतन्त्र कोरियामा गई गैरकानुनी रूपमा बसोबास गरी कोरियाबाट फिर्ता नपठाइएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको र कोरियामा ई-९ वा ई-१० भिसामा ५ वर्ष वा सो भन्दा बढी नबसेको हुनुपर्ने छ। 

तथ्यांकमा ईपीएसको अवस्था
सन् २००८ देखि २०२४ सम्म ८ लाख ३८ हजार ८ सय ३२ जनाले ईपीएसका लागि आवेदन दिएका थिए। जसमा ७ लाख ४१ हजार १ सय ६५ जना सहभागी भए भने १ लाख ३२ हजार ६ सय जना उत्तीर्ण भए। समग्रमा सफलता दर १७.९ प्रतिशत मात्र देखिन्छ। उत्तीर्ण भएकामध्ये हालसम्म १ लाख २१ हजार ७ सय ३१ जना कोरिया प्रस्थान गरिसकेका छन्। कोभिड–१९ महामारी र अन्य प्राविधिक कारणले २००९, २०१२, २०२० र २०२१ मा भाषा परीक्षा सञ्चालन हुन सकेन, जसका कारण कामदार प्रस्थान गर्ने संख्यामा पनि कमी आएको थियो।

परीक्षा प्रणालीमा एकरूपता

नेपालमा ईपीएस परीक्षार्थीको संख्या उच्च छ। सन् २०२३ मा १ लाख ६३ हजार ६ सय ३५ जनाले आवेदन दिएका थिए, जुन अहिलेसम्मकै उच्च हो। ठूलो संख्यामा आवेदन पर्दा यसलाई केवल पैसा कमाउने माध्यमका रूपमा व्याख्या गरिए पनि ईपीएस शाखा भने कम आवेदन परेमा व्यवस्थापन सहज हुने बताउँछ। यसअघि मागको तीन गुणा मात्र आवेदन लिने प्रस्ताव गरिए पनि नेपालमा भाषा सिक्नेको संख्या धेरै भएकाले र इन्टरनेटको पहुँच असमान भएकाले उक्त नियम कार्यान्वयन हुन सकेन।

सम्झौताको पृष्ठभूमि
सन् २००७ मा भएको द्विपक्षीय सम्झौतापछि २००८ बाट नेपालीहरू कोरिया जान थालेका हुन्। यो सम्झौता प्रत्येक दुई वर्षमा नवीकरण हुन्छ। हाल १७ देशका कामदार ईपीएसमार्फत कोरिया जान्छन्। सरकार–सरकार (जीटूजी) बीचको यो सम्झौताअनुसार हाल नेपालबाट उत्पादनमूलक, कृषि, सीप निर्माण (सीप बिल्डिङ) र रुट इन्डस्ट्रीअन्तर्गत वेल्डिङ क्षेत्रमा कामदारहरू गइरहेका छन्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.